एमाले नेताको माधवकुमार नेपालको विकास मन्त्र, ‘ठूलो परियोजनाको विकास नगरी मुलुक समृद्ध हुँदैन’

रासस
२०७३ चैत्र १२ गते १७:५२ | Mar 25, 2017
काठमाडौँ। नेकपा (एमाले)का नेता माधवकुमार नेपालले ठूला परियोजनाको विकास नगरी देशको विकास हुन नसक्ने बताएका छन्।
 
एमालेको वैदेशिक मामिला विभागले आज यहाँ आयोजना गरेको ‘विकास र समृद्धि’ विषयक कार्यशालाको उद्घाटन गर्दै उहाँले नेपालमा ठूला परियोजना बन्न नदिने षड्यन्त्र भइरहेकाले विकासका लागि विद्यमान कानुनमा पनि सुधारको खाँचो औँल्याए।
 
नेता नेपालले कर्मचारीतन्त्र विकासमुखी नभएको र अदालतले पनि विकासका काम रोक्ने गरेको उल्लेख गर्दै विकासको लक्ष्य बनाउँदा आजको मात्र होइन, भोलिको आवश्यकतालाई पनि हेर्न आग्रह गरे।
 
“राष्ट्रिय पुँजी, प्रविधि र जनशक्ति परिचालन गर्दा हामीले ठूलो परिवर्तन गर्न सक्छौँ”, उनले भने— “अर्काको देशमा पुगेर गर्ने काम आफ्नै देशमा गर्दा मात्रै पनि समाज परिवर्तन हुन्छ ।” 
 
कार्यक्रममा नेपालको विकासको मोडल प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री तथा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हिजोको राजनीति अधिकारमुखी भएको तर आज परिस्थितिमा परिवर्तन आएका कारण समृद्धिमुखी हुनुपर्नेमा जोड दिए।
 
सो कार्यपत्रमाथि सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज बैद्य, अर्थशास्त्री डा विजय पौडेल, समाजशास्त्री हरि शर्मा, कानुनविद् युवराज सङ्ग्रौला र समाजशास्त्री डा सुरेश ढकालले टिप्पणी गरे। 
 

Tata
GBIME
Nepal Life