काठमाडौं। उद्योगमन्त्री महेश बस्नेतले अन्य क्षेत्रमा जस्तै औद्योगिक क्षेत्रमा पनि सुशासनको अभाव देखिएको भन्दै त्यस्ता गलत गतिविधि हुन नदिन निजी क्षेत्रलाई आग्रह गरेका छन्। नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यातको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री बस्नेतले निजी क्षेत्रबाट सुशासनमा सरकारलाई सहयोग हुनुपर्ने बताए।
मुलुकको आर्थिक क्षेत्र, उद्योग व्यवसायमा निजी क्षेत्रको योगदानको प्रशंसा गर्दै बस्नेतले उद्योग क्षेत्रका समस्यालाई छिटो समाधान गर्न उद्योग मन्त्रालयमा एकद्वार प्रणालीलाई कार्यान्वयन गर्ने गरी काम सुरु गरेको बताए। उनले निजी क्षेत्रसँग सम्बन्धित ऐन नियमहरु स्वीकृत गराउन मन्त्रालयले प्रयास गरिरहेको पनि जानकारी दिए।
भेटमा परिसंघका अध्यक्ष बस्न्यातले उद्योग क्षेत्रमा विद्यमान समस्या र त्यसको समाधानमा सरकारबाट गरिनु पर्ने पहल एवं निर्णयहरुका बारेमा संक्षिप्त विवरण प्रस्तुत गरेका थिए। उनले मन्त्रालय उद्योगीहरुको अभिभावक भएको भन्दै मन्त्रालयबाट त्यसका लागि उचित काम हुने विश्वास व्यक्त गरे।