काठमाडौं। कर्मचारी संचय कोषले निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि पनि निवृत्तिभरण योजना सञ्चालन गर्ने भएको छ।
संचय कोषले निजी क्षेत्रमा कार्यरत कामदार तथा स्वरोजगारको अवकाश पछिको जीवनका लागि सामाजिक सुरक्षाको अवधारणामा यो योजना ल्याउन लागेको हो। योजना योगदानमा आधारित हुने छ।
संचय कोषको ५३ वार्षिकोत्सवको अवसरमा प्रशासक कृष्णप्रसाद आचार्यले निजी क्षेत्रमा कार्यरत १० लाख कामदारका लागि संचयकोष लगायत सामाजिक सुरक्षाका सुविधान उपलब्ध गराउने उद्देश्य रहेको बताए।
आगामी तीन वर्षमा कोषको कुल स्रोत तीन खर्ब पुग्ने भन्दै आचार्यले यसलाई देशको आर्थिक विकासमा परिचालन गर्न सरकारी बचत तथा ऋणपत्रमा प्राथमिकताका साथ परिचालन गर्न आवश्यक रणनीति तयार गरिने बताए। यस्तै देशको पूर्वाधार विकासमा लगानीका लागि पहल गर्ने पनि आचार्यले जानकारी दिए।
यस्तै निजी क्षेत्रमा कार्यरत १० लाख संस्थागत रोजगारहरु तथा स्वरोजगारलाई समेत सञ्चय कोषलगायत सामाजिक सुरक्षाका सुविधाबाट लाभान्वित गराउने उद्देश्य पनि कोषले राखेको आचार्यले बताए।
कार्यक्रममा कर्मचारी संचय कोष संचालक समितिका अध्यक्ष एवं प्रधानमन्त्री कार्यालयका सचिव दुर्गानिधि शर्माले संचय कोषले मुलुकको आर्थिक विकास र पूर्वाधार विकासमा ठुलो लगानी गर्न सक्ने भन्दै त्यसलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
कोषका गतिविधिलाई प्रभावकारी अनुगमनमार्फत अझ सरल विश्वसनीय बनाउन लाग्नुपर्ने शर्माले बताए। पुँजी बढ्दै जाँदा वित्तीय स्रोत व्यवस्थापन अझ चुनौतिपूर्ण बन्ने भन्दै शर्माले त्यसकालागि अनुगमनको जरुरत भएको बताए।
यस्तै बिमा समितिका अध्यक्ष फत्तबहादुर केशीले कर्मचारी संयच कोषले कर्मचारीको स्वास्थ्य बिमाको कुरा अघि बढाउने बताएपनि कानुनमा बिमा समितिका दर्ता भएका कम्पनीले मात्रै बिमा कारोबार गर्न पाउने व्यवस्था भएकाले त्यस विषयमा सोच्न आग्रह गरे।
यस्तै सार्वजनिक संस्थान निर्देशन बोर्डका प्रमुख विमल वाग्लेले कमर्चारी संचय कोषलाई पनि प्रभावकारी नियामकको आवश्यकता रहेकोमा जोड दिए।
'नेपाल राष्ट्र बैंकले सक्रियता देखाइरहँदा ता वित्तीय क्षेत्रमा अनेक समस्या देखिएको छ,' श्रेष्ठले भने, 'ठुलो पुँजीगत संरचना भएको संचय कोषलाई पनि नियामक आवश्यक पर्छ।'
सबै सार्वजनिक संस्थानलाई एउटै टोकरीमा हालेर मूल्यांकन गर्ने गरिएको भन्दै वाग्लेले कामको प्रकृति अनुसार संस्थानहरुको मूल्यांकन हुनुपर्नेमा जोड दिए।
धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले पुँजीबजारमा लगानी गर्ने कुरामा पनि संचय कोषले ध्यान दिनुपर्नेमा जोड दिए।
संचय कोषमा कार्यरत कर्मचारी युनियनका प्रतिनिधिले भने माथिल्लो तामाकोशीको सेयर विवादमा संचय कोषलाई अनावश्यक रुपमा तानिएको भन्दै त्यसको विरोध गरे। उनीहरुले कोषका कर्मचारीले कति सेयर पाउने भन्दा पनि राष्ट्रिय गौरवका आयोजना बन्ने कुरा ठुलो भएको भन्दै तामाकोशी मोडल फेल भए देशमा कुनै पनि आयोजना नबन्ने दावी गरे।
यसैबीच कर्मचारी सञ्चय कोषमा अहिलेसम्म एक खर्ब ६३ अर्ब ६५ करोड रुपैयाँ जम्मा भएको छ । गत असार मसान्तसम्मको विवरण अनुसार कोषमा आर्थिक वर्ष २०७०/७१मा मात्रै करिब २२ अर्ब रुपैयाँ बचत थपेको छ ।
कोषले सापटीमा ९४ अर्ब रुपैयाँ लगानी गरेको छ । कर्मचारीले जम्मा गरेकोरकमबाट आफैले ९० प्रतिसतसम्म सापटी लिन पाउँछन् ।
कर्मचारी सञ्चय कोष सबैभन्दा धेरै वचत परिचालन गर्ने संस्था हो । डेढ खर्ब भन्दा बढी बचत जम्मा भएका अरु संस्था छैनन् । यो संस्थाले परियोजना कर्जा भनेबढाउन सकेको छैन । गत आर्थिक वर्षसम्म जम्मा २५ अर्ब ६९ करोड मात्रैपरियोजना कर्जा दिएको छ । विगत एक वर्षमा यस्तो कर्जा १० अर्ब रुपैयाँबढाएपनि बचतको तुलनामा भने यस्तो कर्जा निकै सानो हिस्सा हो ।
कोषले सरकारी ऋणपत्रमा १४ अर्ब र मुद्दति निक्षेपमा २६ अर्ब रुपैयाँ लगानी गरेको छ। गत वर्ष मुद्दति निक्षेप २७ अर्बबाट करिब एक अर्ब घटाएको हो भने ऋणपत्रमा गरेको लगानी करिब ५० करोड रुपैयाँ बढाएको हो ।