काठमाडौं। दैनिक प्रयोग हुने खाने तेल तथा घिउ अनुसन्धानमा खाद्द प्रविधी तथा गुण नियन्त्रण विभागले नयाँ उपकरण प्रयोग गर्ने भएको छ। रसायनिक विधीबाट खाने घ्यू तथा तेलको परिक्षण गर्दै आएको विभागले ग्यास क्रोमाटोग्राफी प्रयोगमा ल्याउने भएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए।
रसायनिक विधीबाट तेल परिक्षण गर्दा कहिलेकाहिँ ओभरल्यापिङ देखिने गरेको कारण विभागले क्रोमाटोग्राफी प्रयोगमा ल्याउने योजना बनाएको उनले बताए।
उनले भने,'ग्यास क्रोमाटोग्राफी फिङ्गर प्रिन्ट जस्तै हो। ग्यास क्रोमाटोग्राफीमा कुनै पनि खाने तेल राखेपछि तेलमा पाइने विभिन्न फ्याटी एसिड, आयोडिन भ्यालु, अनस्याचुरेटेड फ्याटी एसिड लगायतको तथ्य विवरण सजिलै थाहा पाउन सकिन्छ।'
तेल तथा घ्यूलाई सानो ट्युबमा राखी प्रकृयागत रुपमा ग्यास क्रोमाटोग्राफीमा राखिन्छ।
तेल र घ्यूमा हुनुपर्ने फ्याटी एसिडको सहि प्रतिशत पत्ता लगाउनका लागि ग्यास क्रोमाटोग्राफी प्रयोग गरिन्छ। फ्याटी एसिडको एउटा स्ट्याण्डर्ड ग्यास क्रोमाटोग्राफीमा पठाएपछि उक्त उपकरणले तथ्य जानकारी दिन्छ। घ्यू तथा तेलमा हुने गरेको सानोतिनो मिसावट पनि थाहा पाउन सकिन्छ।
उनले भने, 'अहिले प्रयोग गर्दै आएको रसायनिक विधी पनि ठिकै छ। तर ग्यास क्रोमाटोग्राफी रसायनिक विधीभन्दा थप भरपर्दो रहेको छ।' विभागले गत वर्ष ६० लाखको लागतमा ग्यास क्रोमाटोग्राफी खरिद गरेको हो। ग्यास क्रोमाटोग्राफी प्रयोगमा आउने भएपछि अहिले भैरहेको परीक्षणको मापदण्ड पनि फेरिने छ।
नयाँ मापदण्ड आएपछि थोरै मिसावट भएको पनि पत्ता लागिहाल्ने उनले बताए।