०७२ साल वैशाख १२ बजे गोरखाको बारपाकलाई केन्द्रविन्द बनाएर महाभूकम्प गएको दिन ।
बारपाकका बारेमा त्यो समयमा अनगिन्ती तथ्यहरु, प्रसङ र मिथक हल्लाहरु प्रशस्त सुनिए र आजपर्यन्त सुनिदै छ । यही मेसोमा गएको साता त्यो स्थानको यात्रा गर्ने साईत जुरेको थियो । आबुँखैरेनी कटेर गोरखा सदरमुकामपुग्ने क्रममा एउटा बाटो १२ किलोबाट देब्रे मोडिन्छ ।दरौदी नदीलाई दाहिने पारेर करीव ११ किलोमिटर कालोपत्रे बाटो पार गरेपछि शुरु हुन्छ कच्ची बाटोको रोमान्चक यात्रा ।
पहाडी बाटोमा यात्रा गर्दाको सन्तुष्टी भनेकै खोलाको सुसाई, पर डाँडाको टुप्पोमा देखिने छपक्क मिलेका घरहरु, घरका दलिनमा झुण्डिएका मकैका अनगिन्ती झुप्पाहरु, खेतका बीचमाबीचमा देखिने कून्यु, तौवा, गाईबस्तुका लस्कर, रोपाहर र कहीकतै सुन्न पाईने लोकभाकाहरु ।
बारपाक भन्ने नामै सम्झिदा एक किसिमको डर मनमा अहिले पनि लाग्दो रहेछ । ७.८ रेक्टरको भूकम्पको केन्द्रविन्दू रहेको बारपाक गाउँपुग्नु अघि सम्म लुकामरी गर्दै कहिले दाहिने त कहिले देब्रेगर्ने दरौदीखोला, चनौटे, बालवा लगायतका साना बजारको साथ छोडेर उकालो चढनुपर्ने रहेछ ।बाटोको अवस्था देख्दा मन फाटेर नीतिनिर्मातालाई धिर्कान मन लाग्ने रहेछ।
यात्राको बीचबीचमा गाडीहरु भेटिदा पनि जिव्रो काढन पर्ने क्षणहरु प्रशस्त भेटिन्छन । मेरो साथी भने मेरो झस्काई देखेर मरीमरी हाँसेको देख्दा मुरमुरिन मन लाग्थ्यो । गाडीमै बसेर उकालो चढदा पनि थकाई लागेको महसुस घरिघरि गरिरहन्थे । केहीक्षण पट्यार लागेझै हुने केही क्षण रोमान्चक लागेझै हुने घरीघरी भूकम्पको सम्झनाले तसाईरहने यात्रा थियो। करीव ६ घण्टाको यात्रा पछि घरहरुको आगमन संगै बारपाकका गाउँलेले स्वागत गरेझै लाग्नथाल्यो । घले, गुरुड, कामी र दमाईहरुको मात्र बसोबास रहेको यो गाउँलाई परबाट देख्दा भूकम्पले ध्वस्त भएको थियो भनेर भन्न सकिने अवस्था थिएन ।
यही गाउँका दाई बल घलेको अनुरोधमा हामी त्यहाँ पुगेका थियौं । टमक्क मिलेको गाउँ तर प्राय सबै घरहरु सिमेन्टेड र आधूनिक देखिन्थे ।गाउँ नजिक पूग्दै गर्दा कुनै नया सानोशहर पुग्दै गरेको आभास हुन्थ्यो । बलदाइले सिफारिस गरिएका अर्का दाई पुरबहादर घले दाईलाई बस बिसौनीमा पुगेपछि खवर गरियो । पुर दाईकै घरमा होम स्टेको व्यवस्था रहेछ र त्यही बस्ने निधो भयो । सामाजिक कार्यमा व्यस्त रहने दाईको राम्रो छबि रहेछ।उहाँसँगको भलाकुसारीमा भूकम्पमा परेर त्यो गाउँमा मात्रै ७८ जनाको मुत्यु भएको रहेछ।भूकम्पबाट उहाँकै पिताको समेत निधन भएको रहेछ। करीव १२ सय घर धूरी ध्वस्त भएको त्यो दिन कहालीलाग्दो र आजपर्यन्त त्यसले झस्काइरहने उनले बताए।
उहाँसँगै हामी गाउँ घुम्न थाल्यौं।गाउँमा अनगिन्ति गोरेटो बाटोहरु समेत थिए।बुद्ध हिमालको काखमा बसेको बारपाकगाउँमै उत्पादित बिजुलीले सधैं झलमल्ल रहन्छ ।गाउँमा एउटा सरकारी १२ सम्मको पढाई हुने स्कल र ८ सम्म पढाई हुने निजी स्कूलमार्फत शिक्षाको ज्योती पाइरहेका यहाँका बासिन्दाको पहिलो रोजाई भने आमनेपालीको झै बिदेशनै हुनेगर्छ ।
गाउँमा करीव ७० प्रतिशत घरहरु बनिसकेका र अरु धेरै घरहरु बन्ने क्रममा छन । सरकारी राहतबापत १ हजार २ सय ८० जनाले ३ लाख रुपैयाँ बुझेका गाउँलेहरुले करोड सम्म खर्चेर ७० प्रतिशत घरहरु निर्माण गरीसकेका छन भने बाँकी घरहरु पनि बन्ने क्रम तदारुकताका साथ अघि बढेको छ।सरकारी आशा भन्दा आफ्नै प्रयासले घर पुर्ननिर्माण गरिरहेका छन्।
पुर दाईको होम स्टेको बसाई र स्थानीय खानाको परिकारले मन्त्रमुग्ध भएर विहान दाईकै साथ लागेर लारपाक सम्मको यात्रामा निस्कियौं । करीव डेढ घण्टाको सडक यात्रा पछि लारपाकको सिमानालाई छिचोल्दै गर्दा मनमोहक हिमश्रृखलाको दृश्य देख्नपाईयो । गैरआवासीय नेपालीले बनाउँदै गरेको लारपाकको नमूनाबस्तीको अवलोकन गर्नैपर्ने आग्रह बमोजिम बन्दै गरेको बस्तीहरु हेर्दै केही तलसम्म पुगेर फर्कियौं । अवको केही बर्षमा सायद लारपाकका करीव ६ सय पीडितहरुले बस्तीका घरहरु उपभोग गर्न पाउनेछन्।
फर्कने क्रममा मुवानडाडोमा सिंगापुरका लाहुरेको सहयोगमा बनाईएको भ्यू प्वाईन्टबाट हेर्दा कुनै नयाँ शहरलाई देखे जस्तो भान हुने बारपाकले साँच्चिकै चोला बदलेको छ। र, बारपाक फेरिएको छ ।तर यसले शदियौदेखिका संस्कृति, सभ्यता, रहनसहन र आफनोपनलाई यथावत राख्न सकोस र सधैं बारपाके कोटदेवीले बारपाकलाई रक्षा गरिरहुन यही शुभकामना, यहीशुभेच्छा ।।।