हिमालयन फाइनान्स समस्यामा परेपछि राइजिङ्गका सेयरधनीलाई असर, लाभांस वितरणमा रोक

बिजमाण्डू
२०६९ फागुन ५ गते ००:०० | Feb 16, 2013

चितवन । नेपाल राष्ट्र बैंकले राइजिङ डेभलपमेन्ट बैंकलाई बोनस बाँड्न रोक लगाएको छ । साधारण सेयर वितरणपछि नगद लाभांस वितरणका लागि राइजिङले राष्ट्र बैंकसँग स्वीकृति मागेको थियो । बैंकले १८ प्रतिशत नगद लाभांस वितरण गर्न स्वीकृति मागे पनि हिमालय फाइनान्समा रहेको निक्षेप असुरक्षित भन्दै राष्ट्र बैंकले लाभांस वितरणमा रोक लगाएको हो ।
बैंकबाट छोड्ने क्रममा तत्कालीन प्रमुख कार्यकारी अधिकृत भानु कँडेलले हिमालय फाइनान्सको मुद्धतिमा तीन करोड रुपैयाँ राखेका थिए । यो रकम अहिले जोखिममा परेपछि सेयर सदस्यले बोनस नपाउने भएका हुन् । हिमालय फाइनान्सका प्रमुख कार्यकारी अधिकृतसहित जिम्मेवार सञ्चालक फरार छन् भने फाइनान्सका अन्य तीन पदाधिकारी एवम् कर्मचारी प्रहरी नियन्त्रणमा छन् ।
रकम नउठ्ने भएपछि अन्य ऋण सकार्ने तयारी भइरहेको बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खेमराज भेटवालले बताए । ऋण सकार्न राष्ट्र बैंकको अनुमति मागेको उनले जानकारी दिए । यस वर्ष जोखिममा रहेको निक्षेप सुरक्षित बनाए अर्को वर्ष लाभांस बाँड्न सकिने उनले जानकारी दिए । राइजिङसँग झन्डै छ करोड रुपौँ नाफा सञ्चित छ । छ वर्षअगाडि स्थापना भएको बैंकले यसै वर्ष सर्वसाधारणका लागि सेयर निष्कासन गरेको थियो ।

Tata
GBIME
Nepal Life