बिपी राजमार्ग पुनर्निर्माण गरिदिन जापान तयार, आयो २.६३ अर्ब रुपैयाँ अनुदान दिने पत्र

शुक्र गिरी
२०८२ बैशाख २३ गते १९:२२ | May 6, 2025
बिपी राजमार्ग पुनर्निर्माण गरिदिन जापान तयार, आयो २.६३ अर्ब रुपैयाँ अनुदान दिने पत्र


काठमाडौं। सात महिनाअघि बाढीले ध्वस्त पारेको बिपी राजमार्ग पुनर्निर्माणका लागि सहयोग गर्न जापान तयार भएको छ। जापानले राजमार्गको एउटा खण्ड पुनर्निर्माणका लागि सहयोग गर्ने भएको हो।

Tata
GBIME
NLIC

बाढीले क्षतिग्रस्त राजमार्ग पुनर्निर्माणका लागि जापानले २ अर्ब ६३ करोड रुपैयाँ अनुदान सहायता दिने पत्र अर्थ मन्त्रालयमा पठाएको छ।

‘हामीले राजमार्ग पुनर्निर्माणमा सहयोगका लागि पहिलेदेखि नै आग्रह गरिरहेका थियौं। दूतावासबाट २ अर्ब ८० करोड जापानी येन बराबरको अनुदान सहयोग गर्ने पत्र प्राप्त भएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘दूतावासबाट कुटनीति नोट र एक्सचेन्ज अफ नोटको मस्यौदा आएको छ। जसमा बाढीले क्षतिग्रस्त राजमार्ग पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी येन दिने भनिएको छ।’

दूतावासको पत्र अर्थ मन्त्रालयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै मंगलबार सडक विभाग पुगेको छ। दूतावासले पठाएको मस्यौदा अनुसार जापानले अनुदान सहयोग एक वर्षपछि उपलब्ध गराउनेछ।

‘बजेट स्वीकृत भएपछि अनुदान दिने भनिएको छ। उनीहरुकहाँ यसपालिको बजेट आइसकेको छ। त्यसैले अब एक वर्ष कुर्नुपर्छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो। जापानले अप्रिलदेखि मार्चसम्मका लागि बजेट ल्याउने गरेको छ।

असोज दोस्रो साताको बाढीले राजमार्गको खासगरी करिब १२ किलोमिटर खण्ड पूर्णरुपमा ध्वस्त भएपछि असोज अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी राजदूत कितुका युताकालाई बालुवाटारमा बोलाएर पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए।

ओलीको आग्रहपछि जापानले क्षति अध्ययन गरेर जवाफ दिने बताएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले बाढीले क्षति पुर्‍याएको राजमार्गको अझै अध्ययन गरिरहेको छ। जाइकाको टोली अहिले पनि फिल्डमै छ।

गत असोज ११/१२ गते आएको अविरल वर्षाका कारण बाढीले राजमार्गको साढे ८ किलोमिटर खण्ड पूरै बगाएको थियो।

सडक विभागका अधिकारीहरुका अनुसार डालाबेसीदेखि बर्खेखोलासम्म ३.२ किलोमिटर सडक पुनर्निमार्णको जिम्मा जाइकालाई दिइनेछ।

तीन खण्डको ठेक्कामा मूल्यांकन हुँदै

बिपी राजमार्ग पुनर्निर्माणका लागि काभ्रेतर्फ ३ वटा र सिन्धुलीतर्फ एउटा गरी ४ खण्डमा ठेक्का लगाउन लागिएको छ। एउटा खण्ड जापानका लागि छुट्याइएको छ।

बाँकी ३ खण्ड पुनर्निर्माणका लागि आवेदन दिएका निर्माण कम्पनीको अहिले प्राविधिक मूल्यांकन गर्ने काम भइरहेको छ। गत फागुन अन्तिमदेखि चैत दोस्रो सातासम्म ठेक्का आह्वान गरिएको थियो।

३ वटा खण्ड आफैंले बनाउने गरी सरकारले ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सुनिश्चिता गरेपछि ठेक्का प्रक्रिया अगाडि बढाइएको हो।

नेपालथोकदेखि बर्खेखोलासम्मको खण्डका लागि सडक डिभिजन कार्यालय सिन्धुलीले फागुन २८ गते ठेक्का आह्वान गरेको थियो। ५ किलोमिटर लामो यो खण्डको सडक बनाउन ११ वटा निर्माण कम्पनी इच्छुक देखिएका छन्।

यस्तै काभ्रेतर्फको डालाबेसी-चरसयाबेसी खण्डलाई दोस्रो प्याकेजमा राखिएको छ। यो खण्डको साढे ८ किलोमिटर सडक पुनर्निर्माणका लागि सडक डिभिजन भक्तपुरले चैत ५ गते ठेक्का आह्वान गरेकामा ११ वटा निर्माण कम्पनीले आवेदन दिएका छन्।

अर्को खण्ड चरसयाबेसीदेखि भकुन्डेबेसीसम्मको ११ किलोमिटर सडक पुनर्निर्माणका लागि चैत ७ गते ठेक्का आह्वान गरिएकामा ८ वटा निर्माण कम्पनी इच्छुक देखिएका छन्।

निर्माण कम्पनीबाट प्राप्त आवेदनमा अहिले प्राविधिक मूल्यांकन गर्ने काम भइरहेको छ। प्राविधिक मूल्यांकन सकिएपछि निर्माण कम्पनीको आर्थिक प्रस्ताव खोलिनेछ।

पुनर्निर्मित सडक दुई लेनको हुनेछ। सडक दुई वर्षभित्र पुनर्निर्माण गर्ने गरी ठेक्का सम्झौता गर्ने तयारी छ।