राष्ट्र बैंकको कर्मचारी संघले उठायो कार्यबाहक गभर्नरको क्षमतामाथि प्रश्न, निकाल्यो यस्तो विज्ञप्ति

बिजमाण्डू
२०८२ बैशाख २३ गते १९:५४ | May 6, 2025
राष्ट्र बैंकको कर्मचारी संघले उठायो कार्यबाहक गभर्नरको क्षमतामाथि प्रश्न, निकाल्यो यस्तो विज्ञप्ति


काठमाडौं। नेपाल राष्ट्र बैंकका कर्मचारीले कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाको क्षमतामाथि प्रश्न उठाएका छन्।

Tata
GBIME
NLIC

राष्ट्र बैंकको नेपाल वित्तीय संस्था कर्मचारी संघले कार्यकारी निर्देशक डा. गुणाकर भट्टले करिब तीन साताअघि दिएको राजीनामा स्वीकृत नगरेको भन्दै तिम्सिनाको क्षमतामाथि प्रश्न उठाएको हो।

‘आफूलाई काबिल भन्दै गभर्नरको दाबेदारी प्रस्तुत गरिरहेको वर्तमान कार्यवाहक नेतृत्वबाट एकजना कर्मचारीको राजीनामासमेत स्वीकृत गर्न नसक्नुले लाचारीपन व्यक्त भइरहेको महसुस हामीलाई भएको छ र नेतृत्वको नैतिकता एवम् क्षमतामा नै प्रश्न उठेको छ,’ संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले नेपालको संविधानको धारा २९, श्रम ऐन २०७४ को दफा १४१, सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ३५ र नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को समेत ठाडो उल्लंघन भएको यस संघको बुझाइ छ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार नै तिम्सिनाले भट्टको राजीनामा स्वीकृत नगरेका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको आशयको अभिव्यक्ति दिएका थिए।

संघले कार्यबाहक गभर्नर तिम्सिनालाई भट्टको राजीनामा तत्काल स्वीकृत गर्न आग्रह गरेको छ। ‘बैंकको वर्तमान नेतृत्वलाई यथाशीघ्र आफ्नो कर्तव्य निर्वाह गरी केन्द्रीय बैंकको गरिमालाई अक्षुण्ण राख्न संघ अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

संघले कानुनि व्यवस्था अनुसार समयमै गभर्नर नियुक्त नगरिनुलाई लज्जास्पद भनेको छ।

‘केन्द्रीय बैंक जस्तो स्वायत्त संस्थामा गभर्नरको पदावधि सकिएको एक महिना बितिसक्दा समेत नयाँ गभर्नर नियुक्त नहुनु र कानुन पालनामा सरकारको उदासिनता रहनु लज्जास्पद विषय हो,’ संघले भनेको छ, ‘वित्तीय क्षेत्रको नियामक यस बैंकलाई राजनीतिक दाउपेच, बिचौलियाको चलखेल तथा सीमित व्यक्तिको निजी स्वार्थको खेलमैदान बनाउनु र केन्द्रीय बैंकलाई नेतृत्वविहीन राख्न गभर्नर नियुक्ति जस्तो सम्वेदनशील विषयलाई षड्यन्त्रपूर्वक गरिएको ढिलासुस्तीप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ।’

गभर्नरको अभावमा बजेट निर्माणको समयमा सरकारको आर्थिक सल्लाहकारको रुपमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा केन्द्रीय बैंकको भूमिका प्रभावहीन बन्न पुगेको संघको भनाइ छ।