सेबोन अध्यक्ष भट्ट एकल आइजीनको पक्षमा, बन्धक बनेको सेयर कारोबार खुलाउन निर्देशन



सुनिल कुँवर
२०८३ भदौ ७ गते १८:२८ | Aug 23, 2026
सेबोन अध्यक्ष भट्ट एकल आइजीनको पक्षमा, बन्धक बनेको सेयर कारोबार खुलाउन निर्देशन


काठमाडौं। दोहोरो इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजीन) लागू गर्ने विषयलाई लिएर कम्पनीको संस्थापक सेयर अभौतिकीकरण र कारोबार बन्धक भएको डेढ वर्षपछि नेपाल धितोपत्र बोर्ड(सेबोन) एकल आइजीनको पक्षमा उभिएको छ।

Vigo
GBIME
Tata

कम्पनीको संस्थापक र साधारण सेयरलाई छुट्टाछुट्टै आइजीन दिने प्रस्तावसहित सीडीएस एण्ड क्लियरिङ लिमिटेडले पेस गरेको धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिकाको मस्यौदा स्वीकृति गर्न सेबोनले अस्वीकार गरेको छ। सेबोनले सीडीएससीसँग नयाँ मस्यौदा माग्ने निर्णय गरेको छ।

सेयर कारोबार बन्धक भएका कम्पनीलाई पुरानै प्रक्रिया अनुसार कारोबार गराउन र एकल आइजीनसहितको नयाँ निर्देशिका प्रस्ताव गर्न निर्देशन दिने निर्णय भएको सेबोनका एक अधिकृतले जानकारी दिए।

‘अन्तर्राष्ट्रिय अभ्यास अनुसार एकल आइजीनको प्रस्तावसहित निर्देशिकाको नयाँ मस्यौदा ल्याउन सीडीएससीलाई निर्देशन दिने तयारी छ। यस विषयमा सञ्चालक समितिले छलफल गरी निर्णय गरिसकेको छ,’ सेबोन स्रोतले भन्यो, ‘लकइन अवधि सकिएर पनि आइजीनका कारण सेयर बिक्री गर्न नपाएका कम्पनीको कारोबार यसअघिकै प्रक्रिया अनुसार खुलाउन पत्र पठाइँदैछ। कम्पनीको सेयरमा आइजीनको विषय सीडीएससीबाटै सुरु भएकाले यसअघिकै प्रक्रिया अनुसार गर्न सोमबारसम्म पत्र जान्छ।’

धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिकामार्फत दोहोरो आइजीन प्रस्ताव गरेको सीडीएससीले लकइन अवधि सकिएपछि पनि कम्पनीको संस्थापक र साधारण सेयरलाई एउटै आइजीनमा कारोबार गर्न नदिंदा संस्थापकहरुको लगानी बन्धक बनेको हो।

कतिपय कम्पनीका संस्थापक लगानीकर्ताले लकइन सकिएको डेढ वर्षदेखि सेयर किनबेच गर्न पाएका छैनन्। इनर्जिङ नेपालको संस्थापक सेयरमा लकइन २०८१ फागुनमा सकिएको थियो।

इनर्जिङ नेपालका साथै कालिञ्चोक दर्शन कम्पनीको संस्थापक सेयर लकइन अवधि सकिए पनि संस्थापकहरुले बिक्री गर्न पाएका छैनन्। यसबाहेक पछिल्लो समय लकइन सकिएका अरु कम्पनीका संस्थापकको सेयर बिक्री पनि रोकिएको छ।

सीडीएससीले लकइन अवधि सकिएपछि पनि कम्पनीको संस्थापक र साधारण सेयरलाई एउटै आइजीनमा कारोबार गर्न नदिंदा संस्थापकहरुको लगानी बन्धक बनेको हो।

लकइन सकिएका सेयरको खरिद बिक्री मात्र नभइ आइपीओ निष्कासनपछि संस्थापक सेयरको अभौतिकीकरण नै डेढ वर्षदेखि रोकिएको छ। आइपीओ बिक्रीपछि दुई दर्जन कम्पनीको सेयर सीडीएससीले अभौतिकीकरण नगर्दा संस्थापककै डिम्याट खातामा देखिएको छैन।

अलग अलग आइजीन लागू गर्न सीडीएससीले पोहोर साउनमा धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिकाको मस्यौदा स्वीकृतिका लागि सेबोनमा पठाएको थियो।

तर, सेबोनले मस्यौदा स्वीकृत गरेर सीडीएससीलाई साथ दिन अस्वीकार गरेको छ। सेबोनले सीडीएससीको मस्यौदा स्वीकृत गर्ने निर्णयमा पुग्नुअघि लकइन अवधि सकिएर सेयर कारोबार बन्धक बनेका कम्पनीसँग विवरण मागेको थियो।

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले दोहोरो आइजीन लागू गर्ने सीडीएससीको प्रस्तावले जलविद्युत क्षेत्रमा निजी लगानी निरुत्साहित हुने भन्दै विरोध गर्दै आएको थियो।

संस्थापकहरूको लगानी बन्धक बनेको डेढ वर्षपछि सेबोन बल्ल सीडीएससीको काम गलत भएको निष्कर्षमा पुगेको हो।

सीडीएससीले स्वीकृतिका लागि पठाएको मस्यौदा सेबोनका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले निर्णय नगरी ‘होल्ड’ गरेर राखेका थिए। सन्तोषनारायण गत वैशाख पहिलो साता राजीनामा दिएर बाहिरिएपछि असार दोस्रो साता उनको ठाउँमा आएका डा. गोपाल भट्ट एकल आइजीनको पक्षमा उभिएका हुन्।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार आइपीओ निष्कासन गरेको तीन वर्षसम्म संस्थापक सेयर लकइनमा रहन्छ। यो बीचमा संस्थापकहरूले सेयर बेच्न पाउँदैनन्।