काठमाडौं। आइपीओ बिक्रीपछि कम्पनीको दोहोरो इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर(आइजीन)को विषयलाई लिएर संस्थापक लगानीकर्ताको सेयर नै बन्धक बनेको छ।
धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिकामार्फत दोहोरो आइजीन प्रस्ताव गरेको सीडीएससीले लकइन अवधि सकिएपछि पनि कम्पनीको संस्थापक र साधारण सेयरलाई एउटै आइजीनमा कारोबार गर्न नदिंदा संस्थापकहरुको लगानी बन्धक बनेको हो।
लकइन सकिएको डेढ वर्षसम्म संस्थापक लगानीकर्ताले सेयर किनबेच गर्न पाएका छैनन्। पछिल्लो समय लकइन सकिएका कम्पनीमा संस्थापकको सेयर बिक्री पनि रोकिएको छ।
दोहोरो आइजीनलाई लिएर इनर्जिङका संस्थापकले लकइन सकिएको डेढ वर्षसम्म संस्थापक सेयर खरिदबिक्री गर्न पाएका छैनन्। कम्पनीको संस्थापक सेयरमा २०८१ फागुनमा लकइन सकिएको थियो।
२०८२ फागुनमा लकइन अवधि सकिएको कालिञ्चोक दर्शनको संस्थापक सेयरमा पनि यही समस्या छ। कम्पनीका संस्थापक सेयरधनीले लकइन अवधि सकिए पनि बेच्न पाएका छैनन।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार आइपीओ निष्कासन गरेको तीन वर्षसम्म संस्थापक सेयर लकइनमा रहन्छ। यो बीचमा संस्थापकहरुले सेयर बेच्न पाउँदैनन्। बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीको हकमा लकइन अवधि सकिएपछि सर्वसाधारण सरह कारोबार हुन्छ। तर, इमर्जिङ नेपाल र कालिञ्चोक दर्शनको संस्थापक सेयर किनबेच सीडीएससीले रोकेको छ।
‘हामीले पटक पटक सीडीएससी, नेप्से र सेबोनसँग सहजीकरणका लागि अनुरोध गर्दा अहिलेसम्म कुनै निकास आएको छैन। संस्थापकहरुले सेयर बेच्न नै पाएका छैनन्,’ इमर्जिङ नेपालका सीइओ विशाल उप्रेतीले भने, ‘अब यो समस्या अरु कम्पनीमा पनि देखिनेछ। यसले लगानीकर्ताको सम्पत्तिको अधिकार हनन् मात्रै नभइ लगानीको वातावरण नै बिगारेको छ।’
इनर्जिङ नेपाल र कालिञ्चोक दर्शनको अहिले संस्थापक र साधारण सेयरको छुट्टै आइजीन छ। लकइन अवधि सकिएपछि दुईवटै सेयर एउटै आइजीनमा कारोबार हुने यसअघिको अभ्यासलाई सीडीएससीले रोकेपछि संस्थापक सेयर बन्धक बनेको हो।
सीडीएससीकी तत्कालीन प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकले दोहोरो आइजीन लागू गराउनका लागि गत वर्ष साउनमा धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ को मस्यौदा नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पठाएकामा अहिलेसम्म स्वीकृत भएको छैन।
निर्देशिकाको मस्यौदा सेबोनको सञ्चालक समितिमा थन्किएको छ। सेबोनका यसअघिका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले रोेकेर राखेका थिए। सन्तोषनारायण सेबोनबाट गत वैशाख पहिलो साता बिदा भइसकेका छन्।
‘सीडीएससीले प्रस्ताव गरेको निर्देशिका सञ्चालक समितिमै होल्ड छ। हामीले कानुन समितिमा छलफल सकेर बोर्डमा पेस गरेका थियौं। तर, अहिलेसम्म कुनै निर्णय भएको छैन,’ सेबोनका एक अधिकृतले भने, ‘यसअघिका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले निर्णय गर्न मानेनन्। नयाँ अध्यक्षको कुरा बुझ्न पाएको छैन।’
आइपीओ निष्कासनपछि कम्पनीको संस्थापक र साधारण सेयरलाई यसअघि एउटै आइजीन दिने गरेको सीडीएससीले अहिले दोहोरो आइजीन प्रस्ताव गरेको हो। कम्पनीको लकइन अवधि सकिएपछि आइजीन मर्ज गरेर संस्थापक सेयर साधारणमा रुपान्तरण गर्न सकिने व्यवस्था निर्देशिकाको मस्यौदामा उल्लेख छ।
लकइन सकिएका सेयरको खरिद बिक्री मात्र नभइ आइपीओ निष्कासनपछि संस्थापक सेयरको अभौतिकीकरण नै डेढ वर्षदेखि रोकिएको छ। आइपीओ बिक्रीपछि दुई दर्जन कम्पनीको सेयर सीडीएससीले अभौतिकीकरण नगर्दा संस्थापककै डिम्याट खातामा देखिएको छैन।
सीडीएससीले सेबोनले निर्देशिका स्वीकृत नगरेका कारण कम्पनीको संस्थापक सेयरको अभौतिकरण रोकिएको बताएको छ।
कम्पनीको सेयरमा दोहोरो आइजीन लागू गर्ने सीडीएससीको प्रस्तावको ऊर्जा उत्पादकहरुले विरोध गर्दै आएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा सेयर अभौतिकीकरण रोकिएको विषय उठाएका छन्।
‘पीपीए अवरोध, वन तथा जग्गा स्वीकृतिको ढिलाइ, प्रसारण पूर्वाधार अभाव, आइपीओ/हकप्रद र सेयर अभौतिकरणमा रोकावट, बहुनिकायीय झन्झट तथा नीतिगत अनिश्चितताका कारण निजी क्षेत्रको लगानी र आयोजना कार्यान्वयन गम्भीर रूपमा प्रभावित भइरहेको छ,’ इप्पानले प्रधानमन्त्रीसमक्ष बुझाएको पत्रमा उल्लेख छ, ‘त्यसैले सरकारको घोषित ऊर्जा लक्ष्य हासिल गर्न तथा निजी क्षेत्रको लगानी सुरक्षित, तीव्र र परिणाममुखी बनाउन माग यथाशीघ्र सम्बोधन गरिदिन हार्दिक अनुरोध गर्दछौँ।’










