काठमाडौं। ज्यागुअर ल्यान्ड रोभरले भारतमा उत्पादन गरेको डिफेन्डर गाडीको मूल्य ३४ लाख भारुले घटेको छ।
कम्पनीले भारतको पुणेमा रहेको प्लान्टमा कम्प्लिट नक्ड डाउन (सीकेडी) किट्स ल्याएर लोकल एसेम्बली गर्दा डिफेन्डर ११० एक्स डाइनामिक एचएसई मोडलको गाडीको मूल्य ३४ लाख भारुले घटेको हो।
यो गाडी पहिले आयात गर्दा भारु १ करोड ५२ लाख रुपैयाँ पर्थ्यो भने अहिले यही निर्माण भएपछि यसको मूल्य १ करोड १८ लाख रुपैयाँ मात्रै तोकिएको छ।
कम्पनीले भर्खरै भारतको पुणे प्लान्टबाट निर्माण गरेको डिफेन्डर ११० मोडलको गाडीको मूल्य घटेर आएको हो। कम्पनीले लोकल एसेम्बल गर्न स्लोभाकियाबाट किटहरू ल्याएको छ।
यो गाडी ३५० हर्सपावर भएको ३ लिटर डिजेल, ४०० हर्सपावर भएको ४ लिटर पेट्रोल र ३०० हर्सपावर भएको २ लिटर टर्बो-पेट्रोल इन्जिन विकल्पमा आउछ। यो गाडीको भारतमा नोभेम्बर १५ देखि डेलिभरी सुरु गर्ने कम्पनीले जनाएको छ।
यसमा एडप्टिभ अफ-रोड क्रुज कन्ट्रोल, एयर सस्पेन्सन साथै थ्री जोन क्लाइमेट कन्ट्रोल र एयर प्युरिफायरहरू जस्ता फिचर उपलब्ध छन्।
भारतमा एसेम्बल हुने ल्यान्ड रोभर डिफेन्डर ११० एक्स-डाइनामिक एचएसईका पेट्रोल र डिजेल भर्सनमा १७ लाख भारतीय रुपैयाँसम्मका फिचर अब स्ट्यान्डर्ड रुपमा उपलब्ध हुने भएका छन्। यसअघि फुल अफ्सन डोडलमा यी फिचर वैकल्पिक रुपमा उपलब्ध थिए।
अब भने ३.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन भएका भर्सनमा २० इन्चका ह्विल, इलेक्ट्रोनिक एक्टिभ डिफरेन्सियल, टर्क भेक्टरिङ, इलुमिनेटेड मेटल ट्रेड प्लेट, तीन-जोन क्लाइमेट कन्ट्रोल, मेरिडियन सराउन्ड साउन्ड सिस्टम र हेड-अप डिस्प्लेजस्ता सुविधा स्ट्यान्डर्ड रुपमा पाइनेछन्।
त्यस्तै, दोस्रो रोको सिट स्लाइड तथा रिक्लाइन गर्न मिल्ने सुविधा, तेस्रो रोका सिटमा हिटिङ, स्वेड हेडलाइनर र पछाडिका यात्रुका लागि कुलिङ सुविधासहितको एयर कन्डिसनिङ पनि थपिएको छ।
यसअघि डिफेन्डर पूर्ण रुपमा आयात गरेर बिक्री गरिँदै आएको थियो। आर्थिक वर्ष २०२६ मा डिफेन्डर भारतमा जगुआर ल्यान्ड रोभर (जेएलआर) को सबैभन्दा बढी बिक्री हुने मोडल बनेको थियो। भारतमा अहिलेसम्म ९ हजारभन्दा बढी डिफेन्डर बिक्री भइसकेका छन्।
डिफेन्डर ११० एक्स-डाइनामिक एचएसईसँगै रेन्ज रोभर, रेन्ज रोभर स्पोर्ट, भेलार, इभोक र डिस्कभरी स्पोर्ट पनि भारतमा स्थानीय रूपमा एसेम्बल हुँदै आएका छन्।









