बालेनले भेटेका व्यवसायी अर्थ मन्त्रालयको ‘ब्ल्याक लिस्ट’मा, छापा हान्नेदेखि निगरानीसम्म



बिजमाण्डू
२०८३ साउन २० गते ०९:०९ | Aug 5, 2026
बालेनले भेटेका व्यवसायी अर्थ मन्त्रालयको ‘ब्ल्याक लिस्ट’मा, छापा हान्नेदेखि निगरानीसम्म


काठमाडौं। पुँजी बजार निक्कै तल आएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सेयर बजारका विषयमा छलफल गर्न साउन ४ गते केही व्यवसायी र नियामकलाई सिंहदरबार बोलाए।

Tata
GBIME

प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्ति अनुसार नियामक धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालसँगै नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, सेयर ब्रोकर प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेल बालेनलाई भेट्न पुगे।

अपराह्न १२ बजेका लागि तय बैठकमा पुगेका निम्तालुले प्रधानमन्त्रीसँग लामै छलफल गरे। छलफल सकेर सिंहदरबारबाट निस्किने क्रममा व्यवसायीहरुले सञ्चार माध्यमलाई मनोबल उचो भएको प्रतिक्रियासमेत दिए।

तर, साँझ परेपछि प्रधानमन्त्रीसँग भेटेकामध्ये केही कम्पनीको कार्यालयमा छापा मारियो। त्यहाँबाट सम्पूर्ण कारोबारको विवरण उठाइयो।

स्रोतका अनुसार, विभिन्न ब्रोकर कम्पनीमार्फत सेयर किनबेचको विवरण हेरिएको थियो। पाँच वटा ब्रोकर कम्पनीमा पनि छापा मारेर सबै विवरण लगिएको र बैंकबाट समेत डेटाहरु मागेर हेरिएको स्रोतले बतायो।

प्रधानमन्त्री बालेनले निजी क्षेत्रका प्रतिनिधिसँग असार २४ गतेदेखि छलफल गर्न थालेका थिए। पहिलो दिन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गरेका प्रधानमन्त्रीले वस्तुगत संघमा आवद्ध व्यवसायीलाई भने साउन लागेपछि बोलाए।

सेयर लगानीकर्ताभन्दा अगाडि प्रधानमन्त्रीले निर्माण क्षेत्र, पर्यटन व्यवसायी, महिला उद्यमी, जुत्ता उत्पादक लगायतसँग छलफल गरिसकेका थिए। त्यसअघि नै उनले गभर्नर डा. विश्वनाथ पौडेलसँग मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि राष्ट्र बैंकले लिने नीतिका बारेमा छलफल गरेका थिए।

सेयर लगानीकर्तापछि बालेनले तयारी पोसाक उत्पादक, हस्तकला उद्यमी, अर्गानिक संघ, निर्यातकर्तासँग भेट गरे। साउन १० गते राति हिन्दु र मुस्लिम समुदायको विवादलाई लिएर मधेशमा तनाव चर्किएपछि बालेनले व्यवसायीसँगको भेटघाट बन्द गरेका छन्। 

स्रोतका अनुसार, प्रधानमन्त्रीसँग छलफलमा गएकामध्ये केहीमाथि अर्थ मन्त्रालयले निगरानी बढाएको छ। त्यसैमध्ये सेयर लगानीकर्ताको कार्यालयमा छापा मारिएको हो।

प्रधानमन्त्रीले एकपछि अर्को गर्दै व्यवसायीसँग संवाद थालेपछि बल्ल डा. स्वर्णिम वाग्लेले अर्थमन्त्री भएको चार महिनापछि साउन १२ गते उत्पादनमूलक क्षेत्रका तीन दर्जन व्यवसायीलाई डाकेर मन्त्रालयमा कुराकानी गरेका थिए। 

प्रधानमन्त्रीले विभागीय मन्त्रीलाई नराखी सोझै व्यवसायीसँग छलफल गरेको अर्थ मन्त्रालयलाई मन नपरेको जानकारहरु बताउँछन्। उनीहरुका अनुसार, त्यसैको परिणाम छापा हानेर सम्पूर्ण कागजपत्र उठाउने काम भएको हो।

स्रोतका अनुसार, अर्थ मन्त्रालयबाट केही व्यवसायीमा निगरानी बढाउन मातहतका निकायलाई निर्देशन दिइएको छ। प्रधानमन्त्रीलाई ‘तपाइँ घरको मुल मान्छे हो, अरुले आश्वस्त पारेर हुँदैन, तपाइँले नै व्यवसायीसँग संवाद गर्नुपर्छ’ भनेर सुझाव दिएका एक उच्च सरकारी अधिकारीलाई पनि अर्थ मन्त्रालयले ‘ब्ल्याक लिस्ट’मा राखेको छ। यसबारे अर्थमन्त्री डा. वाग्लेलाई टेलिफोनमा सोध्दा उनले जवाफ दिएनन्। त्यसपछि टेक्स्ट गर्दा पनि उनले रेस्पोन्स गरेनन्।

अर्थ मन्त्रालयमा भएको एक कार्यक्रममा ती उच्च तहका अधिकारीलाई ‘गतिविधि’ ठिक नभएको भन्दै सीमाभित्र बस्न भनिएको थियो।