काठमाडौं। गभर्नर डा. विश्वनाथ पौडेलले आफूलाई नाघेर प्रधानमन्त्रीलाई सोझै भेट्ने, शिष्टाचारका लागि पनि भेटका बारेमा नबताउने गर्न थालेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि राष्ट्र बैंकका कर्मचारी तथा मातहतका बैंक तथा वित्तीय संस्थाहरुसँग सोझै सम्पर्क गर्न थालेका छन्।
अर्थमन्त्री वाग्लेले बुधबार बिहान राष्ट्र बैंकका १८ विभागका कार्यकारी निर्देशकलाई डाकेर छलफल गरेका छन्। गभर्नर पौडेल र डेपुटी गभर्नर किरण पण्डितलाई नबोलाई वाग्लेले कार्यकारी निर्देशकहरुसँग लामो छलफल गरेका हुन्।
अर्थमन्त्री वाग्लेले मंगलबार दिउँसो २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई डाकेका थिए। त्यसमध्ये १६ वटा बैंकका प्रमुख कार्यकारी अधिकृतले मन खोलेर कुराकानी गरेका थिए।
छलफलमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले राष्ट्र बैंकको कार्यशैलीप्रति प्रश्न उठाएका थिए।
अर्थमन्त्री वाग्लेले बुधबार १८ मध्ये १२ जना कार्यकारी निर्देशकको कुरा सुन्न पाए। साढे ११ बजे मन्त्रिपरिषद् बैठक डाकिएकाले ६ जनालाई दिउँसो बोलाउने आश्वासन दिँदै बैठक सकाइएको छ।
दिउँसोका लागि कार्यकारी निर्देशकहरु रेवती नेपाल, अनुज दाहाल, गुरु पौडेल, मुक्ति सापकोटालाई डाकिएको छ। अर्थमन्त्री र कार्यकारी निर्देशकहरुबीच खुलेरै कुराकानी भएको थियो।
अर्थमन्त्रीले समग्र अर्थतन्त्र विस्तारका लागि राष्ट्र बैंकको सहयोग खोजिरहेका बेला केही कार्यकारी निर्देशकले आफ्नो विभागको प्रगति विवरण सुनाएका थिए।

‘गभर्नरसँगकै बैठकमा पनि यतिसाह्रो घुलमिल भएर हामीले कुराकानी गर्न पाउँदैनथ्यौं,’ छलफलमा सहभागी एक कार्यकारी निर्देशकले भने, ‘तर अर्थमन्त्रीसँग खुलेर विस्तारमा कुराकानी भयो।’
अर्थमन्त्रीले राष्ट्र बैंकलाई नियामकका रुपमा मात्र नभइ आर्थिक रुपान्तरणको सहयात्रीका रुपमा हेर्न चाहेको बताएका थिए।
अर्थसचिव घनश्याम उपाध्यायले मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृतसँग भएको कुराकानीको सार कार्यकारी निर्देशकहरुलाई बताए। उनले गभर्नर र डेपुटी गभर्नर नेपाल सरकारले नियुक्त गरेकाले उनीहरुसँग छलफल भइरहने बताउँदै कार्यकारी निर्देशकहरुसँग छलफल गर्नुको कारण खुलाए।
‘केन्द्रीय बैंकमा तपाइँहरुको लामो अनुभव छ। तपाइँहरुले विभिन्न विभागमा बसेर ज्ञान हासिल गर्नु भएको छ,’ सचिव उपाध्यायको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘त्यही भएर तपाइँहरुको सुझाव लिऔं भनेर बोलाएको हो।’
उनले बैंकका प्रमुख कार्यकारी र व्यवसायीका थुप्रै गुनासा राष्ट्र बैंकसँग रहेको भन्दै त्यस बारेमा बताए।
नोक्सानी व्यवस्थापन नीति, कालोसूचीको व्यवस्थामा राष्ट्र बैंकले भनेर पनि सुविधा नदिएको गुनासो सचिव उपाध्यायले कार्यकारी निर्देशकहरुलाई सुनाएका थिए।

प्रणालीको हिसाब गरेर पुँजी पर्याप्तता अनुपात धेरै देखाए पनि धेरै वटा बैंक ऋण दिन नसक्ने अवस्थामा रहेको बारेमा पनि सचिवले बैठकमा कुरा उक्काए। साथै भेञ्चर क्यापिटललाई दिएको ऋणमा पनि नोक्सानी व्यवस्थापन गर्न लगाएर यसको उद्देश्यलाई कमजोर बनाउन राष्ट्र बैंकले खोजेको हो भनेर प्रश्न पनि गरे।
सचिवले सेन्ट्रल केवाइसी, सुन बिक्रीदेखि सामान्य सचेत गराउँदा पनि प्रमुख कार्यकारी अधिकृतको जागिर जाने अवस्थामा राष्ट्र बैंक सचेत नदेखिएको पनि बताए।
‘धेरै विषयमा राष्ट्र बैंकले अन्योल बनाएर राखेको छ। तपाइँहरुसँग हामीले स्पष्टता खोजेको हो,’ सचिव उपाध्यायले भने, ‘यो तपाइँहरुले गर्न सक्नु हुन्छ। किनभने तपाइँहरु अनुभवी हुनुहुन्छ।’

त्यसपछि १२ जना कार्यकारी निर्देशकले पालैपालो बोलेका थिए। राष्ट्र बैंकभित्र थुप्रै कमजोरी रहेको उनीहरुले स्वीकारेका थिए। सँगै चालु वर्षको मौद्रिक नीतिमा समस्या रहेको उनीहरुले बताएका थिए।
लघुवित्त संस्थाका समस्याका बारेमा पनि कार्यकारी निर्देशकहरुले धारणा राखे। धेरैजसोले भने आफ्नै विभागको कामकारबाहीका बारेमा बोलेका थिए।









