८५% सेयर बेचेर नेपाल ग्यासबाट बाहिरियो अविनाश समूह, जलविद्युत र आइटी क्षेत्रका लगानीकर्ता भित्रिए



शुक्र गिरी
२०८३ साउन १४ गते १५:३३ | Jul 30, 2026
८५% सेयर बेचेर नेपाल ग्यासबाट बाहिरियो अविनाश समूह, जलविद्युत र आइटी क्षेत्रका लगानीकर्ता भित्रिए


काठमाडौं। अविनाश समूहले १२ वर्षअघि साढे ८८ करोड रुपैयाँमा किनेको नेपाल ग्यास बिक्री गरेको छ। अविनाश समूहका अध्यक्ष गुणचन्द्र विष्ट दुई अर्ब रुपैयाँमा ८५ प्रतिशत सेयर बेचेर ‘एक्जिट’ गरेका छन्।

Tata
GBIME

यो उद्योगको ८५ प्रतिशत सेयर अर्का ग्यास उद्योगी धर्म बर्तौला, जलविद्युत प्रवर्धक र सूचना प्रविधि सम्बन्धी क्षेत्रमा लगानी गरिरहेको एउटा समूहले संयुक्त रुपमा किनेका हुन्। कम्पनी खरिद बिक्री सम्झौता अनुसार विष्टले रकम समेत पाइसकेका छन्।

नेपाल ग्यासको बालाजु र बर्दिबासको बोटलिङ प्लान्टको भ्यालुएसन १ अर्ब ८० करोड रुपैयाँ गरिएको थियो। कम्पनीका नाममा एक अर्ब रुपैयाँ ऋण थियो। विष्ट ८० करोड रुपैयाँ लिएर नेपाल ग्यासबाट एक्जिट भएका हुन्।

‘ग्यास उद्योगमै रहेका बर्तौलासँगै जलविद्युत र आइटी क्षेत्रमा लगानी गरिरहेका युवा उद्यमीले सेयर किनेका छन्। उनीहरु आक्रामक रुपमा बजार विस्तार गर्ने उद्देश्यले आएका छन्,’ कम्पनी स्रोतले भन्यो, ‘१२ वर्षअघि अविनाश समूहले किनेपछि उद्योग भाइब्रेन्ट भएको थियो। अब नयाँ लगानीकर्ताले अझै आकार ठूलो बनाउने रणनीति बनाएका छन्।’

बर्तौलाको पोखरामा गृहलक्ष्मी ग्यास उद्योग छ। यसबाहेक पेट्रोल पम्प, होटल र केही उत्पादनमूलक उद्योगमा समेत बर्तौलाको लगानी छ।

अविनाश समूहले किनेपछि कम्पनीको कार्यकारी निर्देशकमा गोकुल भण्डारी र अध्यक्षमा विष्ट थिए। विष्ट र भण्डारीको ट्युनिङले व्यापारमा ठूलो छलाङ मारेको थियो। विष्ट लगानी गर्न आँटिला थिए भने भण्डारी उद्योगको म्यानेजमेन्टमा पोख्त। त्यही ट्युनिङले नेपाल ग्यासको ब्राण्ड भ्यालु बढेको थियो।

यो समूहले नेपालमै पहिलो पटक पूर्ण स्वचालित र अत्याधुनिक बोटलिङ प्लान्ट बनाएको थियो। उद्योगले फ्रान्समा निर्मित प्रणाली ल्याएर ग्यास रिफिल गर्न थालेको थियो। कम्पनीले स्वचालित बोटलिङ प्लान्ट संचालनमा ल्याएपछि अरु कम्पनी पनि त्यसतर्फ अग्रसर भएका थिए। कम्पनीले पहिलो पटक फाइबर भएको सिलिण्डरमा पनि ग्यास बिक्री वितरण गर्दै आएको छ।

‘बजारमा सम्भावना देखेर नै जलविद्युत र आइटी क्षेत्रका लगानीकर्ता आएका हुन्। बिजुली पर्याप्त भए पनि ग्यासको बिक्री घट्ने अवस्था छैन। विकसित देशमा पनि राम्रो ऊर्जाको रुपमा एलपीजीलाई लिइएको छ,’ नयाँ लगानीकर्ताको रुपमा आएका ती उद्यमीले भने, ‘सम्पत्ति तथा दायित्वको मूल्यांकन, कम्पनीको ब्राण्डप्रति उपभोक्ताको विश्वास र भविष्य देखेर हामी यो क्षेत्रमा आएका हौं।’ नयाँ सेयरधनी आएपछि कम्पनीको अध्यक्ष बर्तौला छन् भने कार्यकारी निर्देशकमा भण्डारीनै रहेका छन्।

उनी आफैं पनि यो कम्पनीका १५ प्रतिशत सेयरधनी हुन्। उनी नयाँ साझेदारसँगै कम्पनीमा रहनेछन्। काठमाडौं उपत्यकामा मात्रै कम्पनीका २५४ वटा डिलर छन्।

उपत्यकामा नेपाल ग्यास नम्बर वान ब्राण्ड हो। यहाँ मात्रै मासिक २३ सय टन ग्यास कम्पनीले बेच्दै आएको छ। २०२६ सालमा राप्रपा नेता पशुपति शमशेर जबराले बालाजु औद्योगिक क्षेत्रमा यो उद्योग स्थापना गरेका थिए।

२० रोपनी क्षेत्रफलमा स्थापना भएको नेपालको पहिलो बोटलिङ प्लान्ट पशुपति शमशेरले १२ वर्षअघि पोल्ट्री व्यवसायमा रहेका अविनाश समूहका विष्ट र भण्डारीलाई बेचेका थिए।

अविनाश समूहले किनेको केही वर्षपछि सिमराबाट बर्दिबासमा बोटलिङ प्लान्ट स्थापना गरेको थियो। उद्योगले बर्दिबासबाट मासिक हजार टन ग्यास बिक्री गर्दै आएको छ। कम्पनीले बालाजुमा एक हजार टनको सुरक्षित भण्डारण समेत निर्माण गरेको छ।

नेपाल ग्यास अझै ठूलो बन्ने

नेपाल ग्यासमा अरु तीन/चारवटा कम्पनीलाई मर्जर गरेर अझै ठूलो बनाउने योजनासहित नयाँ लगानीकर्ता भित्रिएका हुन्। एचपी, राजधानी, आरती लगायतका ग्यास कम्पनीलाई समेत एउटै ब्राण्डमा समेटेर मुलुकको सबैभन्दा ठूलो ग्यास कम्पनीमा रुपान्तरणको रणनीति छ।

स्रोतका अनुसार ती कम्पनी एक्वायर गर्ने समझदारी भइसकेको छ। अब ती ब्राण्डलाई नेपाल ग्यासमा रुपान्तरण गरेर बजारमा लगिनेछ।