काठमाडौं। राहदानी प्रकरण तानिएका सिद्धार्थ थापा अदालतमा हाजिर भएका छन्। उनी शुक्रबार विशेष अदालतमा हाजिर भएका हुन्।
पासपोर्ट छपाइको ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जना र दुई कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह र उनको सचिवालयले राहदानी विभागका महानिर्देशक तीर्थ अर्याल र जर्मन कम्पनीका नेपाली एजेन्टलाई जर्बजस्ती मुद्दा हाल्न लगाएका थिए।
प्रधानमन्त्री शाहको सचिवालयले अर्याललाई जर्बजस्ती पक्राउका लागि दबाब दिँदा थापा पनि त्यही थिए। थापाले टेलिफोन गरेर जर्मन राजदूत उडो युजन भोल्जलाई त्यही बोलाएका थिए।
राजदूत भोल्ज बिना कुनै जानकारी आएको भन्दै प्रधानमन्त्रीका सचिवालय सदस्यले असामान्य व्यवहार गरेका थिए। स्रोतका अनुसार थापाले आफ्नो छोरीको बर्थडे आज रहेको भनेपछि प्रधानमन्त्रीका एक सचिवालय सदस्यले त्यहाँबाट बाहिरिन दिएका थिए।
‘छोरीको बर्थडे भनेपछि आफ्नो छोरी सम्झिएर थापालाई जान दिइएको थियो। तर, उनी त्यही बहानामा अख्तियारको नियन्त्रणमा रहनुपर्ने डरले विदेश हिँडेछन्,’ स्रोतले भन्यो।
थापाले बर्थडे मनाएर आउने प्रतिबद्धता गरेका थिए। तर, उनी लगतै स्थलमार्गहुँदै देश बाहिर गएका थिए। स्रोतका अनुसार विधि र प्रक्रिया बाहिर गएर अख्तियार प्रमुख र आयुक्तहरुलाई नियन्त्रणमा राख्ने प्रधानमन्त्री र उनको सचिवालयको हर्कतका कारण देश बाहिर गएको स्रोतले बतायो।
‘विधि र प्रक्रिया होइन, धम्की र बलको प्रयोग गर्ने प्रधानमन्त्री भएको बेला जे पनि हुनसक्ने भएकाले बाहिर गएको हो। अदालतले यी सबै विषयलाई हेर्ने विश्वाससहित फर्किएको हो,’ थापाले निकटहरुलाई भनेका थिए।
सार्वजनिक सम्पत्तिमा गैरकानुनी लाभहानी पुर्याइ भ्रष्टाचार गरेको भन्दै अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
भेरिडोस जीएमबीएचका नेपाली प्रतिनिधि थापा हुन्।









