अर्थमन्त्रीसँग ३० उद्योगीको ५ घण्टा, ‘जो आए पनि हाम्रो घण्टी बजाए, अब बन्द होस्’



मस्त केसी
२०८३ साउन १२ गते २१:०६ | Jul 28, 2026
अर्थमन्त्रीसँग ३० उद्योगीको ५ घण्टा, ‘जो आए पनि हाम्रो घण्टी बजाए, अब बन्द होस्’


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अपराह्न ३ बजेका लागि उत्पादनमूलक क्षेत्रका उद्योगीहरूलाई छलफलका लागि बोलाएका थिए। निर्धारित समयको केही मिनेटमै अर्थ मन्त्रालयको सुवर्ण हलमा करिब ३० जना उद्योगी, अर्थमन्त्री, अर्थसचिव र सहसचिव भेला भए।

Tata
GBIME

छलफलमा विषय थियो -चालु आर्थिक वर्षको बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव र बजेट कार्यान्वयनका लागि उद्योग तथा सरकारले गर्नुपर्ने समन्वय। तर सुवर्ण हलको पर्दामा ‘उद्योगीसँग अर्थमन्त्री’मात्रै लेखिएको थियो।

यही विषयमा रहेर करिब ५ घण्टा अर्थमन्त्री र उद्योगीहरूबीच छलफल भयो। सुरुवातमा अर्थमन्त्रीले करिब ५ मिनेट आफ्ना कुरा राख्दै भने ‘आज म तपाईंहरूका कुरा सुन्न आएको हुँ।’ त्यसपछि उनले उद्योगीहरूलाई समय दिए।

त्यसपछि उद्योगीहरूले आफ्ना समस्या र योजना मौखिक तथा लिखितरुपमा अर्थमन्त्री समक्ष राखे। सारमा उद्योगी पछिल्लो समय नयाँ उद्योगमा लगानी हुन नसकेको र यसको कारणबारे विस्तृत कुरा उठाए।

अर्थमन्त्रीले समग्र उद्योग तथा व्यवसायिक क्षेत्रभन्दा पनि प्रत्येक उद्योगी समस्या राख्न भनेका थिए। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले बैंकिङदेखि केबलकारसम्मका कुरा राखे।

आइएमइ ग्रुपका अध्यक्षसमेत रहेका ढकालले भने, ‘बैंकिङ क्षेत्रमा प्रशस्त रकम थुप्रिएर बसेको छ। यसले एकातिर मुलुकले अवसर गुमाइरहेको छ भने बैंकिङ क्षेत्रले पनि फाइदा उठाउन सकेको छैन।’

ढकालको बैंकदेखि होटल हुँदै केबलकारका दर्जन बढी परियोजनामा लगानी छ। उनले केबलकारले नेपालको पर्यटन क्षेत्रमा दिएको योगदान पनि अर्थमन्त्रीलाई स्मरण गराए। ढकालले भने, ‘केबलकारले आन्तरिक र बाह्य दुवै पर्यटकलाई उत्तिकै आकर्षित गरेको छ। तर यो निर्माणका चरणमा पाइलापाइलामा समस्या छ।’

ढकालले केवलकारको सामान आयातदेखि जग्गा प्राप्ति र इआएमा उत्तिकै समस्या रहेको सुनाए।  

त्यसपछि अर्का पूर्वअध्यक्ष एवं मुरारका ग्रुपका पशुपति मुरारकाले पनि वन र खानीको विषयमा जोड दिए। मुरारकाको सिमेन्ट उद्योगमा ठूलो लगानी छ। उनले खानी क्षेत्रको उत्खनन्, पहुँचमार्ग निर्माण र वनको स्वीकृतिमा ठूलो समस्या रहेको भनाइ राखे।

हाइलाइफ फुड्सका अम्बिकाप्रसाद पौडेलले आन्तरिक उत्पादन, बजारीकरण र निर्यातमा भोगिरहेका समस्या राखेका थिए। ‘उत्पादन क्षमता भए पनि बजार माग कम छ। यसले गर्दा उत्पादन कटौतीको विकल्प छैन। कम संख्यामा उत्पादन गर्दा लागत बढी हुन्छ। यसले निर्यातमा प्रतिस्पर्धा गर्न सकिंदैन,’ पौडेलले भने।  

सीएनआइका पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल पनि छलफलमा थिए। उद्योगीका तर्फबाट सबैभन्दा अन्तिममा बोलेका अग्रवालले राज्यको नीति नै सबैभन्दा ठूलो बाधक रहेको बताए। उनले राज्यको नीतिको निरन्तरता हुनुपर्ने बलियो धारणा राखे। अग्रवालले सरकार, प्रशासनिक निकाय, राजनीतिक दल, आन्दोलनलगायत सबैले उद्योगीलाई जहिल्यै पिरोल्ने गरेको बताए।

वर्तमान सरकारको नेतृत्व गरेको दल रास्वपाको चुनाव चिह्नलाई लक्षित गर्दै अग्रवालले भने, ‘जो आए पनि उद्योगीलाई घण्टी बजाए, अर्थमन्त्रीज्यूले यसमा ध्यान दिनुपर्‍यो, अब बन्द होस्।’

लगानी विस्तार सरकारको प्राथमिकता

छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी विस्तार नै सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्। उनले उच्च मनोबलका साथ उद्योगीहरूले लगानी बढाउन र उत्पादन गर्न तयार भएमात्रै आर्थिक विकास अगाडि बढ्नै भन्दै त्यसका लागि वातावरण बनाउन सरकार प्रतिबद्ध भएको बताए।

सरकारको भूमिका उद्योग फस्टाउने वातावरण बनाउनु रहेको वाग्लेको भनाइ छ। ‘सञ्चालनमा रहेका उद्योगहरूले उत्पादन क्षमता अधिकतम उपयोग गर्ने, आत्मविश्वासका साथ उद्योग विस्तार गर्ने र नयाँ उद्योग तथा लगानी बढाउन सरकारको सम्पूर्ण प्रयास केन्द्रित छ,’ उनले भने।

त्यस्तै सरकारले लगानीमैत्री प्रशासन र डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेको वाग्लेले बताए। अर्थतन्त्रसँग सम्बन्धित ४२ वटा ऐन यसै वर्ष संशोधन वा खारेज गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै उनले प्रशासनिक झन्झट घटाउने प्रतिबद्धता जनाएका छन्।

उद्योगीका समस्या समाधानका लागि निरन्तर समन्वयमा काम गर्ने पनि उनले धारणा राखे। उत्पादन लागत घटाउन, जग्गा, बिजुली, ढुवानी र बजारका प्रमुख अवरोध हटाउन व्यावहारिक तथा नीतिगत पहल गर्न अर्थ मन्त्रालय प्रतिबद्द भएको वाग्लेले बताए।

बजेटमा घोषणा भएका सुधार, पुँजीगत खर्च वृद्धि, आयोजना कार्यान्वयन, वित्तीय क्षेत्र र पुँजी बजार सुधारलाई तीव्र बनाइने अर्थमन्त्रीले उल्लेख गरेका छन्। उनले आयातमुखी अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको पनि बताए।

उनले उद्योगीका समस्या जोडिएका विषय समाधानका लागि सम्बन्धित मन्त्रालयसँग र उद्योगीबीच समन्वय गर्न उच्च प्राथमिकताका साथ ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने बताएका छन्। ‘अधिकतम लगानीमैत्री र व्यवसायमैत्री मुलुकका रुपमा नेपाललाई चिनाउने मेरो पहल छ। निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो भन्नेमा सरकार प्रतिबद्ध छ,’ अर्थमन्त्रीले भने। 

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरूसँग दर्जन हाराहारी छलफल गरेका थिए। अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री र आफूबीच अर्थतन्त्रका विषयमा कुनै फरक मत नरहेको र निकै निकट भएर काम गरिरहेको बताएका छन्।

उद्योगीहरूसँग छलफलका क्रममा अर्थमन्त्रीले भने, ‘आर्थिक मुद्दामा निकै नजिकबाट प्रधानमन्त्रीसँग समन्वयमा काम भइरहेको छ। हाम्रो दृष्टिकोण नै निजी क्षेत्रको प्रगति र समग्र मुलुकको आर्थिक उन्नति हो।’