मधेश दंगामा प्रधानमन्त्रीका चार शंका, ‘पूर्वराजा’ हटाइएको विज्ञप्तिदेखि ताकेर हानिएको गोलीसम्म



सुदर्शन सापकोटा
२०८३ साउन १५ गते १५:३० | Jul 31, 2026
मधेश दंगामा प्रधानमन्त्रीका चार शंका, ‘पूर्वराजा’ हटाइएको विज्ञप्तिदेखि ताकेर हानिएको गोलीसम्म


काठमाडौं। हिन्दु-मुस्लिम धर्मका नाममा सुनसरीबाट फैलिएको दंगा पश्चिमतिर सर्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह मधेसका नेता तथा सांसदहरुसँग छलफलमा छन्।

Tata
GBIME

शुक्रबार बिहान ११ बजे पुराना नेतासँग दुई घण्टा कुराकानी गरेका प्रधानमन्त्रीले त्यसपछि अलिक जुनियर नेताहरुसँग संवाद गरेका छन्।

महन्थ ठाकुर, राजेन्द्र महतोसहितको टोलीसँग उनले आधा घण्टाभन्दा बढी आफ्नै धारणा राखे। त्यसपछि उनले मधेशका नेताहरुको कुरा सुन्न थाले। त्यसपछि मनिष झा, रहवर अन्सरीलगायतका नेताहरुसँगको छलफलमा पनि उनले लामै कुरा राखे।

सुन्नमा रुची राख्ने प्रधानमन्त्रीले यसपाली आफ्नो धारणा प्रष्टसँग राखेका थिए। दोहोरो सवालजबाफसहित भएको भेटमा प्रधानमन्त्री खासगरी दुई वटा कुरामा अलिक बढी गम्भिर देखिएका थिए।

उनले भने पनि- समस्या के हो? कहाँबाट आयो भन्ने मलाई थाहा छ। यहीबेलामा केही पक्षले फाइदा लिन पनि खोजेको छ।

उनी आन्दोलन छिमेकका केही पक्षले भड्काउन खोजेकामा प्रष्ट थिए। मान्छे मारिएको घटनामा गोली प्रहरीले नचलाएको देखिएको छ। प्रधानमन्त्री यही कुरामा सहमत छन्।

दोस्रो आफ्नै पार्टीभित्रका सदस्यप्रति पनि उनी सशंकित देखिएका थिए। पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणपछि केही घटना अस्वाभाविक रुपमा घटित भएको बुझाइ प्रधानमन्त्रीको छ।

हिन्दु राज्यका पक्षमा बालेन्द्र शाह छन् भन्ने चर्चाबीच राम कुमार शर्माले प्रधानमन्त्रीसँग हिन्दु राज्य आफ्नो एजेण्डा भएको बताएका थिए। त्यसमा प्रधानमन्त्रीले असहमति जनाएका थिए। 

‘अहिलेको संविधान, अहिलेको चुच्चे नक्सा सक्न यो काम भइरहेको छ। त्यतातिर छिर्नै हुँदैन,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक नेताले भने, ‘अहिले सबैले आफ्नो रोटी सेक्न खोजिरहेका छन्।’

रास्वपा पार्टी एउटै देखिए पनि दुई वटा भागमा खण्डिकृत रहेको र त्यसमा एउटा समूहले अहिलेको हिंसाबाट फाइदा लिन खोजेको बुझाइ प्रधानमन्त्रीको छ। यसबाहेक प्रमुख प्रतिपक्षीलगायत सबै दल यही मौकामा सरकारको खेदो खनेर आफ्नो राजनीति जोगाउन लागिपरेको बुझाइ पनि उनको छ।

आन्तरिक कुरालाई व्यवस्थापन गर्न सकिए पनि प्रधानमन्त्री मूख्य दुई वटा विषयमा अलिक बढि चिन्तित रहेको सहभागी एक नेताले बताए।

‘नेपाल प्रहरीको गोली चलेको छैन। मान्छे गोली लागेर मरेको छ,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै ती नेताले भने। भूराजनीतिक कारणले द्वन्द्व बढेको भन्ने आशय प्रधानमन्त्रीको रहेको र यसमा नै उनी बढि चिन्तित रहेको ती नेताले बताए।

यसबाहेक ज्ञानेन्द्र शाहले ‘पूर्वराजा’ हटाएर ‘बहालवाला’ राजाकै हैसियतमा सद्‍भाव कायम गर्न निकालेको विज्ञप्तिप्रति पनि प्रधानमन्त्री सशंकित देखिएको ती नेताले बताए। 

पहिलो टोलीमा प्रधानमन्त्रीले जनमत पार्टीका अध्यक्ष डा सिके राउत, राजेन्द्र महतो, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम कुमार शर्मा, प्रभु साह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायत नेता सहभागी थिए।

त्यसपछि प्रधानमन्त्रीले अर्को टोलीसँग भेट गरेका थिए। त्यसमा रहबर अन्सारी, नीतिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, बिक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानी सहभागी भए।