टर्बुलेन्समा परेको एयर इन्डियाको विमानका यात्रु भन्छन् : दोस्रो जीवन पायौं, घाइतेहरुको उपचार हुँदै



बिजमाण्डू
२०८३ साउन १९ गते १७:५२ | Aug 4, 2026
टर्बुलेन्समा परेको एयर इन्डियाको विमानका यात्रु भन्छन् : दोस्रो जीवन पायौं, घाइतेहरुको उपचार हुँदै


थाइल्यान्डको फुकेटबाट भारतको नयाँ दिल्ली आइरहेको एयर इन्डियाको उडा मंगलबार टर्बुलेन्समा परेको छ। उडानका क्रममा विमान अचानक करिब ३०० फिट तल झरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

Tata
GBIME

पाइलटले सजगता अपनाउँदै स्थिति नियन्त्रणमा लिएपछि सो विमानलाई दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको जनाइएको छ। विमानमा १३४ जना यात्रु र ८ जना क्रू मेम्बर गरि कुल १४२ जना सवार थिए।

भारतको नागरिक उड्डयन महानिर्देशनालयका एक अधिकारीले दिएको जानकारी अनुसार यस घटनामा ११ जना यात्री र ४ जना क्रू मेम्बर गरि कुल १५ जना घाइते भएका छन्। घाइतेहरुमध्ये केहीको दिल्ली विमानस्थलस्थित मेडिकल सेन्टरमा उपचार गरिएको छ भने ७ जनालाई फोर्टिस अस्पतालमा भर्ना गरिएको छ।

यसअघि एयर इन्डियाले सबै यात्री र क्रू मेम्बर सुरक्षित रहेको र कसैलाई पनि गम्भीर चोट नलागेको जनाएको थियो।

विमानमा सवार एक यात्रीका अनुसार उडान भरेको करिब डेढ घण्टापछि तीव्र झट्का महसुस भएको थियो। बिहानको समय भएकाले अधिकांश यात्रीहरू सुतिरहेको बताइन्छ।

अचानक विमान ठूलो आवाजका साथ हल्लिन थाल्यो र करिब २/३ मिनेटसम्म अनियन्त्रित जस्तै बनेको बयान उनीहरुले दिएका छन्।

घटनापछि सार्वजनिक भएका तस्बिरहरुमा विमानको भित्री सिलिङ प्यानलहरुमा फुटेका दाग र दरारहरु देखिएका छन्। भारतीय मिडियासँगको संवादमा यात्रुहरुले आफूहरुले दोस्रो जीवन पाएको प्रतिक्रिया दिएका छन्।

‘हामी सबैले पुन:जन्म पाएका छौं,’ दिल्लीमा सकुशल अवतरण गरेका एक यात्रुले भने, ‘मेरो बुबा हावामा उड्नु भयो र तल पछारिनु भएको थियो। त्यो बेलाको माहोल निकै तनावपूर्ण थियो।’

हाल नागरिक उड्डयन महानिर्देशनालयले यस घटनाको अनुसन्धान सुरु गरेको छ।