काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की आफ्ना विवादित स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको बचाउमा उत्रिएकी छन्। पत्नी संगीता श्रेष्ठ र अरु तीन आफन्तलाई सचिवालयमा नियुक्ति दिलाएकोदेखि सरकारी नियुक्तिमा विवादमा परेका आदर्शको प्रधानमन्त्री कार्कीले बचाउ गरेकी हुन्।
‘जेविरुद्ध हामीले आन्दोलन गर्यौं आज त्यसलाई नै तपाइँसँगै राखेर अगाडि बढ्ने कुरा हुँदैन भनेर हामीले भन्यौं। तर प्रधानमन्त्रीले आदर्शलाई हटाउन मिल्दैन भन्नेजस्तो कुरा गर्नुभयो,’ आदर्शलाई हटाउन माग गर्ने मध्येका एक प्रदीप ज्ञवालीले बिजमाण्डूलाई भने।
ज्ञवालीका अनुसार आदर्शलाई हटाउनुपर्ने सचिवालय सदस्यहरुको भनाइपछि प्रधानमन्त्री कार्की आक्रोशित बनेकी थिइन्। विवादित आदर्शलाई हटाउनुपर्ने आवाज उठाएपछि सचिवालयमा रहेका जेनजीहरु नै आफ्नाविरुद्ध लागेको भन्दै कार्की आक्रोशित बनेकी हुन्।

प्रधानमन्त्री कार्कीले आदर्शबारे प्रश्न उठाउने सचिवालय सदस्य ज्ञवालीका साथै आकृति घिमिरे, अरुण कटुवाल लगायतलाई अलग्गै भेट्न समेत मानिनन्। ‘हामीले उहाँलाई भेटेरै भन्ने सोचेका थियौं। तर भेट्न मान्नुभएन। सायद त्यहाँको घेराबन्दीले हामीलाई भेट्न नदिइएको होला,’ उनले भने।
कार्कीले आफ्नो विश्वास पात्र भएको भन्दै आदर्शलाई नहटाउने प्रष्ट पारेकी छन्। हटाउन माग गर्ने सचिवालय सदस्यलाई कार्कीले ‘आदर्श मलाई चाहिने मान्छे हो। उसलाई कुनै हालतमा हटाउन मिल्दैन’ भन्ने सन्देश पठाएको स्रोतले बतायो।
त्यसपछि सचिवालयमा रहेका जेनजीहरु कार्कीप्रति आक्रोशित बनेका थिए। कार्कीले जेनजीसहित आफ्नो सचिवालयका १४ जनालाई बिहीबार हटाएकी छन्।
जागिर गएका जेनजीहरुले कार्की र आदर्शको सम्बन्ध अपारदर्शी रहेको बताएका छन्।
‘प्रधानमन्त्रीले नै सचिवालयका कामलाई अपारदर्शी रुपमा गोप्य राख्न खोज्नुभएको छ। हामी त त्यत्रो आन्दोलनबाट आएको हो। सूचनाहरु पनि बाहिर दिनु हुँदैन भन्नुहुन्छ,’ सचिवालयबाट हटाइएका एक सदस्यले भने।

प्रधानमन्त्री कार्कीले हटाउनुअघि सचिवालयका अधिकांश सदस्यले बालुवाटारमा काम गर्ने गरेका थिए।
‘जेनजी आन्दोलनको अग्रमोर्चामा रहेर हामीले पनि नैतिक भ्रष्टाचार, नातावाद र कृपावादविरुद्ध नारा लगाएका थियौं। यसकारण जेनजी आन्दोलनपछि गठन भएको यो संक्रमणकालीन सरकार सञ्चालनको क्रममा, आन्दोलनको मर्मविपरीत नातावाद र कृपावादलाई प्रश्रय दिने नियुक्तिमा हाम्रो समर्थन रहने कुरै भएन,’ आदर्शलाई हटाउनुपर्ने पक्षका तीनै जनाले बिहीबार संयुक्त विज्ञप्ति निकाल्दै भनेका छन्।
आदर्शबारे प्रश्न उठाएपछि आफूलाई हटाइएको दाबीबारे कुनै टिप्पणी नगर्ने प्रधानमन्त्री प्रेस संयोजक रामबहादुर रावलले बताए। ‘आदर्शलाई हटाउन खोज्दा हटाइयो भनेर विज्ञप्ति नै निकालेकोबारे खण्डन/ टिप्पणी केही छैन,’ उनले भने।

ज्ञवाली लगायत सदस्यले कार्कीका तर्फबाट जेनजी प्रतिनिधिसँग संवाद गर्ने गरेका थिए। सहमतिका लागि सचिवालयमा नरहेका जेनजी प्रतिनिधिले बनाएको खाकाका बारेमा समेत छलफल भएको थियो। त्यो छलफल समेत विवादित बन्न पुग्यो।
भदौ २३ र २४ गतेको घटनालाई कसरी हेर्ने र त्यसमा संलग्नलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत छानबिन गर्नुपर्ने माग जेनजी प्रतिनिधिले गरेपछि प्रधानमन्त्री कार्यालयका सचिव नै आक्रोशित बनेका थिए।
ज्ञवाली, घिमिरेलगायतले जेनजीका माग सम्बोधनका लागि दबाब दिएकोमा प्रधानमन्त्री कार्यालयका सचिवहरु समेत उनीहरुसँग असन्तुष्ट रहेको स्रोत बताउँछ। सचिव असन्तुष्ट रहेकै बेला आदर्श विवादमा परेपछि सूचना चुहाएको आशंका पनि उनीहरुमाथि गरिएको थियो।
सचिवालयबाट निकालिएका तीन सदस्यको वक्तव्य
जेनजी प्रतिनिधिले केही समयअघि सम्झौताका लागि भन्दै पेस गरेको मागको छलफलमा समेत प्रधानमन्त्री कार्यालयका सचिव फणीन्द्र गौतमले सकारात्मक रुपमा नलिएको जेनजी प्रतिनिधिहरु बताउँछन्। तर तिनै माग पूरा गर्न प्रधानमन्त्रीकै सचिवालयमा रहेर ज्ञवाली-घिमिरेहरुले दबाब दिएकोमा सचिवालयका अन्य सदस्यहरुले समेत असन्तुष्टि जनाएका थिए।











