पति बीमाको सीइओ, पत्नी सेयर ब्रोकर, कर्ण दम्पतीले नेपाल रि कब्जा गर्न यसरी सघाउँदै प्रिपेड समूहलाई



सुदर्शन सापकोटा
२०८२ भदौ २२ गते ०९:०१ | Sep 7, 2025
पति बीमाको सीइओ, पत्नी सेयर ब्रोकर, कर्ण दम्पतीले नेपाल रि कब्जा गर्न यसरी सघाउँदै प्रिपेड समूहलाई


काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत हुन्- मनोजकुमार लाल कर्ण। यो कम्पनीको सञ्चालक समिति अध्यक्षमा सुलभकुमार अग्रवाल छन्। यसको प्रवर्धकमा विवादास्पद व्यवसायी दीपक भट्टकी पत्नी आयुष्मा नेपाल पनि छन्।

Tata
GBIME

हिमालयन लाइफलगायत कम्पनीहरुमा दीपक भट्ट र सुलभ अग्रवालले नेतृत्व गरिरहेका २५ व्यावसायिक घरानाको प्रिपेड समूहले लगानी गरेको छ। अहिले यो कम्पनी प्रयोग गरेर सरकारको प्रमुख लगानीको नेपाल रि इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रभावित गरेर कब्जा गर्ने षड्यन्त्र भइरहेको छ।

हिमालयन लाइफले नेपाल रि इन्स्योरेन्सको ३७ लाख कित्ता सेयर उठाइसकेको छ। यो सेयरको मुख्य कारोबार चार महिनायता भृकुटी स्टक ब्रोकरिङ प्रालि अर्थात ५५ नम्बर ब्रोकरबाट भइरहेको छ।

अहिले नेपाल रि इन्स्योरेन्सको सेयर ‘एकुमुलेट’ गर्ने काम कर्णकी पत्नीको लगानी रहेको भृकुटीले गरिरहेको छ। यो ब्रोकर कम्पनीले समेत नेपाल रि इन्स्योरेन्सको ४० हजार कित्तामाथि सेयर होल्ड गरेको छ।

यो कम्पनी ‘होल्ड’ गर्छिन्- मनोजकुमार लाल कर्णकी पत्नी सुधा कर्णले। १० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको प्रमुख सेयरधनी सुधा हुन्। उनीसँग ब्रोकर कम्पनीको २५ प्रतिशत सेयर छ।

कुल ११ जना सेयरधनीमध्ये सुधा र राजिव ठाकुरले कम्पनीको ५० प्रतिशत सेयर ‘होल्ड’ गर्छन्। 

‘ट्र्याक’मा आएर ठिकठाक चल्न थालिसकेको प्राइम लाइफसँग गुराँस र युनियन लाइफ इन्स्योरेन्सलाई बराबरी हैसियतमा मिलाएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बन्न मनोज सफल भएका थिए। 

मर्जरपछि सुलभ अग्रवालले कम्पनी कब्जा जस्तै गरेका छन्, अरु कम्पनीबाट आएका प्रमुख लगानीकर्तासँग उनले सामान्य छलफल पनि गर्दैनन्।

यही कारण आफ्नो संस्था अर्कैले कब्जा गरेकामा सुलभसँग यही समूहका कतिपय लगानीकर्ता रुष्ट छन्। तर, दीपक भट्टको आडमा भविष्यको लाभ देखाइएका कारण उनीहरु ‘अन्याय’ सहेर बस्न बाध्य भएको अनौपचारिक गफगाफमा सुनाउँछन्।

यो समूहले अर्को स्टक एक्सचेञ्ज, थप बीमा कम्पनीका साथै कमोडिटिज एक्सचेञ्जको लाइसेन्स ल्याउने लोभ देखाइरहेको छ। हिमालयन रि इन्स्योरेन्सको लाइसेन्स ल्याएर सेयर मूल्य माथि पुर्‍याएका कारण यो समूहसँग व्यापारिक घरानाहरु जोडिएका थिए।

नेपाल रिको सेयर मूल्यबाट कम्पनी नियन्त्रण गर्न यो समूहले साधारणतर्फको २८ प्रतिशतभन्दा बढी सेयर होल्ड गरिसकेको छ।

उनीहरुको पैसाले मात्र नपुग्ने भएपछि हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टर बैंकरबाट ४ अर्ब रुपैयाँको इकाई जारी गरी सर्वसाधारणबाट रकम उठाइ सकिएको छ। इकाई जारी गर्ने स्वीकृति धितोपत्र बोर्डले १४ दिनमै दिएको थियो, जबकी सरकारी कम्पनीलाई एक वर्ष कुराइएको थियो।

अझ रमाइलो यो समूहले नेपाल रिको सञ्चालक समितिबाट निर्णय गरेर हिमालयन इन्भेष्टर बैंकरले जारी गरेको इकाई किन्न ४० करोड रुपैयाँ दिएको छ। अर्थात नेपाल रि इन्स्योरेन्सको सेयर किन्न नेपाल रिकै पैसा प्रयोग भएको छ। 

यसको संयोजन दीपक र सुलभको चाहनामा हिमालयन लाइफका प्रमुख कार्यकारी कर्णले गरेका हुन्। त्यसको खरिद बिक्री सुधाको ब्रोकर कम्पनीले गरेको हो।

बीमा प्राधिकरणको लगानी नीति विपरित मात्र होइन, संस्थागत सुशासनको बर्खिलाप हुने गरी सरकारको नेपाल रि इन्स्योरेन्स कब्जा गर्ने षड्यन्त्र भइरहँदा पनि सरकारका कुनै पनि सरोकारवाला निकायले प्रश्न गरेका छैनन्। बीमा प्राधिकरण र धितोपत्र बोर्ड त मतियार नै बनेका छन्।

प्रिपेड बिचौलिया समूहको प्रमुख लगानी रहेको हिमालयन रि इन्स्योरेन्ससँग मर्जर गराउने रणनीति अनुसार सरकारले स्रोत सुनिश्चित नगरेको नेपाल रि इन्स्योरेन्सले सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरिसकेको छ।

सरकारले पैसा नहाल्ने बित्तिकै अर्को समूह छिरेर मर्जर गराउने ‘डिजाइन’ अनुसार, प्रिपेड समूह र यसले होल्ड गर्ने कम्पनीहरुबाट नेपाल रि इन्स्योरेन्सको सक्दो धेरै सेयर उठाउने काम भएको हो।

चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँको नेपाल रिइन्स्योरेन्समा १६ प्रतिशत लगानी सर्वसाधारणको छ। ४४ प्रतिशत लगानी नेपाल सरकारको छ। बाँकी लगानी बीमा कम्पनीहरुको हो। 

चुक्ता पुँजीको १६ प्रतिशत भनेको २ करोड १४ लाख ७५ हजार ४९९ कित्ता सेयर हो। यसमध्ये ६० लाख कित्ता सेयर प्रिपेड समूहभित्रका कम्पनी र व्यक्तिले उठाएका हुन्। यो भनेको करिब २८ प्रतिशत हुन आउँछ।