काठमाडौं। पारिवारिक लगानीको बुंगल हाइड्रोपावरलाई सेयर जारी गर्ने अनुमति दिएर विवादित बनेका सन्तोषनारायण श्रेष्ठले आफूलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष बनाउन सहयोग गरेको समूहको ‘इन्ट्रेस्ट’मा काम गरेको पाइएको छ।
हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेर हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डमा कैफियत हुँदाहुँदै सन्तोषनारायणले निष्कासन अनुमति दिएका छन्, त्यो पनि ‘सुपरसोनिक’ गतिमा।
यस्तै प्रकृतिका अरु कम्पनीलाई डेढ वर्ष झुलाएका उनले आफूलाई सेबोन अध्यक्षमा विराजमान गराएकै कारण सुलभको कम्पनीलाई तत्कालै अनुमति दिएका हुन्।
जबकी योसँगसँगै अनुमति पाएको ‘आरबीबी फोकस ४०’ले २०८१ पुस १४ गते निष्कासन अनुमति मागेको थियो।
हिमालयन लाइफ इन्स्योरेन्स दीपक भट्ट, सुलभ अग्रवाललगायतको कम्पनी हो। दीपक भट्टको इन्फिनिटी होल्डिङ्ससँग आर्थिक लेनदेन गरेका सन्तोषनारायणले १४ दिनको अवधिमा एचएलआई लार्ज क्यापलाई निष्कासन अनुमति दिएका हुन्।

सबैभन्दा ठूलो कैफियत, कोष सञ्चालकहरुको अनुभवको योग्यता पुग्दैन। ४ अर्ब रुपैयाँको कोष सञ्चालन गर्नेहरुको योग्यता नपुग्दा नपुग्दै त्यसमा आँखा चिम्लिएर सन्तोषनारायणले १४ दिनमै निष्कासन अनुमति दिएका हुन्। कोषले आइतबारबाट इकाइ बिक्री गर्न सुरु गरिसकेको छ। १८ गते निष्कासन बन्द हुन्छ।
सामूहिक लगानी कोष नियमावलीले स्वतन्त्र सञ्चालकका लागि स्नातकोत्तरका साथै उद्योग, वाणिज्य, धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानुन वा व्यवस्थापन सम्बन्धी कार्यमा सात वर्षको अनुभव अनिवार्य गरेको छ।

कोषको स्वतन्त्र सञ्चालकमा विनु घिमिरेलाई नियुक्त गरिएको छ। उनी सिटी इभेन्ट म्यानेजमेन्टकी प्रबन्ध निर्देशक हुन्। विनियमावली अनुसार उनको योग्यता पुग्दैन। आह्वान पत्रमा कति वर्षको अनुभव भनेर खुलाइएको पनि छैन।
अन्य सञ्चालकलाई स्नातकसहित सात वर्षको अनुभव तोकिएको छ। उत्सव प्रधानाङ्ग जम्प फोर स्पोर्ट्सका ब्राण्ड र मार्केटिङ प्रमुख हुन्। विनियमावली अनुसार उनको पनि योग्यता पुग्दैन।

कोषको सञ्चालक भनेर नियुक्त गरिएकाहरुमध्ये नारायणकुमार अधिकारी खुदी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत हुन्। यो सूचीकृत कम्पनी होइन। उनी स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका छन्। तर, उनको कार्य अनुभव खुलाइएको छैन।
हिमालयन लाइफबाट नायव प्रमुख कार्यकारी कपिलकुमार दाहाल र सहायक प्रमुख कार्यकारी अधिकृत राजनप्रसाद अधिकारीलाई पठाइएको छ। तर, विनियमावलीमा भनिएजस्तो उनीहरुको कार्य अनुभव अवधि खुलाइएको छैन।

हिमालयन लाइफ इन्स्योरेन्सले प्रवर्धन गरेको कम्पनी भएकै कारणले सेबोन अध्यक्ष सन्तोषनारायणले कैफियत हुँदाहुँदै पनि इकाइ निष्कासन गर्ने अनुमति दिएका हुन्।
हिमालयन लाइफमा सुलभ अग्रवालका साथै दीपक भट्टकी पत्नी आयुष्मा नेपालको पनि प्रमुख सेयर छ।
हिमालयन रि इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्समा रहेका अधिकांस सेयरधनी दीपक भट्टले तयार पारेको ‘प्रिपेड बिचौलिया’ समूहका रुपमा चर्चित छन्। यसमा २५ भन्दा बढी व्यावसायिक घरानाको साझेदारी छ।
रमाइलो के छ भने कोष व्यवस्थापक हिमालयन इन्भेष्टमेन्ट बैंकर नियमित रुपमा नोक्सानीमा छ। पछिल्लो प्रतिवेदन अनुसार कम्पनी ५८ लाख रुपैयाँ नोक्सानीमा छ। यसलाई ४ अर्बको कोष व्यवस्थापन गर्ने जिम्मा दिइएको छ।
एचएलआई लार्ज क्याप फण्ड बन्दमुखी योजना हो। यसले १० रुपैयाँ दरका ४० करोड इकाई निष्कासन सुरु गरिसकेको छ।










