
काठमाडौं। मदन भण्डारीको ७४औं जन्मदिनका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रम हल खचाखच भरिएको थियो। कुर्सी भरिएर प्यासेजमा कार्यकर्ता बसे। प्रमुख अतिथि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली समयमा नआएपछि साढे १ को कार्यक्रम २ बजे सुरु भयो।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मञ्चमा देखिएपछि कार्यकर्ताले नारा लगाए -विद्या सक्रिय राजनीतिमा आऊ। मञ्चमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि थिए। भण्डारीसँग निकट रहेका भनिएका एमालेका पदाधिकारी उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्टलगायतका नेता पनि उपस्थित थिए।
ओली कार्यक्रमको बिचमा आइपुगे। भण्डारीकी छोरी तथा मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष उषाकिरणसँग ओलीले पटक पटक कानेखुसी गरिरहेका थिए। तर पूर्वराष्ट्रपति भण्डारीसँग उनले खासै कुरा गरेनन्।

स्पेन जानुपर्ने भन्दै ओलीले सुरुमै सम्बोधन गरे। उनको सम्बोधनका क्रममा कार्यकर्ता मौन रहे। कुनै बेला ताली बजाउनबाहेक केही प्रतिक्रिया कार्यकर्ताले दिएनन्। ओलीको सन्देश थियो -आज केही पनि हुँदैन। भण्डारीले एमालेमा केही पनि हलचल ल्याउने छैनन्।
तर ओलीले भाषण सक्ने बेलामा खुलाए, ‘पूर्वराष्ट्रपतिले मेरा कुरा पनि सुन्नुस् भन्नुभएको छ। उहाँका कुरा मैले सुनेकै छु। सधैं राम्रो बोल्नुहुन्छ, आज पनि राम्रो बोल्नुहुन्छ।’
ओली निस्किनासाथ पोरखेलले सम्बोधन गरे। पोखरेलले सम्बोधन गरिरहेकै बेला एमाले सांसदहरू गोकुल बास्कोटा, तारा लामा, सूर्य थापालगायत पनि उपस्थित भएका थिए।
पोखरेलले पार्टीको आन्तरिक लोकतन्त्र संकटमा परेको बताए। नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) एकता भएर नेकपा बनेपछि पार्टीको विचार स्खलित भएको तथा त्यसपछि पार्टीको आन्तरिक लोकतन्त्र संकटमा परेको पोखरेलको टिप्पणी रह्यो।

पोखरेलको अभिव्यक्ति एमाले अध्यक्ष ओली लक्षित थियो। यसअघिका विवादमा ओलीको चर्को बचाउ गर्ने पोखरेल शनिबार भने नेतृत्वको आलोचनामा उत्रिए। उनले एमालेभित्र असन्तुष्टि रहेको र त्यसलाई एमालेको महाधिवेशनमा चुनावमार्फत प्रकट हुन ओलीले रोके विद्रोह हुने चेतावनी दिए।
‘विधिसम्मत तरिकाले असन्तुष्टि प्रकट हुन पाएन भने एक हदसम्म असन्तुष्टि रहला तर एक चरणमा पुगेपछि विस्फोट हुन्छ,’ पोखरेलको भनाइ थियो।
भदौमा हुने विधान महाधिवेशनअघि पार्टीको नीति र विधिबारे छलफल हुनु स्वाभाविक भएको पोखरेलेको भनाइ थियो।
भण्डारी एमालेको राजनीतिमा फर्कनेबारे एमालेभित्र पछिल्लो समय अनौपचारिक रूपमा चर्को विवाद सुरु भइसकेको थियो।
एमालेमा ७० वर्ष र दुई कार्यकाल अध्यक्ष भइसकेपछि फेरि अध्यक्ष हुन नमिल्ने विधानको व्यवस्थामा पालना हुनुपर्ने पोखरेलले माग गरे। पोखरेल जति-जति एमाले नेतृत्वलाई काउन्टर दिइरहेका थिए त्यति नै कार्यकर्ताको ताली पाइरहेका थिए। उनले बोलौं कि नबोलौँ भन्दै पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने उद्घोष गरे।
‘राष्ट्रपति पोलिटिकल मान्छे हो कि होइन? यदि हो भने राजनीतिमा आउनलाई किन इफ बट भनेको? पोलिटिक्स गरेर आएको मान्छेलाई पोलिटिक्समा रुचि हुन्छ। यो कुन अनौठो कुरा भयो र? सल्लाहले जे हुन्छ उहाँले त्यही गर्नुहुन्छ किन यो ट्याकट्याक गर्या?,’ पोखरेलले भने।

पोखरेलपछि भण्डारीले सम्बोधन गरिन्। उनी बोल्न सुरु गर्नुअघि नै उनको पक्षमा नाराबाजी भएको थियो। भण्डारी अरू बेलाभन्दा भावुक मुद्रामा मञ्चमा पुगेकी थिइन्। आफ्ना पति मदनको प्रसंग आउनासाथ उनी भावुक बनिन्। उनले पटक पटक भण्डारीको जनताको बहुदलीय जनवादको व्याख्या गर्न खोजेकी थिइन्। सुरुमा गैर-राजनीति जस्तो भाषण गरेकी भण्डारीले बिस्तारै आफ्नो विद्यार्थीबाट सुरु गरेको राजनीतिक यात्राबारे व्याख्या गरिन्। त्यसपछि कार्यकर्ता झनै हौसिएका थिए।

दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीले आफूले इमानदार भएर राष्ट्रपतिको भूमिका निभाएको तथा कार्यकाल सकिए यताको समय जनतासँग अन्तरक्रिया गरेको बताइन्। नागरिकसँगको लामो संवादपछि आफू एमालेमा सक्रिय हुने निचोडमा पुगेको भण्डारीले सुनाइन्।
‘राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको हुँ,’ भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गर्दै भनिन्।
आफ्नो विशिष्ट आकांक्षा नभएको भण्डारीले बताइन्। भण्डारीले एमाले नेतृत्वमा दाबी गर्नेबारे प्रस्ट केही बताइनन्। तर उनले एमालेको नेतृत्व गर्नेबारे संकेत गर्दै भनिन् -जननेता मदनले भन्नुहुन्थ्यो राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन। तपाईँहरूको बिचमा मदनका विचार स्मरण गर्दै भनेकी हुँ। व्यवहारका कसीबाट खारिएका यी भनाइलाई आत्मसात् पनि गरिरहेको छु।

सक्रिय राजनीतिमा फर्कने घोषणा गर्नुअघि भण्डारी केही तनावमा देखिएकी थिइन्। आफ्नो लिखित मन्तव्यमा केही थप गरेको देखिएको थियो। भाषण सकिएपछि पनि कार्यकर्ताले उनको पक्षमा नाराबाजी गरेका थिए।
भण्डारीले एमालेमा फर्कने घोषणा नगर्दै ओलीले भने शनिबार नै एक कार्यक्रममा महाधिवेशनअघि नै पार्टीमा भाँडभैलो गर्न खोजेको तथा त्यस्तो गर्नेको हिसाब किताब गर्ने चेतावनी दिएका थिए।