मदन भण्डारीको जन्मजयन्तीमा विद्या भण्डारीले खोलिन् ‘फायर’, एमालेमा सक्रिय भएको घोषणा

प्रकाश भण्डारी
२०८२ असार १४ गते १७:३८ | Jun 28, 2025
मदन भण्डारीको जन्मजयन्तीमा विद्या भण्डारीले खोलिन् ‘फायर’, एमालेमा सक्रिय भएको घोषणा

काठमाडौं। पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेमा सक्रिय भएको औपचारिक घोषणा गरेकी छन्। मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रियसभा सभागृहमा आयोजना गरेको ‘जबजका तीन दशक’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले एमालेमा नै रहेर सक्रिय हुने बताएकी हुन्।

Tata
GBIME

एमालेमा नै रहेर सक्रिय हुने हेतुले आफूले यसअघि सदस्यता नवीकरण गरेको जानकारी दिइन्। आफू एमालेकै परिवारको सदस्य भएर रहने घोषणा गर्दै उनले जननेताले राजनीतिमा थकाइ हुँदैन भनेको पनि स्मरण गरिन्।

‘थप सक्रियता प्रदान गर्नुपर्छ,’ भण्डारीले भनिन्, ‘मदनका सपना साकार पार्न तपाईंको साथमा म हुनेछु। फाउन्डेसनको अभियान जारी राख्नुपर्छ भन्ने चाहन्छु।’

जबज कुनै विदेशी सिद्धान्तको नक्कल नभएको उनको भनाइ थियो। आफूहरू यसलाई विकल्पका रूपमा स्वीकार गर्ने उनले बताइन्।

‘पार्टीको विश्वसका कारणले राष्ट्रपति भएको हुँ। धन्यवाद दिन चाहन्छु। म बाहिर आएको पनि २ वर्ष बढी भएको छ। यसबीचमा जनतासँग अन्तरक्रिया गरेको छु। यसबाट निस्केको निचोड भनेको समाजवाद निर्माण गरेर जनतालाई सुखी बनाउने दायित्व अझै पूरा भएको छैन,’ उनले भनिन्।

आफ्नो राजनीतिबारे पार्टी र संचारमाध्यममा चर्चा रहेको भन्दै भण्डारीले आफू एउटा निष्कर्षमा पुगेको जानकारी दिइन्।

‘मरो दोस्रो जन्म काठमाडौंका जनताले दिए भन्ने गरेको छु। जनताको विश्वासले चुनाव जिते। त्यतिबेलै सम्पूर्ण जीवन राजनीतिलाई दिने वाचा गरिसकेकी थिएँ, उनले भनिन्, ‘राजनीतिक यात्राले थुप्रै शिक्षा दिएको छ। मैले जस्तै अरूले पनि शिक्षा पाए।’

त्यसअघि, सोही कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्वमा दाबी गर्ने चर्चाबारे टिप्पणी गरेका थिए। ओलीले ‘विद्या भण्डारीले बम पड्काने र एमाले ध्वस्त हुन सुरू हुने भनेर केही व्यक्ति सपना देखेर बसेको’ बताएका थिए।

‘कुनै बम बारुद गोला पड्कने वाला छैैन, आश नगरे हुन्छ। आश पनि कस्ता-कस्ता?’ ओलीले भने।

ओलीले थप भने, ‘पूर्वराष्ट्रपतिले मेरा कुरा पनि सुन्नुहोस् भन्नुहुन्थ्यो, तपाईं राम्रै बोल्नु हुन्छ, कहिले नराम्रो बोल्नु भएको छैन, सधैँ सुनेको छु।’

त्यस्तै, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रपति राजनीतिमा आउँदै नआउने भन्ने नभएको बताए।

‘पोलिटिकल मान्छे हो कि होइन। पोलिटिकल मान्छेलाई किन इफ बट भनेको? जिम्मेवारी लिने कुरा सल्लाह गरेर हुन्छ। अनेक खालका कुरा किन गरेको? पोलिटिक्समा रुचि राख्नु हुन्छ, के गर्ने कसो गर्ने अध्यक्षसँग कुराकानी हुन्छ,’ उनले भने।