
काठमाडौं। चक्रपथअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडक ८ लेनमा विस्तार गर्ने काम सुस्त देखिएको छ। चीनले चक्रपथको दोस्रो खण्ड विस्तारअन्तर्गत कलंकीदेखि वसुन्धारासम्म मात्रै निर्माण गरिदिने भएपछि सरकारले महाराजगंज-चप्पल कारखाना खण्ड आफ्नै खर्चमा ८ लेनमा विस्तार गरिरहेको हो।
करिब ७०० मिटर लम्बाइको यो खण्ड विस्तार गर्ने म्याद असार मसान्तसम्म रहेकामा अहिलेसम्म ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ। वर्षाका कारण काममा ढिलाइ भएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ।
वर्षाले काममा अवरोध हुँदा भौतिक प्रगति ३० प्रतिशत मात्र भएको कार्यालयका इन्जिनियर अर्जुन नेपालीले बताए। ‘हामीले असारभित्रै सम्पन्न गर्ने लक्ष्य राखेका थियौं। तर, अहिले वर्षातको कारणले गर्दाखेरि सोचेअनुसार प्रगति गर्न सकिएन,’ उनले भने, ‘यो ठेक्का नै ढिलो खुलेको हो।’

उक्त सडकको विस्तारको काम गत फागुनको अन्त्यबाट सुरु गरिएको थियो।
‘हाल सडकको दुवैतिर पर्खाल लगाउने, सब-बेस तयार गर्ने र ड्रेन निर्माण गर्ने काम भइरहेको छ,’ इन्जिनियर नेपालीले भने, ‘कालोपत्रे गर्न बेस तयार पारिए पनि वर्षाले गर्दा अप्ठेरो भइरहेको छ। मौसममा सुधार आएमा कालोपत्रेको काम अघि बढ्छ। अन्यथा समय केही समय थप गर्नुपर्ने हुन्छ।’

ठेक्का प्रक्रियामा ढिलाइ र छोटो समयमा कार्य सम्पन्न गर्नुपर्ने बाध्यताका कारण प्रगतिमा असर परेको इन्जिनियर नेपाली बताउँछन्। ‘बहुवर्षीय ठेक्काका लागि प्रयास गरे पनि अर्थ मन्त्रालयबाट सहमति नहुँदा उपलब्ध बजेटमा नै काम थालिएको हो,’ उनले भने।
सडकको डिजाइन सडक डिभिजन कार्यालय काठमाडौंले तयार पारेको हो। निर्माणको ठेक्का अम्बुजा एसके काली जेभीले पाएको छ। चालु आर्थिक वर्षमा यो योजनाका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
‘यो सडक चीनले निर्माण गरिसकेको कोटेश्वर-कलंकी सडककै मापदण्डअनुसार बनिरहेको छ। बीचमा ४ लेन र दायाँ-बायाँ २/२ लेन सर्भिस ट्र्याक रहने गरी यो खण्ड ८ लेनको हुनेछ,’ उनले भने।

पहिलो चरणमा महाराजगंज-चप्पल कारखाना सडक विस्तारपछि दोस्रो चरणमा चप्पल कारखानादेखि धोबीखोलासम्मको सडक ८ लेनमा विस्तार गरिनेछ। महाराजगंज-धोबीखोलाको दूरी २.४ किलोमिटर छ।
चप्पल कारखानादेखि धोबीखोलासम्मको खण्डमा भने बजेट अभावका कारण काम अगाडि नबढाइएको हो। यो खण्ड विस्तारका लागि आगामी वर्षको बजेटबाट स्रोत सुनिश्चितता गर्न प्रक्रिया अघि बढाइएको नेपालीले जानकारी दिए।

‘अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेपछि चप्पल कारखानादेखि गोपीकृष्ण हलसम्मको १.७ किलोमिटर सडक विस्तारका लागि ठेक्का प्रक्रिया अघि बढाइनेछ,’ उनले भने।
१.७ किलोमिटर सडक विस्तार गर्न १ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
त्यसैगरी, चक्रपथको अर्को खण्ड, तीनकुने-सिनामंगल-गौशाला खण्ड विस्तारको काम पनि भइरहेको छ। इन्जिनियर नेपालीका अनुसार यो खण्डको काम तिहारसम्म सम्पन्न हुनेछ।

कलंकी-वसुन्धरा खण्डको डिजाइन अन्तिम चरणमा
चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकीदेखि वसुन्धरासम्मको सडक निर्माणको काम हाल प्रारम्भिक चरणमा छ।
आयोजनाका इन्जिनियर रामविहारी चौधरीले यो खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र डिजाइन तयार गर्नका लागि चिनियाँ कम्पनीले सर्वेक्षण र माटो परीक्षण जस्ता काम गरिरहेको जानकारी दिए।
चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टान्ट्स र सीआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडका पाँच प्राविधिक एक महिनादेखि फिल्डमा खटिएका छन् ।
‘उनीहरुले सर्भेको काम गरिरहेका छन्। ठाउँ-ठाउँमा सोइल टेस्ट भइरहेको छ,’ उनले भने, ‘रिपोर्ट बनाइरहेका छन्। त्यो रिपोर्ट बुझाएपछि एक चरण अगाडि बढ्छ। अहिले उनीहरुले डिजाइन र डीपीआरको काम गरिरहेछन्। सर्भे गर्ने काम अन्तिम चरणमा पुर्याएका छन्।’

चौधरीका अनुसार चिनियाँ टोलीले डीपीआर र डिजाइन तयार पारेपछि कलंकी-वसुन्धरा खण्डको सडक विस्तार कार्य अगाडि बढ्नेछ। ‘अहिलेसम्म डिजाइनको खाकै तयार भएको छैन,’ उनले भने।

सर्भिस ट्र्याक निर्माणमा समस्या
चक्रपथमा सर्भिस ट्र्याकको काम भने विभिन्न कारणले प्रभावित भएको छ। कलंकीदेखि स्वयम्भूसम्मको काम लगभग सकिए पनि स्वयम्भूदेखि वसुन्धरासम्मको खण्डमा समस्या रहेको चौधरीले बताए।
‘विशेषगरि समाखुसी र गोंगबु क्षेत्रमा, खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले परीक्षणका लागि पिच गर्न तयार पारिएको सडक खनेका कारण काम रोकिएको छ,’ उनले भने, ‘निर्माण कम्पनीको पनि केही कमजोरी छ। जसले गर्दा गत पुसमा सकिनुपर्ने काम आउँदो मंसिरयता सकिने देखिंदैन।’
सर्भिस ट्र्याक निर्माणमा ढल, खानेपानी, टेलिफोनजस्ता विभिन्न निकायका संरचना रहेकाले एक निकायले काम गर्दा अर्कोलाई असर पर्ने र समन्वय अभावले गर्दा चुनौतीपूर्ण रहेको चौधरी बताउँछन्।

‘कुनै एउटै लाइनमा ढल, खानेपानी, टेलिफोन जस्ता सबै युटिलिटिज रहेको कारणले गर्दा एउटाले काम गर्न खोज्यो, अर्कोले भाँजो हाल्छ। एउटै इन्टिटी, एउटै निकायले गरेको भए सहज हुन्थ्यो। अब एउटाले गरिसकेपछि अर्को आउँछ, अर्कोले गरिसकेपछि अर्को आउँछ। त्यसले गर्दा यो सर्भिस ट्र्याकमा काम गर्न गाह्रो भइरहेको छ,’ चौधरीले भने, ‘सर्भिस ट्र्याकको भित्रपट्टि सामाखुसी एरियाको गोंगबुमा पीआईडीले खानेपानी टेस्टिङ गर्न बाँकी छ। हामीले पिच गर्न तयार पारिसकेको थियौं। तर पीआईडीले आएर खनेको खनिदियो। ठाउँ-ठाउँमा यति खन्यो कि अब पिच गर्नै नसकिने भयो।’

पीआईडीले आयोजनालाई गोंगबु चोकदेखि बसपार्कसम्म खानेपानीको लाइन परीक्षण गर्न बाँकी रहेको जवाफ दिएको छ। निर्माण कम्पनीलाई सुरुमा विद्युतका पोल तथा खानेपानी र ढलका पाइपले गर्दा काम गर्न अप्ठेरो भएको थियो।