पूर्वराष्ट्रपति भण्डारील‍े ओलीविरुद्ध खोल्न लागेको ‘फायरिङ’, जसले ल्याउनेछ एमालेमा हलचल

प्रकाश भण्डारी
२०८२ असार १३ गते २०:४७ | Jun 27, 2025
पूर्वराष्ट्रपति भण्डारील‍े ओलीविरुद्ध खोल्न लागेको ‘फायरिङ’, जसले ल्याउनेछ एमालेमा हलचल
केपी शर्मा ओली र विद्यादेवी भण्डारी। फाइल तस्वीर

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को नेतृत्वमा दाबी गर्ने सन्देश सार्वजनिकरुपमै दिने भएकी छन्।

Tata
GBIME

अहिलेसम्म आफू निकट विभिन्न नेताहरुमार्फत एमाले अध्यक्षका लागि तयारी गरिरहेको संकेत गरेकी भण्डारीले अब आफैंले सार्वजनिकरुपमै पार्टी नेतृत्वमा दबीबारे मुख खोल्न लागेकी हुन्।

शनिबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने कार्यक्रममा भण्डारीले पार्टी अध्यक्षका लागि आफूले होमवर्क गरिरहेको सन्देश दिने तयारी गरेको उनी निकट नेताले जानकारी दिए।

‘यसअघि पनि नेतृत्वमा आउँछु भनेर उहाँले संकेत गरिरहनुभएकै हो। तर, शनिबारको कार्यक्रम केही महत्वपूर्ण हुन्छ,’ ती नेताले भने।

केपी शर्मा ओली, विद्या भण्डारी र महेन्द्रबहादुर पाण्डेफाइल तस्वीर

भण्डारीले असार पहिलो साता प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफू एमालेको नेतृत्व गर्ने तयारीमा रहेको भन्दै त्यसका लागि सहयोग गर्न ओलीलाई आग्रह गरेकी थिइन्।

आफूले सार्वजनिक मञ्चबाटै अध्यक्षमा दोहोरिने बताएका बेला भण्डारीले अकस्मात सहयोग मागेपछि ओली झस्किएका थिए। भण्डारीले आफ्नैसामु अध्यक्षमा आउन चाहेको बताएपछि ओलीले त्यसलाई सकारात्मकरुपमा लिन सकेनन्। जसका कारण भण्डारी-ओली बालुवाटार वार्ता तिक्ततापूर्ण हुन पुगेको थियो।

‘पूर्वराष्ट्रपतिले एमाले अध्यक्ष बन्छु भनेपछि ओलीले चुनावको सामना गर्न भन्नुभएछ। चुनाव भएको अवस्थामा तपाईं पराजित हुनुहुन्छ भन्ने सन्देश पूर्वराष्ट्रपतिले दिनुभयो। उहाँहरुबीच निकै तिक्ततापर्ण संवाद भयो,’ भण्डारीसँग निकट ती नेताले भने।

अर्का नेताका अनुसार भण्डारीले अबको महाधिवेशनबाट एमालेको नेतृत्वमा ओलीलाई कुनै पनि हालतमा देख्न चाहेकी छैनन्। त्यहीकारण उनले आफूलाई अध्यक्ष बनाउन तयार नहुने हो भने तेस्रो व्यक्तिलाई नेतृत्व सुम्पिन प्रस्ताव गरिन्।

तर, ओली यो प्रस्तावबाट झनै बिच्किए। उनले आफूविरुद्ध भण्डारीले राम्रै तयारी गरिरहेको रुपमा बुझे। भण्डारीसँगको वार्ताको एक सातापछि बुधबार पार्टी मुख्यालय च्यासलमा ओलीले सचिवालय बैठक राखेका थिए। त्यो बैठकमा ओलीले भण्डारीमाथि आफूविरुद्ध षडयन्त्रमा लागेको आरोप लगाए।

‘बैठकमा अध्यक्षज्यूले पूर्वराष्ट्रपतिविरुद्ध आक्रोशपूर्ण धारणा राख्नुभयो। राष्ट्रपति भइसकेको मान्छेले पार्टीमा गुटबन्दी गरिरहेको पाएँ भन्नुभयो,’ सचिवालयका एक नेताले भने।

विद्यादेवी भण्डारी

भण्डारीले अध्यक्ष हुनका लागि पार्टी नेताहरुसँग भित्रभित्रै छलफल बढाएको बुझेपछि उनलाई कुनै हालतमा रोक्ने तयारीमा ओली लागेका छन्।

स्रोतका अनुसार उनले राष्ट्रपति भइसकेको व्यक्ति पार्टी अध्यक्षमा फर्कन नमिल्ने व्यवस्था पार्टीको विधानका गर्न लागेका छन्। ओलीले यो प्रस्तावसहित विधान संशोधनको मस्यौदा गर्ने जिम्मेवारी अर्थमन्त्री समेत रहेका पार्टी उपाध्यक्ष विष्णु पौडेललाई दिइसकेका छन्।

भण्डारीलाई रोक्न खोज्दा ओलीका लागि पनि विधान संशोधन गर्नुपर्नेछ। एमालेको विधानमा लगातार दुई कार्यकालपछि अध्यक्ष हुन नपाउने तथा ७० वर्षको उमेर हद छ। ११ वर्षदेखि निरन्तर पार्टी अध्यक्ष रहेका ओली अहिले ७४ वर्षमा हिंडिरहेका छन्।

७४औं जन्मदिनमा प्रधानमन्त्री कार्यालयमा केक काट्दै केपी शर्मा ओली

एमालेको उपाध्यक्ष हुँदै दुईपटक राष्ट्रपति बनेकी भण्डारी र तीन पटक प्रधानमन्त्री बनिसकेका ओली यसअघि एक अर्काका सारथिजस्तै थिए।

भण्डारी ओलीको सहयोगमा राष्ट्रपति बनेकी हुन्। ओली यसअघि प्रधानमन्त्री रहँदा गरेका एकपछि अर्को विवादित काममा भण्डारीले आँखा चिम्लेर रबरस्ट्याम्प लगाइदिएकी थिइन्।

उनीहरु अब आमनेसामने हुने तयारीमा लागेका छन्। भण्डारी निकटहरुले ओलीलाई रोक्न ७० वर्षे उमेर हद र दुई कार्यकाल भन्दा अध्यक्ष हुन नपाउने पार्टी विधानको व्यवस्था उठाउन थालेका छन्।

‘भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनअघि नै हामी ७० वर्षे उमेर हदलाई जोडतोडका साथ उठाउने तयारीमा छौं। भन्नुको मतलव अब पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा यो विषय अघि सार्ने योजना हो,’ एमालेका एक पदाधिकारीले भने।

ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउने तयारीसहित एमालेले विधानको धारा ६४ मा रहेको ७० वर्षे उमेर हदलाई २०८० जेठ १९ को सचिवालय बैठकबाट निलम्बन गरेको थियो।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डले उमेर हद र दुई कार्यकालको विषय अहिले निलम्बन मात्रै भएको र यसबारे महाधिवेशनले निर्णय गर्ने बताए। ‘दुवै कुरा महाधिवेशनले जे गर्छ त्यही हुने हो। महाधिवेशनले गरेको कुरा मैले या कसैले भनेर हट्ने र रहने हुँदैन,’ पाण्डेले भने।

केपी शर्मा ओली

ओलीले भण्डारीको पक्षमा लागेका नेताहरुलाई फकाउन थालेका छन्। स्थायी कमिटी सदस्य बिन्दा पाण्डेप्रति ओली ११ गतेको सचिवालय बैठकमा नरम बनेका थिए।

पार्टीले निलम्बन गरेपछि पाण्डेसँग भण्डारीले पटक पटक छलफल गरेकी थिइन्। भण्डारीबाट अलग गराउन ओलीले पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाको निलम्बन फुकुवा गरेका छन्। ओलीले आफ्नो निर्णयप्रति सार्वजनिकरुपमा प्रश्न उठाएको भन्दै पाण्डे र तिमिल्सिनालाई पुस १० गते निलम्बन गरेका थिए।

ओली तिनै हुन् जसले आफूले निलम्बन गरेकी पाण्डेसँग छलफल गरेकामा पूर्वराष्ट्रपति भण्डारीलाई गत पुस १८ गते उनकै निवासमा पुगेर भेटी पार्टीभित्र गुटबन्दी नगर्न भनेका थिए।

भण्डारीले सार्वजनिकरुपमै एमाले अध्यक्षमा दाबी गर्ने तयारी गरेपछि ओ‌ली निकट नेताहरु नै उनीबाट विस्तारै टाढिन थालेका छन्। नेताहरु उमेर हद र कार्यकालको विषयलाई लिएर भण्डारीको पक्षमा उभिने क्रम बढीरहेको छ।

लामो समयदेखि ओलीको पक्षमा रहेका एमालेका वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष ईश्वर पोखरेलले नै हाल ७० वर्षे उमेर हदलाई उठाइरहेका छन्।

उमेर हद र दुई कार्यकाल नेतृत्वमा रहन मिल्ने व्यवस्थाको विषयलाई लिएर वरिष्ठ उपाध्यक्ष पोखरेलेसँगै उपाध्यक्षहरु सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा सचिवहरु गोकर्ण विष्ट र योगेश भट्टराई समेत भण्डारीको पक्षमा उभिएका छन्।

एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले लामो समयदेखि भण्डारीकै पक्षमा वकालत गरिरहेका छन्। स्थायी कमिटी सदस्यहरु कृष्णगोपाल श्रेष्ठ र भानुभक्त ढकालले पनि उमेर हदको पक्ष लिएका छन्।

पोलिटब्युरो सदस्य गोकुल बास्कोटा ओलीको कोटरीबाट टाढिएर भण्डारीको क्याम्पमा पुगेको दुई वर्षभन्दा धेरै भइसकेको छ। भण्डारी र ओलीले एउटै पद ताक्दा महाधिवेशनसम्म एमालेमा ठूलै हलचल हुने देखिएको छ।

‘पूर्वराष्ट्रपतिले अध्यक्ष बन्न चाहेको अभिव्यक्ति सार्वजनिक गरेपछि अहिले उकुसमुकुसको अवस्थामा रहेका धेरै नेता कार्यकर्ताले ओली क्याम्प छोड्छन्,’ भण्डारी निकट एक नेताले दाबी गरे।