
काठमाडौंमा जन्मेहुर्केकी अश्लेषा कार्कीलाई आजका दिनमा कसैले सोधोस्- आखिर त्यस्तो के छ झापामा?
‘यो त प्रश्नै गलत भयो,’ उनले पुलकित हुँदै भनिन्, ‘सोध्नुस् न के छैन र झापामा!’
बितेका चार वर्षहरुमा करिब तीन वर्ष उनले झापामै बिताएकी छन्। पारिवारिक व्यापारमा सघाउन केही दिनका लागि भनेर झापा पुगेकी अश्लेषा त्यतै भुलिन्। कोभिड-१९ महामारीका बेला अष्ट्रेलियामा ब्याचलर पढिरहेकी उनले घरै आएर अन्तिम परीक्षा दिनुपरेको थियो। महामारी सकिएपछि विदेशतिरै गएर थप पढ्ने योजना बनाइरहेकी उनको त्यो झापा यात्राले जीवनका अन्य सबै योजनाहरु थाती रहे। अनि सुरु भयो उनको हस्पिटालिटीतर्फको नयाँ यात्रा।
डेपुटी म्यानेजिङ डाइरेक्टरका रुपमा पाँचतारे होटल मेची क्राउन सम्हालिरहेकी अश्लेषाले रोमाञ्चित हुँदै सुनाइन्,’केही समय नेपाल बसेर थप पढ्न विदेशै जान्छु भनेको पनि कथा भइसक्यो। अब त म बिहान झापाको न्यानो, दिउँसो इलामको शीतल, अनि साँझमा फिक्कल डाँडा हेरेर अरु सबै बिर्सने भइसकेछु।’
अश्लेषाका लागि झापा करियरकै सुरुवाती विन्दु पनि हो, जहाँबाट उनले नेपालको पर्यटन क्षेत्र र हस्पिटालिटीबारे बुझ्दै सिक्दै अघि बढ्दैछिन्।
‘झापाबाट ४० मिनेटमा कन्याम र इलामको चिसो हावा खान पुगिन्छ। यही भेगमा चिया टिप्ने, कफी स्टेट घुम्ने। अलिकति माथि गयो लोपोन्मुख रेड पाण्डा देख्न पाइने फिक्कलको डाँडा पुगिन्छ। श्रीअन्तु पुग्यो नेपालकै पहिलो सूर्योदय देखिन्छ। केही परमात्र छ सीमापारीको बजार सिलिगुडी। वास्तवमा झापाको जस्तो मौसमी र सामाजिक विविधता काठमाडौंमा कहाँ! फेरि पूर्वका मानिसहरु कति मिजासका। झापालीमा सबैसँग मिल्ने खुबी छ। असाध्यै रमाइला गफ गर्ने, फ्रेन्ड्ली छन्। झापाका युवा जमात असाध्यै जोशिला रहेछन्। साथीभाईबीच रमाइलो गर्ने मुड भयो भने उनीहरु एकैछिनमा योजना बनाउँछन् र गुरुरु दौडिहाल्छन्। नाइनास्ती गर्ने चलनै छैन।’- पूर्वको समाजबारे अश्लेषाको करिब तीन वर्षे संगतको बुझाइ हो यो।
पाँचतारे होटल मेची क्राउनको व्यवस्थापन हेर्नका लागि ढुक्कै झापामा बसेकी अश्लेषा पूर्वेलीको उदारपनबाट असाध्यै प्रभावित छिन्। त्यसैले त उनी झापालाई अरु कुनै सहरसँग दाँज्नै चाहन्नन्। साथीहरु भनिरहन्छन् – तँ त झापाको ब्राण्ड एम्बेसडर जसरी नै हामीलाई गफ सुनाउँछेस्।

‘झापाको ब्राण्ड एम्बेसडर नै भन्दा हुन्छ मलाई,’ उनी रणनीतिक रुपमा जोड्छिन्, ‘म होटलभन्दा पहिले झापाको ब्राण्डिङ गरिरहेकी हुन्छु किनकी झापाको राम्रो ब्राण्डिङ हुनु भनेकै मेची क्राउनमा पर्यटकको फुटफल बढ्नु हो।’
कोशी प्रदेशको हट केक
खोलाको बगरमा बन्दै गरेको विशाल प्रोपर्टी देख्नेहरु उतिबेला भन्ने गर्थे : यो बगरमा किन यसरी पैसा छरेको होला!
झापाको मेचीनगरमा यो प्रोपर्टी बनाइरहेको भेगास सिटी इन्टरटेन्मेन्ट प्रालिका ६ साझेदारहरुको भिजन कसैले बुझेकै थिएनन्। कम्पनीका संचालकहरु पवित्रकुमार कार्की, बलराम सापकोटा, सिर्जना कक्षपति सापकोटा, रामबहादुर गौतम, सुरेश मान श्रेष्ठ र राजेन्द्र बस्नेतको समूहले त झापामा त्यसअघि नेपालको पूर्वी भेगमै नभएको फाइभस्टार कल्चर भित्र्याउँदै थियो। बगरमा बनिरहेको त्यो प्रोपर्टी झापाको मात्र नभई पूर्वी नेपालकै पर्यटन क्षेत्रको दीगो आधार बन्ने कमैलाई आँकलन थियो। अहिले त्यही प्रोपर्टी मेची क्राउनले झापामा रौनक थपिदिएको छ।
भद्रपुर एयरपोर्टबाट १७ किलोमिटर र भारतको बागडोगरा एयरपोर्टबाट २५ किलोमिटरको दुरीमा बनेको त्यो प्रोपर्टी पूर्वकै पहिलो पाँचतारे डिलक्स होटल मेची क्राउन अहिले कोशी प्रदेशको हट केक बनेको छ। अनि होटलकी डेपुटी म्यानेजिङ डाइरेक्टर अश्लेषा कार्की सिंगो झापा जिल्लाकै ब्राण्ड एम्बेसडर झैं छिन्।
सुरुवाती डेढ अर्बको लगानीमा खुलेको होटलले स्थापनाको दुई वर्षभित्रै थप लगानी विस्तार गर्दै कोठा संख्या दोब्बरले बढायो। क्यासिनोसहित कुल २०५ कोठाको होटल भारत, बंगलादेश र भुटानका पर्यटक तान्ने बृहत् योजनाअन्तर्गत स्थापना भएको हो। पुगनपुग चार वर्षको कारोबारको तथ्यांक केलाउँदा होटलमा ७० प्रतिशत पर्यटक भारतबाटै आएका छन्। दुई हजारभन्दा बढी मानिस एकैसाथ अटाउने यो होटल झापामा हाइ इण्ड पर्यटकको बसाइ लम्ब्याउने थलो हो।

सानैदेखि म एकदिन फोर्ब्समा आउँछु भनिरहन्थें। देशलाई चिनाउने काम नगरी त्यो स्थानमा पुगिँदैन।
भारतीय सीमा क्षेत्र नजिक रहेको मेची क्राउनले क्यासिनो र वेडिङ डेस्टिनेसनका रुपमा आफूलाई ब्राण्डिङ गरिरहेको छ। पछिल्लो समय कर्पोरेट रिट्रिटका लागि पनि मेची क्राउन आसपासका जिल्लाहरुको पहिलो रोजाइ बन्न थालेको छ।
होटल खुलेको तीन महिनामै त्यहाँ पुगेकी अश्लेषाका लागि झापा करियरको सुरुवातको थलो मात्र होइन। लगातार तीन वर्ष झापामा बसिसकेपछि उनले झापाको हावापानी माटो सबै बुझ्न पाइन्। त्यहाँका मानिसको बिन्दासपन अनि उदार स्वभावलाई मनैदेखि अपनाइन्।
सुरुवातमा कोभिड-१९ महामारीका कारण पर्यटकको त्यति धेरै फ्लो थिएन। तर सुरुदेखि नै उनले व्यवस्थापन संचालन र फाइनान्स हेर्न थालिन्।
होटल संचालनको पहिलो दुई वर्ष महामारीका कारण फूल-अन हुन सकेन। होटलको क्षमता असाध्यै ठूलो थियो। अनि उनीहरुले क्यासिनो लक्षित रहेर पूर्वाधार तयार पारेका थिए। तर महामारीका कारण सीमानाका बन्द हुन पुग्यो। न विज्ञापनले तान्न सकिने न त कुनै मार्केटिङ फण्डाले काम गर्ने समय थियो त्यो। महामारीको त्रासले घरभित्र बसिरहेका मानिसलाई होटलसम्म लैजान सकिने कुनै उपायले काम गर्दैनथ्यो।
व्यवस्थापनले आफ्नो रणनीति परिवर्तन गर्यो। उनीहरु डेस्टिनेसन वेडिङको कन्सेप्टमा गए। पहिलो विवाह विराटनगरको परिवारको थियो जहाँ भारतबाट जन्ती आएका थिए। पहिलो समारोह नै यति राम्रोसँग व्यवस्थापन भयो कि भारतीय समुदायमा उनीहरुको राम्रो ब्राण्डिङ हुन थाल्यो। त्यहाँ आउनेहरुले गरेको बखान पैसा तिरेर गरिने विज्ञापन भन्दा बढी शक्तिशाली भइदिएपछि होटलले पछि फर्किएर हेर्नै परेन। उनीहरुले सीमापारीका सहरहरुमा डेस्टिनेसन वेडिङको कम्प्लिट प्याकेज बनाएर मार्केटिङ गर्न थाले।
झापाको ब्राण्ड एम्बेसडर नै भन्दा हुन्छ मलाई। म होटलभन्दा पहिले झापाको ब्राण्डिङ गरिरहेकी हुन्छु किनकी झापाको राम्रो ब्राण्डिङ हुनु भनेकै मेची क्राउनमा पर्यटकको फुटफल बढ्नु हो।

ठूलो विवाह होस् वा सानो होटलले त्यसैअनुसारको अर्गनाइज गरिदिने गरी योजना बनायो। कसैलाई ल्याभिस विवाह गर्ने रहर हुन्छ कोही परिवारमा सीमित रहेर समारोह गर्न चाहन्छन्। जो जसरी चाहन्छ त्यस्तै किसिमको व्यवस्थापन गरिदिन थालेपछि होटलले डेस्टिनेसन वेडिङमा राम्रै संख्या पाउन थाल्यो। सन् २०२४ मा मेची क्राउनबाट २५ वटा डेस्टिनेसन वेडिङ भएको अश्लेषाले जानकारी दिइन्।
उनी भन्छिन्,’गर्व गर्नलायक कुरा के हो भने हामीले रित्तो बगरमा डिलक्स होटल खडा गरेका छौं जसले झापामा फाइभस्टार कल्चर सुरु गरेको छ। अनि भारतको कोलकाताजस्ता ठूला सहरहरुबाट पनि यहाँ विवाह समारोह गर्नका लागि आउने गरेका छन्। यसले झापाको समुदाय र अर्थतन्त्र दुवैलाई चलायमान बनाएको छ।’
झापाकै स्थानीय समुदाय तान्नका लागि उनीहरु साना ठूला इभेन्टहरु पनि गरिरहेका छन्। कहिले पुलपार्टी त कहिले स्पोर्ट्स इभेन्ट्स् गरेर स्थानीयलाई मेची क्राउन छिर्ने सहज वातावरण बनाइरहेकी अश्लेषा जसरी हुन्छ फुटफल बढाउने रणनीतिमा काम गरिरहन्छिन्।
‘खासमा हाम्रो टार्गेट मार्केट भनेको सिलिगुडी हो। सिलिगुडी आफैंमा चिकेन नेक पनि हो जसले भुटान, बंगलादेश र नेपाल जोड्छ। रणनीतिक हिसाबले दार्जिलिङ, सिक्किमलाई त्यहाँबाट तान्न सकिन्छ। गुवाहाटी, आसाम, पश्चिम बंगाल सबै जोडिने भएकाले मिड पोइन्ट जस्तो छ सिलिगुडी। हामीले अन्य राज्यका भारतीयलाई पनि बागडोगरा एयरपोर्टबाट यता ल्याउन सक्छौं। बंगलादेश र भुटानका पर्यटकलाई पनि यही बाटोबाट तान्न सकिन्छ,’ उनी कुन देशमा कसरी प्याकेज मार्केटिङ गर्ने भनेर बजार अनुसन्धान गरिरहेको बताउँछिन्।
फुर्सदको बसाइमा काम सिकौं भनेर मेची क्राउन छिरेकी अश्लेषालाई झापाले कतैबाट पाउन नसकेको अनुभव दिएको छ।


सुरुवाती दुई वर्ष महामारीपछि खराब अवस्थाका कारण होटल वित्तीय रुपमा मारमा पर्यो। तर त्यसपछि भने रिटर्न लिन थालेको होटलले जोखिम लिएरै १०० कोठा थप्यो।
क्यासिनो र डेस्टिनेसन वेडिङका पाहुनालाई पर्याप्त कोठा दिनका लागि यो ‘रिस्क’ लिनुपरेको उनले बताइन्। कोठा विस्तार भए लगत्तै विवाह समारोहकै लागि कोलकाताबाट १५० कोठाको बुकिङ आयो।
उनले खुशी हुँदै सुनाइन्, ‘फाइभस्टार डिलक्स प्रोपर्टी हामीसँग छ। राम्रो कस्टमर सर्भिस दिन सक्यो भने भारतको त्यति ठूलो सहरबाट पनि बिजनेस तान्न सकिने रहेछ त! म धेरै उत्साहित छु। हामीले पूर्वी नेपालको पोटेन्सियल अन लक गर्यौं।’
फुर्सदको बसाइमा काम सिकौं भनेर मेची क्राउन छिरेकी अश्लेषालाई झापाले कतैबाट पाउन नसकेको अनुभव दिएको छ। झापाले उनलाई कसरी विविध स्वभावका मानिस र समुदायसँग कनेक्ट गर्ने भन्ने सिकाएको छ। फरक समाज र संस्कृति अनि फरक फरक व्यक्तित्व ह्याण्डल गर्न सिकाएको छ। कोभिड महामारीको समयमा धमाधम होटलहरु बन्द हुँदै थिए। मेची क्राउन भने त्यही विषम समयमा खुलेको थियो। अश्लेषाले अप्ठेरो समयमा कसरी व्यापार रणनीतिहरु बनाउने भनेर जानिन्।
उनले झापामै बसेर जीवन र व्यवसाय दुवैमा च्यालेन्ज एप्रोच गर्ने तरिका सिकेकी हुन्। त्यसैले उनी आफूलाई मेची क्राउनको मात्र होइन झापाकै अंगका रुपमा व्याख्या गर्छिन्।
थिम्पुसम्म नजर
एक वर्षअघि १२ जना भुटानीहरु तीनवटा गाडीमा झापा आइपुगे। अश्लेषा त्यतिबेला छक्क परिन् जतिबेला उनीहरुले भने थिम्पुबाट झापा आइपुग्न उनीहरुलाई जम्मा ७ घण्टा लाग्यो रे।
अरे सात घण्टामा त झापाबाट काठमाडौं पनि पुगिन्न! त्यहाँ उनले नयाँ सम्भावना देखिन्। थिम्पुबाट साढे ३ घण्टामा भारत-भुटान बोर्डरमा आइपुगेका उनीहरु अर्को तीन साढे ३ घण्टामा भारतबाट नेपाल बोर्डर आइपुगेका रहेछन्।
अश्लेषालाई क्लिक गर्यो। भुटानकै पारोदेखि भारतको बागडोगरा एयरपोर्ट २० मिनेटकै फ्लाइटमा आइपुगिन्छ। सडकबाट आउँदा सार्क देश भएकाले भुटानी पर्यटकलाई पहिलोपटक नेपाल आउन भिसा पनि नचाहिँदो रहेछ। यो पनि थप ‘एडभान्टेज’ भयो।
उनी भुटानका पर्यटकलाई पनि तान्ने बजार रणनीतिमा काम गरिरहेकी छन्।
‘अब भुटान हाम्रो अनटच्ड पोटेन्सियल हो,’ उनले एक महिनामै आफ्नो टिम भुटान गएर मेची क्राउनमा उपलब्ध कर्पोरेट रिट्रिट र क्यासिनोका ग्राहकलाई लक्षित प्याकेजबारे मार्केटिङ गर्ने जानकारी दिइन्।
ट्रेकिङ वा एडभेन्चरका लागि मात्र हो भन्ने अवधारणा बदल्नुपर्छ। हिमाल हेर्न ट्रेकिङ नै गर्नुपर्दैन। लग्जरी स्टेको सुविधासहित माउन्टेन फ्लाइटबाटै हिमाल हेर्न सक्छन् भनेर पनि मार्केटिङ गर्नुपर्यो।

चार वर्ष हस्पिटालिटीमा बिताएपछि अश्लेषा केमा स्पष्ट भएकी छन् भने नेपालले आफ्नो लागि बजार खोज्न धेरै टाढा जानै पर्दैन। ठूला जनसंख्या भएका भारत र चीनलाई मात्र लक्षित गरी उनीहरुका लागि विकल्पसहितको प्याकेज दिन सके पुग्छ। पर्यटन क्षेत्रमा नयाँ क्षितिज देखेकी उनले अब नेपालको ब्राण्डिङ गर्ने तरिका बदल्ने बेला भइसकेको बताइन्।
चीन र भारतका पर्यटकहरु बिल्कुल फरक छन्। फरक स्वभाव र माग छन् उनीहरुका। चिनियाँलाई तान्न जुन रणनीति लिइन्छ भारतीयलाई त्यसले काम गर्दैन। नेपाल घुम्ने भनेको ट्रेकिङ गर्दै हिमाल हेर्ने वा काठमाडौं, पोखरा र चितवन वरपर बस्ने हो भन्ने पुरानो ब्राण्डिङ अब बदल्नुपर्छ भन्छिन् अश्लेषा।
‘चिनियाँहरुलाई बुद्धिज्म, अल्ट्रा लग्जरी टुरिजम् मार्फत तान्न सकिन्छ। उनीहरु लग्जरीका साथै शान्तिपूर्ण वातावरण चाहन्छन्। भारतीय तान्न क्यासिनो र डेस्टिनेसन वेडिङका प्याकेज बनाउन सकिन्छ। भारतीय युवाहरुमाझ अहिले बाइक र्याली निकै ट्रेन्डिङमा छ। हामीले त्यो युवा समूहलाई टार्गेट गर्न सक्यौ भने भारतका विभिन्न सहरहरुबाट पर्यटकको फ्लो बढ्छ। नेपालमा प्रचुर प्राकृतिक सौन्दर्य त छँदैछ। अब लग्जरी टुरिजम्को अवधारणालाई पनि व्यापक बनाउनु पर्छ। हाल तीन-चार वटा सहरमा केन्द्रित पर्यटनलाई पूर्वदेखि पश्चिमसम्मैका सम्भावनाहरु पहिल्याएर मार्केटिङ गर्न नेपालले सकिरहेको छैन।’- अश्लेषाको बुझाइ छ।
नेपालमा पर्यटक टिकाउने अवस्था छ त?
विगतमा अन्तर्राष्ट्रिय फोरमहरुमा नेपाल भन्ने देश हिमालका लागि प्रख्यात हो यो ट्रेकिङ गरेर घुम्ने देश हो भनेर ब्राण्डिङ गरियो। तर यसरी नेपालको मार्केटिङ गर्दा अन्य धेरै बजार मिस भएको उनलाई महसुस भएको छ।

अश्लेषा नेपालले पर्यटन विकासको दीर्घकालीन खाका बनाएर अघि बढ्नुपर्ने आवश्यकता देख्छिन्। एउटा होटल खुलेर वा केही पर्यटक नेपाल छिरेर मात्र पुग्दैन। उनीहरुले एयरपोर्टदेखि नै राम्रो अनुभव लिन पाउनुपर्यो। सडकबाट आउनेहरुका लागि बोर्डर इमिग्रेसन सेवा सहज हुनुपर्यो। बाटो राम्रो हुनुपर्यो। होटलले राम्रो आतिथ्य सत्कार दिनुपर्यो। राम्रो खाना र स्वच्छ वातावरण पाउनुपर्यो। घुम्न जाने गन्तव्यहरुमा सहजता हुनुपर्यो। भारतबाट झापा आउनेलाई पोखरा वा काठमाडौं पुर्याउन सहज वातावरण खोई? बसाइ लम्ब्याउने पूर्वाधार खोई? अश्लेषा प्रश्न गर्छिन्।
उनी नेपाललाई विगतमा जसरी ब्राण्डिङ गरिएको छ त्यसमा विकल्पका साथ चिनाउनुपर्ने बताउँछिन्। विगतमा अन्तर्राष्ट्रिय फोरमहरुमा नेपाल भन्ने देश हिमालका लागि प्रख्यात हो यो ट्रेकिङ गरेर घुम्ने देश हो भनेर ब्राण्डिङ गरियो। तर यसरी नेपालको मार्केटिङ गर्दा अन्य धेरै बजार मिस भएको उनलाई महसुस भएको छ। अब नेपालमा एडभेन्चर मात्र होइन लामो समय बस्न सकिने प्याकेजहरु दिनुपर्छ। लिजर ट्राभलको मजा लिन सकिन्छ भन्ने विकल्प दिनुपर्ने उनी सुझाउँछिन्।
उनले भनिन्-‘नेपाल आएपछि हिमाल छ ट्रेकिङ गर्नुपर्छ भन्ने किसिमले नै सधैं नेपालको ब्राण्डिङ भएको छ। एडभेन्चर टुरिजम् डेस्टिनेसनका रुपमा ब्राण्डिङ भयो जसले यहाँ ब्यागप्याकर्सको संख्या धेरै भयो। तर अब नेपाल लिजर ट्राभलका लागि पनि हो भनेर बताउनुपर्छ। ट्रेकिङ वा एडभेन्चरका लागि मात्र हो भन्ने अवधारणा बदल्नुपर्छ। हिमाल हेर्न ट्रेकिङ नै गर्नुपर्दैन। लग्जरी स्टेको सुविधासहित माउन्टेन फ्लाइटबाटै हिमाल हेर्न सक्छन् भनेर पनि मार्केटिङ गर्नुपर्यो।’
अश्लेषा आफैंले पनि मेची क्राउनको पेजमा विविध विकल्पहरु राखिदिएकी छन्। बल्क इभेन्टमा केन्द्रित होटलमा तीन सेगमेन्टमा पर्यटकहरुलाई लिजर टाइमको अनुभव लिनेगरि विकल्प दिएको उनले बताइन्।
उनका अनुसार मेची क्राउनले लक्षित वर्गका लागि क्यासिनो ग्याम्बिलङ, कर्पोरेट रिट्रिट र डेस्टिनेसन वेडिङ यी तीनवटै विकल्पहरुलाई ‘वेलनेस’सँग जोडेर सेवा उपलब्ध गराएको छ।
‘सानैदेखि म एकदिन फोर्ब्समा आउँछु भनिरहन्थें’
अश्लेषा आफूलाई मेची क्राउनमा मात्र पनि सीमित राख्न चाहन्नन्। उनीलाई अन्तर्राष्ट्रिय फोरममा नेपालसँग नाम जोडेर चिनिन मन छ। यसका लागि आफू नयाँ क्षेत्र र सम्भावनाहरु खोजिरहेको उनी बताउँछिन्।
हस्पिटालिटीलाई नै निरन्तरता दिने मुड भए पनि अन्य परियोजनामा काम गर्न उनी उत्तिकै उत्साहित छिन्। उनी हाइड्रोपावर परियोजनाहरुमा काम गर्न चाहन्छिन्। उनका बुवा पवित्रकुमार कार्की मेची क्राउनका अध्यक्ष समेत हुन्। पारिवारिक बिजनेसकै रुपमा पोखरामा होटलकै नयाँ प्रोजेक्ट सुरु हुँदैछ, जसलाई उनका दाईले लिड गर्नेछन्। उनी पर्यटनमै आफ्नै केही नौलो प्रोजेक्ट सुरु गर्ने बताउँछिन्। त्यसकालागि नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने मिसनमा अबको केही समय विभिन्न जिल्लाहरुमा पुग्ने उनको तयारी छ। होटल एसोसिएसन नेपाल र एनवाइईएफ काठमाडौं च्याप्टरमा आबद्ध उनी नेपाल उद्योग वाणिज्य महासंघकी जेन्डर फोकल पर्सनका रुपमा पनि काम गरिरहेकी छन्।
प्रभावशाली व्यक्तित्वहरुलाई पछ्याउनु अनि उनीहरुबारे पढ्नुले उनीभित्रको सानैदेखिको लक्ष्यलाई अझ बलियो बनाइदिएको छ।

झापामै खेलकुद पर्यटन प्रवर्द्धनका लागि उनले कार्यक्रम तयार पारिसकेकी छन्। मेची क्राउन नजिकैको खोला किनारमा दुई वटा टेनिस कोर्ट बनाएर अन्तर्राष्ट्रिय टेनिस टुर्नामेन्ट गर्न लागेको उनले जानकारी दिइन्। आगामी डिसेम्बरमा हुने टुर्नामेन्टमा नेपाल र भारतका टेनिस खेलाडीहरु सहभागी गराउने उनको योजना छ।
गत अप्रिलमा उनले बिम्स्टेकको युवा लक्षित फोरमलाई नेपालको प्रतिनिधिका रुपमा सम्बोधन गरेकी थिइन्। त्यस मञ्चसम्मको यात्राले आफूभित्र अन्तर्राष्ट्रिय स्तरमा देश चिनाउने हुटहुटी अझै बढेको उनले बताइन्। नयाँ बिजनेस आइडियामा काम गर्न मन पराउने अश्लेषा भन्छिन्- नेपालमा पर्यटन विकासको कुरा हुँदा मेरो नाम आउने गरी काम गर्नु छ।
उनी नेपालको पर्यटनमा नयाँ पुस्ताकी ‘ट्रेन्डसेटर’ बन्न चाहन्छिन्।
उनी टाइम्स म्यागेजिनमा आउने विश्वका प्रभावशाली व्यक्तिहरुलाई नियमित पढिरहन्छिन्। विश्वमा युवाहरुले कसरी के काम गरिरहेका छन् त्यो फलो गर्छिन्। प्रभावशाली व्यक्तित्वहरुलाई पछ्याउनु अनि उनीहरुबारे पढ्नुले उनीभित्रको सानैदेखिको लक्ष्यलाई अझ बलियो बनाइदिएको छ।
भर्खरै २६ वर्षकी अश्लेषालाई पर्यटन र हस्पिटालिटी क्षेत्रमा जमेर यसरी काम गर्न मन छ जसबाट उनको नाम फोर्ब्सको ‘अण्डर ३०’ प्रभावशाली युवाको सूचीमा आओस्।
‘सानैदेखि म एकदिन फोर्ब्समा आउँछु भनिरहन्थें।’- अश्लेषा आफूले पछ्याएको बाटोप्रति आशावादी हुन्छिन्- ‘म यस्तो दिगो र उत्कृष्ट बिजनेस आइडियाहरु खोजिरहेकी छु जसले मलाई मेरो लक्ष्यसम्म पुर्याउँछ। देशलाई चिनाउने काम नगरी त्यो स्थानमा पुगिँदैन। त्यसैले मलाई त्यहाँसम्म पुग्नका लागि उत्कृष्ट काम गर्ने हुटहुटी छ। मलाई यति मेहनत गर्नु छ कि पक्कै फोर्ब्समा अटाउनेछु।’