घट्न थाल्यो निर्माण सामाग्रीको मूल्य, सिमेन्ट बोरामा ५० र डण्डी केजीमा ५ रुपैयाँसम्म सस्तियो

सरला सुवेदी
२०८२ असार ९ गते ०६:२० | Jun 23, 2025
घट्न थाल्यो निर्माण सामाग्रीको मूल्य, सिमेन्ट बोरामा ५० र डण्डी केजीमा ५ रुपैयाँसम्म सस्तियो

काठमाडौं। वर्षा याम सुरु भएपछि निर्माण सामाग्रीको भाउ घट्न थालेको छ। हरेक वर्ष बर्खा लागेपछि निर्माणका काम सुस्त हुने भएकोले सिमेन्ट, डण्डी, इँटा लगायतको भाउ घट्ने गर्छ।

Tata
GBIME

अहिले सिमेन्टको भाउ घट्न सुरु भइसकेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए।

‘सिमेन्टको भाउ बोरामा ५० रुपैयाँ घटेको छ,’ उनले भने, ‘नयाँ मूल्यअनुसार ओपीसी सिमेन्ट प्रति बोरा ६३० रुपैयाँ देखि ७१० रुपैयाँ छ। पीपीसी ५३० रुपैयाँदेखि ६१० रुपैयाँ छ। यसअघि सिमेन्टको भाउ बढेर प्रतिबोरा ९५० रुपैयाँसम्म पुगेको थियो।’

त्यस्तै, डण्डीको भाउ केजीको ८४ देखि ८५ रुपैयाँमा आइपुगेको उनले जानकारी दिए। गत महिनाभन्दा डण्डीको भाउ केजीमा ५ रुपैयाँसम्म घटेको छ। सिजनमा डण्डीको भाउ बढेर प्रति केजी ९४ रुपैयाँसम्म पुगेको थियो।

साउन लागेपछि निर्माण सामाग्रीको भाउ थप घट्ने सिंहको भनाइ छ। असारमा निर्माणसम्बन्धी केही कामहरू जारी रहने भएकोले भाउ धेरै नघट्ने भन्दै अध्यक्ष सिंहले साउनदेखि असोजसम्म भाउ क्रमिक ओरालो लाग्ने जानकारी दिए।

गत वर्ष साउनमा सिमेन्टको भाउ घटेर प्रति बोरा ४०० रुपैयाँसम्म आइपुगेको थियो। डण्डीको भाउ पनि ७० रुपैयाँसम्म झरेको थियो।

विगतको जस्तो सिमेन्टको भाउ यो वर्ष नघट्ने अध्यक्ष सिंहले बताए। उद्योगीले भाउ नघटाउने मेकानिजम बनाएको उनको भनाइ छ।

‘रेट घटाए पनि बढाए पनि बिक्री हुदैन्,’ उनले भने, ‘उद्योगीले सिजनमा भाउ बढाउने र अफसिजनमा लागतभन्दा कममा बिक्री गर्ने गर्दा योजना तथा उपभोक्ता मारमा परेका छन्।’

सिमेन्ट र डण्डी उत्पादनमा कटौती गर्न लगाएर भाउ बढाउने गरेको उनले दाबी गरे। सबै उद्योगले मागभन्दा कम उत्पादन गरी भाउ बढाउने गरिरहेका छन्।

सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सिमेन्टको भाउ केही घटेको जानकारी दिए। जेठ महिनामा अन्त:शुल्कका कारणले बोरामा २० देखि २५ रुपैयाँ बढेको भन्दै उनले यतिबेला बोरामा १५ रुपैयाँ घटेको बताए

‘सबै ठाउँमा भाउ फरक-फरक पर्छ। पश्चिममा ओपीसीको भाउ बोराको ६ सय रुपैयाँ छ। ढुवानी भाडाले गर्दा उपत्यकामा सिमेन्टको मूल्य त्योभन्दा बढी पर्छ। कम्पनीअनुसार भाउ फरक छ। संघले सिमेन्टको भाउ यतिनै भनेर तोकेको छैन,’ उनले भने।

प्रिमियर स्टिलका निर्देशक सौरभ सारडाले जेठको तुलनामा डण्डीको भाउ केजीमा ४ रुपैयाँभन्दा बढी घटिसकेको बताए।

‘अहिले बजारमा डण्डीको भाउ केजीमा ८१ देखि ८५ रुपैयाँ पर्छ। अब भाउ अझै घट्दै जान्छ। वर्षायामको असारदेखि साउनसमम्म भाउ घट्दै जाने गर्छ। यो वर्ष डण्डीको माग कम हुँदा उत्पादन पनि कम छ। यतिबेला माग कम हुँदै गएकोले भाउ यो भन्दा अझै सस्तो हुनेछ,’ निर्देशक सारडाले जानकारी दिए।

त्यस्तै, इँटाको भाउ भने पहिलेभन्दा खासै नघटेको इँटा उत्पादक संघले जनाएको छ। संघका संस्थापक अध्यक्ष महेन्द्र चित्रकारले हाल इँटाको मूल्य १२ देखि १३ रुपैयाँ रहेको बताए।

यो वर्ष इँटाको बजार राम्रो भएकोले भाउ नघटेको उनको भनाइ छ। गत वर्ष माग कम हुँदा भाउ घटेको भन्दै उनले पछिल्लो समय इँटा उद्योग घट्दै जाँदा उत्पादन कम रहेको र बजारको मागअनुसार आपूर्ति रहेकोले भाउ नघटेको जानकारी दिए।