बजेट विवादमा प्रदेश : कोशीले ल्यायो ३५ अर्ब ८७ करोडको, बागमती र कर्णालीमा लफडा

बिजमाण्डू
२०८२ असार १ गते १७:२४ | Jun 15, 2025
बजेट विवादमा प्रदेश : कोशीले ल्यायो ३५ अर्ब ८७ करोडको, बागमती र कर्णालीमा लफडा

काठमाडौँ। कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोडको बजेट सार्वजनिक गरेको छ।

Tata
GBIME

कोशीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगततर्फ १७ अर्ब १० करोड विनियोजन गरी आइतबार बजेट ल्याएका हुन्। बजेटमा वित्तीय व्यवस्थानतर्फ १० करोड विनियोजन गरिएको छ।

कानुन अनुसार प्रदेशले असार १ गते बजेट ल्याउनुपर्छ। तर, सत्तारुढ दलहरुबीच नै कुरा नमिल्दा केही प्रदेशहरूले तोकिएको समयमा बजेट सार्वजनिक गर्न सकिरहेका छैनन्।

बागमतीमा बजेट सार्वजनिक गर्नका लागि ३ बजे प्रदेश सभा बैठक बोलाइएको थियो। तर, सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटबारे आधारभूत कुरा मिल्न नसकेपछि बैठक साँझ ७ बजेका लागि धकेलिएको छ।

बागमतीमा ६८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी रहेकामा अन्तिम अवस्थामा विभिन्न कार्यक्रम थप गर्दा ७२ अर्ब नाघेको भनिएको छ।

बजेटलाई अन्तिम रुप दिने बेला सत्तारुढ दलबाटै दबाब बढेपछि आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले र अर्थ मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली मोबाइल अफ गरेर मन्त्रालयबाट बाहिरिएका छन्।

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता श्रीकृष्ण आचार्यले बजेट तयार भएको र करका दरमा केही काम बाँकी रहेको संकेत गरे। उनले भने, ‘दलहरुबीच के विषयमा विवाद हो हामीलाई थाहा हुने कुरा भएन। तर, अन्तिम समयमा गर्नुपर्ने केही महत्त्वपूर्ण काम बाँकी रहेकाले उहाँहरू व्यस्त हुनुभएको हो। अब सकियो भन्दा हुन्छ।’

कर्णालीमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको विरोधले गर्दा तोकिएको समयमा बैठक सुरु हुन सकेको छैन। योजना बैंकमा योजना समावेश नगरी बजेट ल्याउन खोजेको भन्दै माओवादी केन्द्रले विरोध गरेको छ।

कर्णाली प्रदेशका मन्त्रीहरु मन्त्रिपरिषद्बाट बजेट स्वीकृत गरेपछि। तस्वीर : रासस

यसरी ल्याउँदा आफूहरू बैठकमा समावेश नहुने सन्देश माओवादी केन्द्रले पठाएपछि बैठक सार्नुपरेको कर्णाली प्रदेशका पर्यटनमन्त्री सुरेश अधिकारीले जानकारी गराए।

कर्णालीमा ३ बजेका लागि प्रदेश सभा बोलाइएको थियो। तर, माओवादीले विरोध गरेपछि बैठक बस्न सकेको छैन। यतिबेला कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ।

४ बजेका लागि तय भएको गण्डकी प्रदेश सभाको बैठक एक घण्टा ढिला सुरु भएको छ। सांसदहरूबाट सिफारिस भएका कार्यक्रममा तलमाथि गरिएको भन्दै माओवादी केन्द्रका सांसदहरूले विरोध गरेपछि बैठक ढिला सुरु भएको हो।

४:१५ बजेका लागि तय भएको मधेश प्रदेशको बैठक पनि निर्धारित समयमा सुरु भएको छैन।

सुदूरपश्चिम प्रदेशले भने यसअघि नै ५ बजेका लागि बैठक बोलाएको थियो। बैठकमा सांसद विकास कोषसहित करिब ३३ अर्बको बजेट पेस गर्ने तयारी छ।

लुम्बिनी प्रदेश सभा बैठक बजेटसार्वजनिक गर्नका लागि अपराह्न ५ बजेका लागि तय गरिएकामा अहिलेसम्म सुर भएको छैन।