राजस्व चुहावटमा साढे ६८ करोडको मुद्दा, अस्ट्रेलियामा सर्भर राखेर भ्याट र आयकर छली

बिजमाण्डू
२०८२ असार १ गते १९:४८ | Jun 15, 2025
राजस्व चुहावटमा साढे ६८ करोडको मुद्दा, अस्ट्रेलियामा सर्भर राखेर भ्याट र आयकर छली

काठमाडौं। राजस्व चुहावटमा करिब साढे ६८ करोड रुपैयाँ बिगो तथा सोही बराबर जरिवाना माग गरी मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभाग विभागले ६ जनाविरुद्ध १ अर्ब ३६ करोड ८८ लाख ११ हजार रुपैयाँ बिगो र जरिवाना माग गरी आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

Tata
GBIME

काठमाडौंको तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिले बिक्री आय लुकाई ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर र आयकर छली गरेको भन्दै मुद्दा दायर गरेको हो।

विभागले कम्पनीका सञ्चालकहरु सुदिप आचार्य, जीवन ज्ञवाली, मनिषप्रसाद आचार्य र मिठु पौडेल, सञ्चालकसम्त रहेका सीइओ गंगाबहादुर थापा र उप-कार्यकारी निर्देशक संगम पौडेलविरुद्ध राजस्व चुहावटको कसुरमा मुद्दा दायर गरेको छ।

सुदिप रुपन्देहीको तिलोत्तमा, जीवन गुल्मीको रुरु, गंगाबहादुर झापा, मनिष मध्यपुर ठिमी, मिठु पाल्पाको तानसेन र संगम सर्लाहीको लालबन्दीका हुन्।

सुदिप, जीवन, गंगाबहादुर, मनिष र मिठु पौडेलविरुद्ध ६८ करोड ४४ लाख ५ हजार रुपैयाँ बिगो कायम गरी बिगो तथा बिगोको शतप्रतिशत जरिवाना र ब्याज समेत असुल गर्न तथा कैद सजाय माग गरिएको छ। संगमको हकमा अरु प्रतिवादीको आधा सजाय माग गरिएको छ।

उनीहरुले आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ को फागुन मसान्तसम्ममा सेवा बिक्री लुकाई कारोबार गरेको विभागको दाबी छ।

प्रतिवादीमध्ये गंगाबहादुर, मनिष र संगम थुनामा छन्।

यसरी भयो अनुसन्धान

नेपाल क्यान मुभ प्रालिले राजस्व चुहावट गरेको गोप्य सूचना विभागमा पुग्यो। त्यसपछि विभागले कारोबारस्थलमा आकस्मिक निरीक्षण गर्‍यो। निरीक्षणका क्रममा विभागका कर्मचारीले कम्पनीले आफ्नो व्यावसायिक कारोबारका लागि प्रयोगमा ल्याएको अनलाइन प्रणाली नियन्त्रणमा लिए।

अनुसन्धानबाट कम्पनीको एनसीएम पोर्टलको सर्भर अष्ट्रेलियामा राखेको खुल्यो।

प्रारम्भिक अनुसन्धानमा राजस्व छलेको देखिएपछि विभागका महानिर्देशकले अनुसन्धान अधिकृत तोके। अनुसन्धान अधिकृतले कम्पनीका सच्चालक, सीइओ र उपकार्यकारी निर्देशकसँग बयान लिए।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ को फागुन महिनासम्मको कारोबार खुल्ने ट्रायल ब्यालेन्स लगायत महत्वपूर्ण कागजात तथा प्रमाण बरामद गरी विभागले अनुसन्धान गर्‍यो। अनुसन्धान अधिकृतले कम्पनीको एनसीएम पोर्टलको युजर आइडी र पासवर्ड लिएर २०७६/७७ देखि २०८१/८२ को फागुन महिनासम्मको दैनिक विक्री विवरण डाउनलोड गरे।

कार्गो तथा कुरियर व्यवसाय गर्ने सुदिप, जीवन, गंगाबहादुर, मनिष र मिठु पौडेलले व्यावसायिक कारोबार गर्न पोर्टल २०७६/७७ देखि नै सञ्चालनमा ल्याए। उनीहरुले कर प्रशासनको निगरानीलाई छल्न पोर्टलको सर्भर अष्ट्रेलियामा राखे।

कम्पनीमा सुदिपको सबैभन्दा धेरै ५५.३३ प्रतिशत सेयर छ। विभागले पटक पटक ताकेता गर्दा पनि सुदिप र १६ प्रतिशत सेयरधनी जीवन उपस्थित भएनन्। फरार भए।

कम्पनीले सेवा बिक्रीको ठूलो कारोबार आन्तरिक राजस्व विभागमा पेस गरेको भ्याट र आय विवरणमा नदेखाई बिक्री आय लुकाएको अनुसन्धानमा देखियो।

पोर्टलमार्फत भएको सेवा बिक्रीलाई तोडमोड गरी म्यानुअल तवरले बिलिङ गरी वास्तविक बिक्री कारोबार लुकाएर भ्याटतर्फ २६ करोड ७ लाख ५० हजार र आयकरतर्फ ४२ करोड ३६ लाख ५५ हजार रुपैयाँ चुहावट गरेको खुल्यो। ठूलो परिमाणमा भ्याट र आयकर छली गरेको देखिएपछि विभागले मुद्दा दायर गर्‍यो।