भिजिट भिसामा छानबिन गर्न सत्तापक्ष तयार भएको प्रचण्डको दाबी, सदनमा अवरोध भने कायमै

बिजमाण्डू
२०८२ जेठ २९ गते १९:०० | Jun 12, 2025
भिजिट भिसामा छानबिन गर्न सत्तापक्ष तयार भएको प्रचण्डको दाबी, सदनमा अवरोध भने कायमै

काठमाडौं। प्रतिनिधि सभाको बैठक शुक्रबार अपराह्न १ बजे बस्ने गरी स्थगित भएको छ।

Tata
GBIME

विपक्षी दलहरुले भिजिट भिसाका नाममा त्रिभुवन विमानस्थलको अध्यागमनमा भएको अवैध असुली छानबिनका लागि सरकार उच्चस्तरीय समिति गठनका लागि तयार नभएको भन्दै अवरोध हटाउन नमानेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

बैठकअघि अघिल्ला दिनजस्तै बिहीबार दिनभर पनि दलहरुले संसद भवनमा सहमतिको प्रयास गरेका थिए।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने छानबिनका लागि सत्ता पक्ष तयार भएको तर त्यसका लागि समय मागेकाले सहमति हुन नसकेको बताए।

‘विमानस्थलको अध्यागमनमा भिजिट भिसाका नाममा हुँदै आएको अवैध असुलीबारे छानबिनका लागि संयन्त्र बनाउनुपर्छ भन्नेमा सत्ता पक्ष पनि तयार भएको छ। तर, सत्ता पक्षमा साथीहरुले समय मागेकाले सहमति हुन सकेन,’ संसद् भवनबाट बाहिरिने क्रममा प्रचण्डले भने।

माओवादीसँगको छलफलमा सत्तारुढ दलले भिजिट भिसाका नाममा भएको अवैध असुलीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सरकारले आवश्यक सहजीकरण गर्ने र अध्यागमनमा देखिएका समस्या समाधान गर्न आवश्यक अनुसन्धान गरी नीतिगत, कानुनी र संरचनागत प्रश्नमा उपयुक्त व्यवस्थाका लागि ठोस पहल गर्ने दुई बुँदे सहमति गर्न तयार रहेको बताएका छन्।

यसमा सहमतिका लागि विपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समय मागेको छ।