संसद् अवरोधसँगै प्रचण्डले सुधारे देउवासँगको सम्बन्ध, एमालेबिनै कांग्रेस-माओवादीबीच पटक-पटक छलफल

प्रकाश भण्डारी
२०८२ जेठ २५ गते २१:२४ | Jun 8, 2025
संसद् अवरोधसँगै प्रचण्डले सुधारे देउवासँगको सम्बन्ध, एमालेबिनै कांग्रेस-माओवादीबीच पटक-पटक छलफल
फाइल फोटो


काठमाडौं। गृहमन्त्री रमेश लेखकको राजीनामा मागलाई  नेकपा (माओवादी केन्द्र) ले नेपाली कांग्रेससँग सम्बन्ध सुधारका रुपमा उपयोग गरेको छ। भिजिट भिसा प्रकरणमा जेठ १३ गतेदेखि लेखकको राजीनामा र छानबिन समिति माग गरेको माओवादी केन्द्र जेठ १५ गतेको बजेटअघि नै कांग्रेससँग संवादमा जुटिसकेको थियो। 

Tata
GBIME

जेठ १४ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठकलाई लेखकको राजीनामाको विषय टुंगोमा पुर्‍याउन नसकिने ब्रिफिङ गरेका थिए भने लेखकले संसदमा बोल्न दिनुपर्ने मत राखे।

त्यसपछि जेठ २० मा बोलाइएको बैठक अघि नै माओवादी लेखकको राजीनामाबाट प्रष्ट रुपमा पछि हटेको थियो। माओवादी केन्द्रले विपक्षमै रहेको नेकपा (एकीकृत समाजवादी) लाई पनि राजीनामाको मागबाट पछि हट्न सहमत गराइसेको छ भने माओवादी केन्द्रसँगै उभ्याउन सफल भएको छ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले त्यति बेलादेखि नै लेखकलाई संसदमा बोल्न दिने विषय विपक्षी मोर्चामा राखेका थिए। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेखकलाई बोल्न दिन नहुने मत विपक्षी दलका बैठकहरुमा राखिरहेको छ। माओवादी केन्द्र र एकीकृत समाजवादी लेखकका विषयमा एक कदम पछि हटेर संसद्को अवरोध हटाउन नै तयार भइसकेका छन्।

रास्वपा कडा रुपमा प्रस्तुत भइरहेको भए पनि लेखकको राजीनामा मागलाई प्रचण्डले शेरबहादुर देउवासँग सम्बन्ध सुधारका रुपमा लिए। प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलिरे कांग्रेससँग समीकरण टुटाएपछि प्रचण्ड र देउवाको सम्बन्ध बिग्रिएको थियो। त्यसपछि देउवा-प्रचण्डको सम्बन्ध सामान्य औपचारिकतामा मात्रै सीमित थियो। तर पछिल्लो केही दिनयता दुई नेताको सम्बन्ध हार्दिकतामा बदलिएको छ। 

‘हिजै प्रचण्डले हाम्रो सभापतिसँग भेट्नुभएको छ। त्यसअघि उहाँहरुबीच फोनमा कुराकानी भए पनि यसरी कुराकानी भएको छैन,’ कांग्रेसका महामन्त्री गगन थापाले भने। कांग्रेस नेताहरुका अनुसार राष्ट्र बैंकको गर्भनर नियुक्तिमा विवाद सुरु भएदेखि नै प्रचण्डले देउवासँग सम्बन्ध सुधारका लागि पहल गरिरहेका थिए। तर, देउवाले ओलीसँगको समीकरण तल माथि गर्न नहुने अडान सुरुमा राखेका थिए। पछिल्ला दिनमा भने देउवा पनि ओलीसँग संशकित बन्न थालेको कांग्रेस नेताहरु बताउँछन्। 

लेखकको राजीनामा माग र छानबिन समिति बनाउने विषयले संसद् अवरोध भएपछि संसद खुलाउन कांग्रेस स्वंयमले माओवादी केन्द्रसँग पटक-पटक संवाद थालेको हो। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निरन्तर प्रचण्डसँग संवादमा छन्। उनले देउवाको दुतको रुपमा प्रचण्डसँग कुराकानी गरिरहेको माओवादी केन्द्रका नेताहरु बताउँछन्।

‘प्रचण्ड सत्तारुढ दलकै नेताको रुपमा देउवाले माधव नेपाललाई अख्तियारले मुद्दा चलाएकोबारे के भएको भनेर सोधेपछि सम्बन्ध सुधारमा बढी आशावादी हुनुहुन्छ,’ माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने। माओवादी केन्द्रबाट कांग्रेससँग संवादका लागि प्रचण्डले आफ्नो विश्वास पात्रको रुपमा दुईजना उपमहासचिव वर्षमान पुन र शक्ति बस्नेतलाई अघि सारेका छन्।

पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले नेपाललाई भ्रष्टाचारको अभियोगसहित मुद्दा चलाएपछि देउवाले फोन गरेर प्रचण्डलाई सोधेका थिए। त्यसपछि माओवादी झनै उत्साहित भएको छ। प्रचण्डले देउवालाई थाहै नदिइ नेपालमाथि भ्रष्टाचारको मुद्दा चलाइएको भन्दै सत्ता समीकरणमा विभाजन आउनसक्ने आकलन गरेका हुन्।

उक्त संवादपछि प्रचण्डले पनि देउवा इमान्दार र बोलीको पक्का भन्दै देउवाको प्रशंसा गरेका थिए। त्यही दिन देउवा-प्रचण्डले आफ्ना विश्वास पात्रहरुमार्फत नेपालमाथि मुद्दा दर्ताका विषयमा संवाद गरेका थिए। उनीहरुबीच हार्दिकता बढ्दै गएपछि शनिवार मात्रै दुई नेताबीच लामो समयपछि एक्ला एक्लै कुराकानी भएको थियो। 

लेखकको राजीनामा माग र छानबिन समितिबाट मागेर संसद अवरोध कायम राखेपछि त्यसको फाइदा ओलीलाई मात्रै हुने प्रचण्डको बुझाइ छ। प्रचण्डले एमालेका नेताहरुलाई सहभागी नै नगराएर शुक्रबार तथा आइतबार पटक-पटक कांग्रेसका नेताहरुसँग संसद भवनस्थित आफ्नै कार्यकक्षमा छलफल गरेका थिए।

आइतबार कांग्रेसका खड्का, थापा, ज्ञानेन्द्रबहादुर कार्कीलगायतसँग सुरुमा प्रचण्ड, माओवादी केन्द्रका पुन, बस्नेत तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी भएर संसदको शंकर हलमा छलफल गरेका थिए।

उक्त छलफलपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले छानबिन समिति र छानबिन आयोग नबाएरै पनि तत्कालका लागि भद्र सहमति गरेर अघि बढ्न सकिने भन्दै कांग्रेससँग वार्ता गरे। ‘हामीलाई पछि सम्म पनि यो विषयमा बोलिरहनका लागि केही त चाहियो। एउटा जेन्टलमेन्ट एग्रिमेन्टजस्तो बनाउन सकिन्छ भन्ने हाम्रो कुरा छ,’ एकीकृत समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भने।

भिजिट भिसा प्रकरणमा अख्तियारको अनुसन्धान सकिएपछि छानबिनका लागि समिति बनाउने उनीहरुबीच सहमति भएको भए पनि निचोडमा भने पुगेन।  

एमालेसहित सत्ता र प्रतिपक्षी दलका नेताहरुबीच सहमतिको मस्यौदामै छलफल भएको थियो। तर, समिति बनाउनै पर्ने र त्यसका लागि ठोस खाका चाहिने रास्वपााले अडान राखेपछि शुक्रबार सहमति हुन सकेन। समितिको कार्यदेशसहित सहमति हुनुपर्ने माग रास्वपाको छ। तर लेखकमाथि नै केन्द्रित गरेर छानबिन समिति बनाउन कांग्रेस तयार छैन। 

आइतबारको छलफलपछि रास्वपाले सहमतिका लागि आफूलाई थप समय मागेको थियो। सहमति नभए पनि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अघि बढाउन बैठक सुरु भएको जानकारी गराएका थिए। 

विपक्षीले उठेर अवरोध जारी राखेपछि सोमबार २ बजेसम्मका लागि बैठक स्थगित भएको छ। आइतबारको बैठकमा रास्वपा र एमालेका सांसदहरुले मात्रै चर्कोगरी पक्ष/विपक्षमा आरोप प्रत्यारोप गरेका थिए। माओवादी केन्द्र रास्वपासँगै उभिए पनि कुनै पनि सांसदले सभामुखसँगको सवाल जवाफमा उत्रिएनन्। कांग्रेसबाट सांसद रामकृष्ण यादव तथा एमालेबाट दामोदर पौडेल बैरागीले संसदमा जनताका विषय राख्न नपाएको, बजेटमाथिको छलफल अघि नबढेको भन्दै विपक्षीको प्रतिवाद गरेका थिए। रास्वपाबाट गणेश पराजुली, सुमना श्रेष्ठलगायतका सांसदले सभामुखसँग विपक्षीको माग पुरा हुनुपर्ने भन्दै सवाल जवाफ गरे।

एमालेले लेखकको राजीनामा र छानबिनको मागलाई पूरा गर्न नसकिने अडान लिने गरेको छ। तर माओवादीले भने भिजिट भिसा प्रकरण मार्फत कांग्रेससँगकको संवादलाई बाक्लो बनाएर एमालेलाई सशंकित बनाएको छ।

प्रचण्डले शुक्रवार पत्रकारहरुसँग कुराकानी गर्दै एमाले र रास्वपा राजीनामा तथा छानबिन गर्न हुने/नहुनेमा बलियो अडानतर्फ लागे पनि माओवादी-कांग्रेस भने लचिलो बनेको बताएका थिए।

‘छानबिन समिति र राजीनामा त हुँदै हुन्न, हुन्न भन्ने र जसरी पनि गर्नुपर्छ नभए संसद् खुल्दैन भन्ने दुवै खालका प्रवृत्ति दुवैतिर देखिए। अहिले त हामी सहमतिमै छौं,’ उनले भने।

आइतबारको छलफलपछि प्रचण्डले सहमतिको भाषामा मात्रै टुंगोमा पुग्न नसकिएको बताए। एमाले भने उनीहरुबीच सहमति हुने स्थितिमा आफू बाधक नबन्ने पक्षमा छ। ‘हामी जिम्मेवार पनि हुनुपर्‍यो। सत्तामा भएर हुँदै हुँदैन भनेर पनि हामीले भन्न मिल्दैन,’ एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने।