सानो पानी पर्दानै राजमार्ग ठप्प, यो मनसुनमा कुन कुन सडकखण्डमा पर्नेछ ठूलो असर ?

शुक्र गिरी
२०८२ जेठ २५ गते ०६:४४ | Jun 8, 2025
सानो पानी पर्दानै राजमार्ग ठप्प, यो मनसुनमा कुन कुन सडकखण्डमा पर्नेछ ठूलो असर ?


काठमाडौं। नेपालमा यसपटक छिट्टै मनसुन भित्रियो। मनसुन भित्रिनु अघि नै प्रि-मनसुनमा धेरै स्थानमा भारी वर्षा भयो। जसको असर सडक पूर्वाधारमा पर्‍यो। मनसुन सक्रिय भएपछि ती सडक पूर्वाधारमा नै पहिलो संकट उत्पन्न भएको छ। सामान्य वर्षा हुँदा नै सडक अवरुद्ध हुने अवस्था छ।

Tata
GBIME

गत वर्षको भारी वर्षाका कारण बिग्रिएका सडक अहिलेसम्म बन्न सकेको छैन। जसकारण वर्षा हुँदा वैकल्पिक रुपमा बनाइएको डाइभर्सन नै बगाएको छ। अहिले नारायणगढ- बुटवल, अरनिको राजमार्गमा पर्ने सूर्यविनायक- धुलिखेल, हेटौंडा जाने कान्ति लोकपथ, पूर्वपश्चिम राजमार्ग र वीपी राजमार्गका केही खण्डहरु सानो पानी आउँदा नै पनि ठप्प हुने गरेका छन्।

वर्षा हुँदा राजमार्गका विभिन्न खण्डमा एकतर्फी रुपमा मात्रै संचालन हुने गर्छ। केही सडक त दुईतर्फी नै बन्दा हुँदा यात्रु मारमा पर्ने गर्छन्। वर्षा पछिको समस्या त छदैँछ, तर निर्माणको नाममा अहिले हरेक राजमार्ग बिग्रिएका छन्। त्यसकारण प्रि-मनसुन र मनसुनमा सडक थप बिग्रिने गर्छ।

अहिले सूर्यविनायक-धुलिखेल सडक, नारायणगढ-बुटवलको दाउन्ने सडक, वीपी राजमार्गको कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा, नागढुंगा मुग्लिनको केही स्थान र अन्य राजमार्गमा वर्षा र निर्माणका कारण सडक अवरोध हुने गरेका छन्।

सडक विभाग मनुसन थप सक्रिय हुने अवस्थालाई मध्यनजर गर्दै काम गरिरहेको दाबी गरिरहेकाे छ। विशेष गरेर वीपी राजमार्गलाई प्राथमिकतामा राखेर काम भइरहेको छ। तर, पोहोर जस्तै वर्षा भयो भने अहिले बनाइएका रणनीतिहरु काम नलाग्ने जानकारहरु बताउँछन्। त्यहाँमात्र होइन, धुलिखेल-खावा खण्डमा पनि अहिले समस्या छ। सूर्यविनायक-धुलिखेलको सागामा स्लोपहरु भत्किने क्रम जारी छ। यस्तै नारायणगढ-बुटवल सडकको दाउन्ने लगायत चोरमारा र बिनय खोलामा समस्या छ। महाकाली पुलमा पनि समस्या हुँदा धेरै समय सवारी संचालन अवरुद्ध भएको थियो।

सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर केसी आफूहरुले सडक मर्मत तथा सम्भार गर्न ८० प्रतिशत बजेट निकासा गरिसकेको बताउँछन्। तर, बजेट निकासा गरे अनुसार काम भने नभएको उनको भनाइ छ।

‘हामीले बजेट पुग्ने दिएका छौं। सडक विभाग र डिभिजनहरुले काम गर्ने हो। पटक पटक ताकेता र परिपत्र गरिरहेका छौं। तर समयमा काम हुने गरेको छैन। जसले गर्दा यो वर्षामा पनि समस्या हुने देखिन्छ,’ उनले भने।

वीपी राजमार्गमा रहेको सिन्धुली र काभ्रे खण्डमा गत असोजमा आएको बाढीले सडक नै बगाएपछि अहिले सानो पानी आउँदा पनि सडक बन्द वा एकतर्फी मात्रै संचालन हुने गरेको छ। अबको मनसुनमा वर्षामा पानी यहाँको सडकमा थप क्षति पुग्ने सम्भावना रहेको यातायात व्यवसायी बताउँछन्।

त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुंगा सडक खण्डको सुरुङमार्गमा खसेको लेदोसहितको पहिरोमा फसेको स्कार्पियो जिप । तस्बिर : शंकर श्रेष्ठ/रासस

‘अहिले बाटो गाडी लिएर हिँड्न गाह्रो छ। वर्षाको बेलामा यही हालतमा सडक भइराख्ने हो भने उपत्यका आउने सबै सडक धेरै जोखिपूर्ण हुनेछन्,’ नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले भने, ‘सानो पानीमा पनि हाम्रा गाडीहरु विभिन्न निर्माणाधिन राजमार्गमा फसेर विजोग भएका छन्।’  

सडक विभागका एक इन्जिनियरका अनुसार सरकारले तिब्र रुपमा निर्माणाधिन राजमार्गहरु निर्माणमा जोड नदिए अब मनसुन सक्रिया हुने बित्तिकै धेरै सडक पहिरो र बाढीका कारण बन्द हुने अवस्था छ।

‘वर्षामा निर्माणाधिन सडक मात्रै बिग्रिदैन। अन्य सडकहरु पनि बाढीले बगाउने र पहिरो आउने हुन्छ,’ ती इन्जिनियरले भने, ‘राजधानी छिर्ने सबै सडक अहिले निर्माणाधिन छन्। त्यसैले ती सडकमा थोरै पानीले पनि समस्या ल्याउन सक्छ। सरकारले गत वर्ष बाढीले भत्काएको सडकलाई मर्मत गर्न पनि ठेक्का भर्खर लगाएको अवस्था छ।’

सडक निर्माणमा कार्यतालिका तोकेर फटाफट काम गर्नुपर्नेमा ती इन्जिनयर बताउँछन्। त्यसपछि मात्रै वर्षाको समयमा पनि सडक संचालनमा अवरोध कम हुने उनको मत छ। तर, अहिले केही स्थानमा चाहेर पनि सडक बनाइहाल्ने अवस्था नरहेको पनि उनी बताउँछन्।

‘वीपी राजमार्ग, कान्ति लोकपथ र दाउन्ने तथा धुलिखेलमा यो वर्षासम्म चाहेर पनि सडक राम्रो बनाउन सकिँदैन,’ उनले भने।

के भन्छ सडक विभाग ?

सानो वर्षामा पनि सडक अवरुद्ध भइरहँदा सडक विभागले भने असार साउनमा पनि गाडी संचालन गर्ने गरि काम भइरहेको जनाएको छ। विभागले निर्माणाधिन सडकका निर्माण व्यवसायीहरुलाई जसरी पनि वर्षा अगाडि नै सडक ग्राबेल गरेर गाडी संचालनमा समस्या आउन नदिन निर्देशन दिएको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैशी भन्छन्, ‘असार र साउनको झरीमा पनि सहजै गाडी गुड्ने सडक बनाउन हामी दिनरात खटिरहेका छौं। सडक विभागले यो वर्षायाममा यात्रुहरुले भोग्नुपर्ने सास्तीलाई कम गर्न विशेष योजनाका साथ काम गरिरहेको छ,’ उनले भने, ‘पहिरोको जोखिम कम गर्न ठाउँठाउँमा पर्खाल लगाउने, नाली व्यवस्थापन गर्ने र बिग्रेका सडक तत्काल मर्मत गर्ने कामलाई तीव्रता दिएका छौं। अबको वर्षामा यात्रुहरुले सहज यात्रा गर्न पाउने वातावरण बन्ने छ, हामी यसका लागि प्रतिबद्ध छौं।’

विपी राजमार्गसँगै अन्य सडकहरु बनाउन ठेक्का लगाएर काम भइरहेको जैशीको भनाइ छ।

‘हामीले गत वर्ष असोजमा बाढीले धवस्त बनाएका सडकहरु मर्मत गर्न सबै ठाउँमा ठेक्का लगाइसकेका छौं,’ उनले भने, ‘ठेक्का पाउने निर्माण व्यवसायीहरुले असार अगावै सडक मर्मत अर्थात वर्षामा पनि सवारी संचालन गर्ने गरि सडक निर्माणको काम गरिरहेका छन्।’

यस्तै, नागढुंगा- मुग्लिन सडकमा पनि समस्या हुन नदिने जैशी बताउँछन्। यहाँ वैकल्पिक बाटोहरु पनि भएकाले वीपी राजमार्गको जस्तो धेरै समस्या नहुने उनको जिकिर छ।

यसैगरी, पूर्वपश्चिम राजमार्गमा पर्ने नारायणगढ- बुटवल सडक आयोजना हेरिरहेका एसियाली विकास बैंक(एडीबी) आयोजना निर्देशनालयका निर्देशक चुडाँराज ढकालले पनि निर्माण व्यवसायीलाई असार अगाडि नै दाउन्ने खण्डमा कटिङ सकेर ग्राभेल गर्न निर्देशन दिएको बताए।

‘हामीले कटिङ सकाएर ग्राभेलसम्म भएपनि गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छौं,’ ढकालले भने, ‘जसरी भए पनि हामी उक्त क्षेत्रमा वर्षामा पनि गाडी संचालन गराउने तयारीमा छौं। अहिले कटिङ गर्ने काम नसकिएकाले अन्य काम गर्न नपाउँदा यस्तो अवस्था सिर्जना भएको हो।’