
काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)को व्यवस्थापन आफ्नो अक्षमता ढापछोपका लागि सरकारलाई नै ढाँट्ने तहमा उत्रिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते संसद् बैठकमार्फत सरकारी संस्थानमध्येमा एनएसीले सबैभन्दा धेरै नोक्सानी बेहोरेको तथ्यांक सार्वजनिक गरेपछि एनएसीका अध्यक्ष युवराज अधिकारी आफ्नो अक्षमता लुकाउनका लागि ढाँट्ने तहमा उत्रिएका हुन्।
४५ वटा सार्वजनिक संस्थानमध्ये आर्थिक वर्ष २०८०/८१ मा एक तिहाइ अर्थात १५ वटा घाटामा गए। घाटा धेरै बेहोर्नेमा एनएसी रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको पहेंलो किताबमा उल्लेख छ। एनएसीले एकै वर्षमा १ अर्ब ४ करोड ८० लाख रुपैयाँ नोक्सानी बेहोर्यो।
अर्थमन्त्रीले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामार्फत सार्वजनिक गरेको तथ्यांकले आफ्नो थप आलोचना भएपछि त्यसलाई सहन नसकेर अधिकारी जथाभावी वक्तव्यबाजीमा उत्रिएका छन्।
आफ्नो आलोचना भएपछि अधिकारीले जेठ १९ गते एनएसीका प्रवक्ता मनोज कुमार साह र सुवास डाँगीलाई प्रेस विज्ञप्ति निकाल्न लगाए। १३ बुँदे विज्ञप्तिमा अधिकारीले एनएसीले नोक्सानी बेहोर्ने अवस्था आउनुमा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई कारण देखाए। ती दुई विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दा पूर्णरुपमा घाटा भएको विज्ञप्तिमा उल्लेख छ।
जबकि गत आर्थिक वर्ष ती दुई विमानस्थलमा एनएसीले ग्राउण्ड ह्याण्डलिङ सेवा दिनुपरेकै थिएन। गौतम बुद्ध विमानस्थलमा यो आर्थिक वर्षको कात्तिक अन्तिम साताबाट केही महिना मात्र अन्तर्राष्ट्रिय उडान भएको हो। त्यहाँ तीन महिना अगाडि नै अन्तर्राष्ट्रिय उडान बन्द भइसकेको छ। पोखरामा त नियमित उडान हुन थालेको धेरै भएकै छैन।
‘निगम नोक्सानीमा जानुमा अन्तर्राष्ट्रिय उडान नै नभएका बेला दुई विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खर्चलाई मुख्य कारण देखाइनु सरासर ढाँट्ने काम हो। अध्यक्षज्यू कमजोरी सुधार्ने भन्दा पनि अब आफ्नो अक्षमता लुकाउन जे सुकै गर्ने तहमा उत्रिनुभएको छ,’ एनएसीका एक कर्मचारीले भने।
एनएसीले पोखरा र भैरहवामा ग्राउण्ड ह्याण्डलिङ सेवाका लागि ४० जना कर्मचारी करारमा राखेको छ। ती कर्मचारी चालक कुचिकार लगायत हुन्। बाँकी १४ जना स्थायी कर्मचारी हुन्।
यस्तै दुवै विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङका त्रिभुवन विमानस्थलकै केही उपकरण लगिएको छ। दुवै विमानस्थलमा जहाज पार्किङ क्षेत्र नजिकै भएका कारण यात्रुलाई जहाजसम्म पुर्याउन र टर्मिनल भवनसम्म ल्याउनका लागि र्याम्प बस राखिएको छैन।
‘कि अध्यक्षज्यूले करारमा राखिएका ४० कर्मचारीको तलबमा नै एक अर्ब खर्च भयो भन्नुपर्यो, होइन भने जहाज राम्रोसँग चलाउन नसकेकाले नोक्सानी भएको कुरा स्वीकार गर्नुपर्यो। जहाज बिग्रिएपछि बनाउन लामो समय लगाउने, बनाउन जथाभावी खर्च गर्ने लगायत विकृतिले संस्था संकटमा परेको हो,’ एनएसीका अर्का कर्मचारीले भने।

अन्तर्राष्ट्रिय उडानका लागि एनएसीसँग दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज छन्। यस्तै आन्तरिक उडानमा त एनएसीको उपस्थिति छैन भने पनि हुन्छ। दुईवटा ट्वीनअटर जहाज रहेकामा चल्ने र ग्राउण्डेड हुने ठेगान छैन। अन्तर्राष्ट्रिय उडानमा पनि एनएसीको लापर्बाही छ। गत आर्थिक वर्ष एनएसीका जहाज पालैपालो लामो समय ग्राउण्डेड भएका थिए।
‘हामीले घाटा बेहोर्नुको मुख्य कारण भनेकै जहाज समयमै मर्मत सम्भार नगरी लामो अवधिसम्म ग्राउण्डेड गर्नु र मर्मतमा अनावश्यक खर्च गर्नु हो। यसले गर्दा धेरै गन्तव्यको उडान प्रभावित हुन्छ। अनि कसरी मुनाफा आर्जन हुन्छ?,’ एनएसीका अर्का कर्मचारीले भने, ‘संस्थाभित्रको खरिदमा पारदर्शिता छैन।’
एक वर्षअघि पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले नै जहाज मर्मतका लागि अन्तिम समयमा आफूले चाहेको कम्पनी छान्ने गरेको र यसमा आर्थिक चलखेलको सम्भावना रहेको प्रतिवेदन बुझाएको थियो।
अधिकारीले अहिले प्रेस विज्ञप्तिमा जहाज मर्मत सम्भारमा ढिलाइका विषयमा नायब महाप्रबन्धक र निर्देशकको नेतृत्वमा अलग अलग समिति गठन गरी छानबिन गरिरहेको भनेर आँखामा छारो हाल्ने प्रयास गरेका छन्।
‘मन्त्रालयले गठन गरेको समितिले यसमा अधिकारीमाथि औंला तेर्स्याएको छ। अध्यक्षले बनाएको भनिएका समितिले उनीमाथि दोष देखाउने हिम्मत गर्ने कुरा हुँदैन। यो त आँखामा छारो हाल्ने काम मात्र हो,’ एनएसीका ती कर्मचारीले भने, ‘छानबिन केही भएको छैन। जहाज मर्मत गरेर फिर्ता भएकै ९ महिना भइसक्यो। अध्यक्षले मन्त्रीदेखि संसदीय समितिसम्मलाई ढाँट्ने र अलमलमा पार्ने गरेरै कार्यकाल बिताउन लागे।’
अधिकारीको चार वर्षे कार्यकाल सकिन अब चार महिना बाँकी छ। उनले डेढ वर्षअघि एनएसीको आम्दानी उल्लेख्यरुपमा बढेको तथ्यांक संसदीय समितिमा पेस गर्ने क्रममा कोभिडका बेला जहाज नचलेर कमाइ ठप्प भएको वर्षसँग तुलना गरेका थिए।
एनएसीले अहिले ४ वटा जहाजमार्फत ८ मुलुकका १० वटा गन्तव्यमा नियमित व्यावसायिक उडान गर्दै आएको छ। सत्य कुरा के हो भने एनएसीले वाइडबडी जहाजबाट मुनाफा कमाउन सकेकै छैन।
दुबईमा प्रति उडान अढाइ सय यात्रुको माग रहेको अवस्थामा न्यारोबडी जहाज उडान गर्ने एनएसीले लङ हल रुट नारितामा साताको दुईवटा मात्र उडान गर्छ।
भारतका मुम्बइ र बैंगलोरमा उडान घटाएको एनएसीले दुबईमा साताको सातवटा उडान अहिले ४ वटामा झारेको छ। मलेसिया, कतार र हङकङतर्फ पनि उडान घटाइएको छ।
एमआरओ कम्पनी आईएआईले सम्झौता अनुसार इन्जिन मर्मत नगरेर घाटा बेहोर्नुपरेको विषयमा क्षतिपूर्तिका लागि पत्राचार गरेको भनिएको छ। जबकि आईएआईले सम्झौता अनुसार काम नगर्दा पनि त्यो कम्पनीमा जहाज मर्मतका लागि पठाएर करिब चार महिनासम्म जहाज ग्राउण्डेड गराउने व्यक्ति अध्यक्ष अधिकारी नै हुन्।
उनै अधिकारीले व्यवस्थापकीय जिम्मेवारीमा पास हुन नसकेको भनेर आलोचना गर्ने पूर्वमहाप्रबन्धक केबी लिम्बु र डिमप्रकाश पौडेलमाथि विषवमन गरेका छन्। उनले पौडेलमाथि एनएसीलाई कौडीको भाउमा बेच्ने प्रपञ्च सफल नभएपछि आलोचनामा उत्रिएको आरोप लगाएका छन्।