
काठमाडौं। कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी दल हुन्। एउटा सत्तामा पुग्नसाथ अर्को उछितो काढ्न उत्रिहाल्ने दुई दल सत्ता सहयात्रा गरेको वर्ष दिन पुग्न लागेको छ।
यो बीचमा कांग्रेस र एमालेले एकै कुर्सीमा बसेर एकले अर्कोलाई सक्दो ड्यामेज गर्न लागिपरेका छन्। गभर्नर नियुक्ति प्रकरणदेखि भिजिट भिसा प्रकरणमा आइपुग्दा कांग्रेसले माओवादीसँग निकै निकट सम्बन्ध बढाइसकेको कांग्रेस नेताहरू बताउँछन्।
पछिल्लोपटक सत्ता सहकार्यका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक पटक भेट गरिसकेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्ला दिनमा सरकार सञ्चालनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग ठाकठुक परेको गभर्नर नियुक्ति प्रकरणबाटै देखिएको हो।
अहिले कांग्रेस सभापति सरकार सञ्चालनमा सन्तुष्ट नरहेको कांग्रेस महामन्त्री गगन थापा बताउँछन्। ‘पार्टी सभापतिले भन्नुभएको छ सरकार जुन गतिमा चल्नुपर्ने थियो जुन परिणाम दिनुपर्ने थियो, सकिरहेको छैन। यसमा गम्भीर समीक्षाको आवश्यकता छ,’ बिहीबार विराटनगर पुगेका थापाले भने। यस विषयमा कांग्रेस शीर्ष तहमा छलफल जारी रहेको र केही दिनमा केन्द्रीय समिति बैठक डाक्नेसमेत थापाले बताए।
थापाले केही दिनअघि सरकारको नेतृत्व नै फेर्नुपर्ने बताएका थिए। ‘गाडीको चालक ठिक ढंगले चलाउन सकिरहेको छैन भने चालक बदल्दिनुपर्छ। चालक नयाँ खोज्नुपर्छ। त्यसले गाडीलाई राम्रो गतिमा अघि लगेर जान्छ,’ मंगलबार बाँके पुगेका कांग्रेस महामन्त्री थापाले भने।
सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक समितिका सदस्यसमेत रहेका थापाले गभर्नर नियुक्तिअघि पनि यसरी नै सरकारको विरोध गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण गणतन्त्रप्रति वितृष्ण बढेको ठोकुवा थापाले गर्दै आएका छन्।
यता भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथिको मिडिया ट्रायल भइरहेको र यसमा एमाले नेतृत्वको हात रहेको कांग्रेस नेताहरूको बुझाइ देखिन्छ। ‘गृहमन्त्रीको राजीनामा केसमा एमालेले निकै फाइदा पुगिरहेको छ। न त यसको डिफेन्स गर्नुपरेको छ न त यसले एमालेलाई ड्यामेज नै गर्छ,’ कांग्रेसका एक पदाधिकारीले भने।
गृहमन्त्रीबाट रमेश लेखकको राजीनामा माग्दै बजेट भाषणबाहेक प्रतिपक्षी दलले जेठ १३ गतेबाट लगातार सदन अवरोध जारी राखेको छ। यद्यपि यो प्रकरणमा माओवादी लचक देखिन्छ। यसको पछाडि कांग्रेसलाई नचिढ्याउने नीति माओवादीले अपनाएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै भनाइबाट प्रस्टिन्छ। शुक्रबार दिउँसो नयाँ बानेश्वरस्थित आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग छलफलका क्रममा प्रचण्डले देउवा निकै इमानदार नेता भएको प्रसंग निकाले। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि पतञ्जलि जग्गा प्रकरणमा लागेको मुद्दाबारे देउवाले आफूलाई जानकारी मागेको बताए।
‘देउवाजीले हिजो फोन गरेर माधव नेपालविरुद्धको मुद्दा के हो भनेर मलाई सोध्नुभयो। तपाईँलाई पो थाहा हुनुपर्ने भनें मैले। हामीबिच ठट्टा पनि चल्यो। मुद्दाका विषयमा शेरबहादुरजीलाई थाहा नभएको बुझें मैले,’ प्रचण्डले भने, ‘यसबारे देउवाजीसँग सल्लाह भए जस्तो लागेन। उहाँले ढाँट्नुहुन्न। उहाँ इमानदार हुनुहुन्छ।’
अहिले माओवादी गृहमन्त्रीको राजीनामा प्रकरणमा सेफल्यान्डिङको खोजीमा छ। छानबिनमा सीमित गरेर अरू विपक्षी दललाई पनि मनाउने माओवादीको तयारी रहेको प्रचण्डकै भनाइबाट पुष्टि हुन्छ। ‘भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन गरिरहेको छ। छानबिन सकिएपछिमात्र संसदीय छानबिन गरौला भन्ने कांग्रेसको प्रस्ताव हो,’ प्रचण्डले भने, ‘यसमा बाहिरभित्र सबैतिर छलफल भइरहेको छ।’
सत्तामा हरेक दिन ड्यामेज बेहोरिरहेको कांग्रेसले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘इरिटेड’ पार्ने खालका गतिविधि अगाडि बढाइरहेको छ।
संविधान संशोधनको मुख्य एजेन्डा बनेको सरकारले काम गर्न नसकेको यथार्थ हो। यसैले पनि कांग्रेसका नेताहरूले हरेक दिनजसो भाषण वक्तव्यमा सरकारको विरोध गरिरहेका छन्। संस्थापनइतरका नेता डा शेखर कोइरालाले अहिलेको सरकारको निरन्तर आलोचन गरिरहेका छन्। सडकमा कांग्रेसले विभिन्न आन्दोलन अगाडि बढाइरहेका छन्। शिक्षा एन माग्दै सरकारविरुद्ध शिक्षकहरू आन्दोलनमा छन्।
शिक्षा ऐनमा आन्दोलनमा उत्रिएका शिक्षकको माग समेट्न नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मंगलबार कांग्रेस सभापति देउवालाई भेटेका थिए। सरकारको शक्तिशाली मन्त्री डा आरजु राणा देउवाले माओवादी निकटको सहयोगमा गैरआवासीय नेपाली एनआरएनए फुटाएकी छिन्। गत वैशाख २१ गते परराष्ट्र मन्त्रालयको नेतृत्वमा भएको एनआरएनको एकता सम्मेलनबाट कांग्रेसनिकट जापानका व्यवसायी महेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भए। माओवादीको साथ पाएर भएको सम्मेलनबाट अधिकांश पदाधिकारी कांग्रेस निकट निर्वाचित भए। त्यसको केही दिन पछि प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रूपमा पुगेर बद्री केसीको नेतृत्वमा रहेको एनआरएन नै आधिकारिक भएको घोषणा गरेका थिए।
यसै गरी कांग्रेसकै नेताको नेतृत्वमा रहेको नेपाल यातायात व्यवसायी संघले काठमाडौंमा दुई दिन सार्वजनिक यातायात ग्यारेजमा थन्काए। नेपाली कांग्रेसका नेता विजय स्वाँरको नेतृत्वमा रहेको यातायात व्यवसायीले गरे राइड सेयरिङ एपको विरोध गर्दै आन्दोलन गरेका थिए। जसकारण ओली नेतृत्वको सरकारले प्रदेश सरकारको अधिकारमाथि धावा बोल्यो।
गृहमन्त्रीको राजीनामाको बटमलाइन राष्ट्रिय स्वतन्त्र पार्टीको भए पनि माओवादीको निरन्तर साथ देखिन्छ। सदन खुलाउन सभामुख देवराज घिमिरेले पटक पटक प्रयास जारी राखेका छन्। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री लेखक सदनमा जवाफ नदिई विपक्षीको कुनै पनि माग सुनुवाइ नहुने तर्क अघि सार्दै आएका छन्।