
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्णरूपमा प्रतिबन्ध लगाएका छन्। बुधबार साँझ एक नयाँ घोषणापत्रमा हस्ताक्षर गर्दै उनले उक्त प्रतिबन्ध लगाएका हुन्।
राष्ट्रपति ट्रम्पले सुरक्षा जोखिमलाई कारण देखाउँदै यो निर्णय गरेको सीएनएनले उल्लेख गरेको छ।
नयाँ प्रतिबन्धअनुसार अफगानिस्तान, म्यानमार (बर्मा), चाड, रिपब्लिक अफ कङ्गो, इक्वेटोरियल गिनी, एरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूले अब अमेरिकामा प्रवेश गर्न पाउने छैनन्।
त्यस्तै, अन्य सात देशका नागरिकहरूका लागि आंशिक प्रतिबन्ध लगाइएको छ। बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्केमिनिस्तान र भेनेजुएलाबाट आउने व्यक्तिहरूले केही सर्तहरूसहित मात्र अमेरिका प्रवेश गर्न पाउनेछन्।
घोषणापत्रमा केही अपवादहरू समावेश गरिएका छन्। वैध स्थायी आवासीय अनुमति (ग्रीन कार्ड) भएका, पहिले नै भिसा प्राप्त गरेका, निश्चित श्रेणीका भिसा लिएका वा अमेरिकी राष्ट्रिय हितका लागि आवश्यक व्यक्तिहरूलाई भने प्रवेश अनुमति दिइनेछ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार राष्ट्रपति ट्रम्पले कोलोराडोको बोल्डरमा भएको यहूदीविरोधी आक्रमणपछि यस्तो निर्णय गरेका हुन्। उनले यसअघि नै प्रतिबन्धबारे विचार गरेका थिए, तर आइतबारको घटनाले यस निर्णयलाई चाँडो कार्यान्वयन गर्न प्रेरित गरेको हो।
ह्वाइट हाउसले यस प्रतिबन्धलाई राष्ट्रपतिको चुनावी प्रतिबद्धता पूरा भएको भनेर प्रचार गरिरहेको छ। अमेरिकी जनतालाई जोखिमपूर्ण विदेशी व्यक्तिहरूबाट सुरक्षित राख्ने प्रतिबद्धता पूरा भएको ह्वाइट हाउसको भनाइ छ।
राष्ट्रपति ट्रम्पले बुधबार एक भिडियो पोस्ट गर्दै भनेका छन्, ‘सूची परिवर्तन गर्न सकिन्छ। यदि कुनै देशले ठोस सुधार गर्छ भने सूचीबाट हट्न सक्छ। तर हामी हाम्रो देशमा हानी पुर्याउन चाहने व्यक्तिहरूलाई प्रवेश गर्न दिनेछैनौं। अमेरिकालाई सुरक्षित राख्न हामी कुनै कसर बाँकी छाड्ने छैनौं।’
ह्वाइट हाउसका अनुसार यो प्रतिबन्ध आगामी जुन ९ को मध्यरात १२:०१ बजेबाट कार्यान्वयनमा आउनेछ।
यो प्रतिबन्ध ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको ५ महिनाभित्र आएको हो। पहिलो कार्यकालमा उनले ७ वटा मुस्लिम देशका नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाएका थिए। पछि राष्ट्रपति जो बाइडनले २०२१ मा कार्यभार सम्हाल्दै त्यो प्रतिबन्ध खारेज गरेका थिए।
अफगानिस्तानका नागरिकहरूमाथिको प्रतिबन्धले त्यहाँ अमेरिकी सेनासँग काम गरेका हजारौं अफगानीहरू प्रभावित हुने बताइएको छ। यसअघि नै ट्रम्प प्रशासनको निर्णयले आप्रवासी शरणार्थी कार्यक्रम स्थगित भएको थियो।