
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको विषय टुंगोमा पुर्याउन नसकिने ‘ब्रिफिङ’ गरेका छन्।
प्रचण्डको ब्रिफिङ अनुसार माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संसद अवरोध हटाउन लचिलो भइसकेको अवस्थामा अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भने अलमलमा देखिएको छ।
‘संसदको अवरोध हटाउने विषयमा लेखकले अख्तियारको छानबिन सकिएपछि अर्को छानबिन समिति बनाउछौं भनेपछि अवरोध हट्छ,’ एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भने।
प्रचण्डले बिहीवार बिहानै बसेको पार्टीको बैठकमा ‘राजीनामा र छानबिन समितिमा केहि गर्न सकिँदैन कति दिनसम्म यो तन्काइरहने’ भन्दै आफ्ना दलका नेताहरुलाई संसद अवरोधबाट पछि हट्नुपर्ने प्रस्ताव गरेका थिए। तर, माओवादी नेताहरुले राजीनामा र छानबिन समितिको मुद्दा उठाएकाले आन्दोलनको ‘सेफ ल्याण्डिङ’ हुनुपर्ने मत राखे।
त्यसपछि प्रचण्डले मध्यमार्गी उपायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि देखाएका थिए। भिजिट भिसा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले संसदले छानबिन समिति बनाउन नमिल्ने उनले विपक्षी दलहरुलाई ब्रिफिङ गरेका थिए।
बुधवार कांग्रेसले पनि प्रतिपक्षी दलहरुलाई मध्यमार्गी प्रस्तावको रुपमा अख्तियारले अनुसन्धान टुंग्याउनासाथ छानबिन समिति बनाउने प्रतिवद्धता जनाउने र संसदको अवरोध हटाउनुपर्ने प्रस्ताव उप सभापति पूर्णबहादुर खड्का, गगन थापा लगायतले गरेका थिए। उनीहरुको प्रस्तावलाई माओवादी केन्द्रका सचिव शक्ति बस्नेत र प्रमुख सचेतक हितराज पाण्डले समर्थन जनाएका थिए। एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डले पनि समर्थन जनाएका थिए।
‘अख्तियारको छानबिनपछि समिति बनाउँछौं भन्ने लिखित प्रतिबद्धता गर्ने र त्यसपछि अवरोध हटाउनेमा माओवादी र एकीकृत समाजवादी तयार छन्। तर रास्वपाले अप्ठेरो मान्यो। उहाँहरुले गृहमन्त्रीको विषयलाई व्यक्तिगत रुपमा पनि लिइदिनुभयो,’ कांग्रेसका एक पदाधिकारीले भने।
रास्वपाले भने आफूहरुसँग कुराकानी नै नगरी मध्यमार्गी प्रस्ताव आएको भन्दै आपत्ति जनाएको थियो। रास्वपाका उप सभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियारसँग थापा र खड्काले कुराकानी गरेपछि उनीहरु दुवै जनाले पार्टीमा कुराकानी गर्ने भन्दै संसदबाट निस्किएका थिए।
तर, उनीहरु फर्किएर नआएपछि सभामुखलाई सत्तारुढ दलले संसद चलाउन आग्रह गरे। सभामुखले संसद बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलले विरोध जनाए भने सत्ता पक्षले पनि बोल्न पाउनुपर्ने भन्दै होहल्ला गरेका थिए। जसकारण संसद बैठक चल्न सकेन।