
काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीप्रति विश्वास जगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको टाटा कम्पनीको कर्भ लिएर यसपालाको टेस्ट ड्राइभमा आएका छौं। भारतीय कम्पनी महेन्द्राले इटूओ मार्फत फोर ह्विलरतर्फ ईभीमा इन्ट्री गरे पनि मार्केट सेयरका हिसाबले टाटाको नेक्सनले लिड गर्यो। नेक्सन र त्यसपछि ईभी टाटाको आइसी इन्जिन रिप्लेस गरेर तयार भएका हुन् भने कर्भ ईभी विद्युतीय प्लेटफर्ममा तयार भएको गाडी।
कर्भ कस्तो छ त? तपाईँले यसापाला इन्डियन प्रिमियर लिगका कुनै पनि म्याच हेर्नु भएको थियो भने यो गाडीबारे जानकार हुनुहुन्छ। आइपिएल म्याचमा सबैभन्दा धेरै डिस्प्ले हुनेमध्ये पर्छ यो गाडी।
आफ्ना सफल आइसी इन्जिनमा आधारित प्यासेन्जर भेहिकलहरू नेक्सन, टिगोर, टियागो र पञ्चलाई ईभीमा रुपान्तरण गरेपछि प्रतिष्ठित कम्पनी टाटाले कर्भ ल्याएको हो।
सुरुमा आईसी इन्जिनलाई इलेक्ट्रिक मोटर र ब्याट्री पावरमा रुपान्तर गरेर टाटाले एकखाले अनुभव हासिल गर्यो। त्यसपछि ईभी प्लेटफर्म मार्फत गाडी उत्पादन थालेकाले, कर्भ अरूभन्दा केही फरक देखिन्छ – लुक्स र फिचरमा पनि। एयरडानामिक्सलाई विशेष ध्यान गरेर यसलाई बनाइएकाले पनि केही फ्युचरिस्टिक लाग्छ।
सडकमा यसको उपस्थितिले फरक अनुभूति दिन्छ किनकि यसको पछिल्लो भाग केही माथि उठेको छ। आजको टेस्ट ड्राइभमा हामी यसलाई शहरी क्षेत्रसँगै केही उकालो र घुम्तीहरुमा लैजाँदैछौं। आउनुस् टेस्ट ड्राइभमा सँगै यात्रा गरौं।

हामीले कर्भलाई लिएर काठमाडौंका शहरी क्षेत्रमा कुदायौं। यसको मोटर पर्फर्मेन्सको आधारमा शहरी क्षेत्रमा प्रश्न गर्ने ठाउँ रहेन सहज र स्मुथ यात्रा भयो। यसमा ९९ किलोवाट क्षमताको मोटर छ। शहरी क्षेत्रमा मोटरमा यसभन्दा आधा क्षमता भए पनि कुनै समस्या आउँदैन। अनि उकालोमा कस्तो होला त यसको पर्फर्मेन्स?
हामीले पश्चिम काठमाडौंको सबैभन्दा उचाईमा रहेको स्विटजरल्यान्ड पार्कतिर यसलाई कुदायौं। उकालो र चर्को घुम्ती बाटो भएकाले उकाल्न कठिन हुनसक्छ कि भन्ने हाम्रो आँकलन थियो। तर, मोटर क्षमताका अतिरिक्त ईभी प्लेटफर्ममा तयार भएकाले यसको पर्फर्मेन्स दमदार देखियो।

एक्स्टेरियरमा फ्युरिस्टिक लुकसँगै यसको इन्टेरियर पनि आकर्षक लाग्छ। भित्र बस्दा तुलनात्मक रुपमा मोटरको आवाज भने सुनिँदो रहेछ। त्यसबाहेक सुरक्षाका लागि पर्याप्त फिचर लोड गरिएकाले कतै चिनियाँ ब्रान्डको लग्जरी सेगमेन्टको ईभी त होइन भन्ने आशंका पैदा हुन्छ ड्राइभ गरिरहँदा। किनकि भारतमा निर्माण भएका भन्दा चीनमा उत्पादन भएका ईभीमा फिचर धेरै हुने गर्छ। टाटाले अहिलेसम्म बजारमा उतारेको ईभीमध्ये सबैभन्दा धेरै फिचर यसमा लोड छ।
क्यामरा र इन्फोटेनमेन्ट क्लस्टरमा टाटाले पर्याप्त मेहनत गरेको छ। ३६० डिग्री कभर गर्ने क्यामरा र लुकिङ मिररमा अरू अब्जेक्टको मुभमेन्ट संकेत दिने लाइट इन्टिग्रेट छ। पर्याप्त सेन्सर अनि अटो होल्ड र हिल असिस्ट नै किन नहोस् – धेरै फिचर छन् यसमा। त्यसै पनि टाटा ब्रान्ड सेफ्टीको मामिलामा असाध्यै बलियो मानिन्छ। हामीले टेस्ट ड्राइभ गरिरहेको कर्भले पनि यात्रुको सुरक्षाको मामिलामा कुनै कसर छाडेको छैन।

हामीले टेस्ट ड्राइभ गरिरहेको कर्भमा ५५ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री छ। एकपटक पूरा चार्ज गरेपछि यसले ३८० किलोमिटर दुरी तय गर्न सक्छ। त्यसैले लामो दुरीको यात्रा तय गर्न कुनै संकोच मान्नुपर्दैन। तर हामी ईभीमा यात्रा गर्नेहरूलाई चार्जिङ स्टेसन र आफ्नो गाडीको ब्याट्री हेल्थप्रति सजग रहन सुझाउँछौं।
टाटाको ब्रान्ड भन्नासाथ अफरोड स्वत: बुझिन्छ। जस्तोसुकै पहाडी भेगमा पनि टाटाका गाडीले आफूलाई प्रमाणित गरिसकेका छन्। नेपालको सन्दर्भमा त अझ धेरै प्रमाणित भइसकेको छ। तर कर्भ ईभीका मामिलामा भने हामी अफरोड यात्राका लागि ‘सजेस्ट’ गर्दैनौं। हेर्दा ग्राउन्ड क्लियरेन्स धेरै देखिए पनि यसको ब्याट्री केही तल छ। अफरोडमा यसलाई निक्कै सजगतापूर्वक चलाउनुपर्ने हाम्रो टेस्ट ड्राइभले देखायो। त्यसैले हामी सहरी क्षेत्रका लागि यसलाई ‘रेकमेन्ड’ गर्छौं।

ब्रान्ड भ्यालु र यसको आधिकारिक बिक्रेता सिप्रदी इन्टरप्राइजेजको आफ्टर सेल सर्भिसले यसलाई थप प्रिमियम भने बनाएको छ। बिक्री पछिको सेवालाई प्राथमिकता दिने हो र बलियो तथा विश्वासिलो ब्रान्ड खोज्ने हो भने कर्भ गजबको अप्सनका रुपमा आएको छ।
यसको मूल्य नेपाली बजारमा ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। चिनियाँ ब्रान्डले ल्याएका ईभीसँग तुलना गर्ने हो भने यो क्रसओभर केही महँगो अनुभूति हुन्छ। मूल्यमा एमजीको एस फाइभभन्दा माथि र बीवाईडीको एटो थ्रीसँग यसको प्रतिस्पर्धा हुने देखिन्छ।

समग्रमा हाम्रो टेस्ट ड्राइभले कर्भलाई शहरी क्षेत्रका लागि अब्बल ठहर्याएको छ। ड्राइभ कम्फर्ट र पावर पर्फर्मेन्समा पनि यो बलियो देखियो। ईभी प्लेटफर्ममा तयार भएकाले कर्भ अरुभन्दा विशेष छ। ग्राउन्ड क्लियरेन्सबाहेक यसमा प्रश्न गर्नुपर्ने कुनै ठाउँ देखिँदैन।





