
काठमाडौं । सरकारले चिनीको आयात महसुल आधा घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयक प्रस्तुत गर्दै चिनीको महसुल ३० बाट १५ प्रतिशत बनाएका हुन्।
कोल्डड्रिङ्क्स, बिस्कुट, इनर्जी ड्रिङ्क्स, कन्फेक्सनरी, जुस लगायतका उद्योगले लामो समयदेखि चिनीको आयात महसुल घटाउन माग गरिरहेका थिए।
चिनी नेपालमा महँगो हुँदा भारतबाट कोल्डड्रिङ्क्सको अवैध आयात हुँदै आएको छ।
उद्योग मन्त्री दामोदर भण्डारी गतसाता विराटनगर आउँदा यहाँका उद्योगीले चिनीको आयात महसुल घटाउन अनुरोध गरेका थिए।
प्रत्युत्तरमा मन्त्री भण्डारीले आफूले यसका लागि अर्थ मन्त्रालयमा पहल र समन्वय गर्ने वचन दिएका थिए।
गुडलाइफ जुसका सञ्चालक महेश जाजुले चिनीमा आयात महसुल घटाउने सरकारको निर्णय स्वागतयोग्य र उद्योगमैत्री भएको प्रतिक्रिया दिएका छन्।