
काठमाडौं। विशेष आर्थिक र औद्योगिक क्षेत्रमा स्थापना अनुमति प्राप्त गर्ने नयाँ उद्योगहरुलाई सरकारले सुरुका तीन वर्षको भाडामा छुट दिने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन्। विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्गमिटर २० रुपैयाँबाट घटाइ ५ रुपैयाँ कायम गरिने उनले बताए।
औद्योगिक क्षेत्रले उत्पादन गरेको २० प्रतिशतभन्दा बढी निर्यात गरेमा विशेष आर्थिक क्षेत्र सरह सुविधा दिइने पनि उनले उल्लेख गरे। औद्योगिक क्षेत्रको निर्माण गर्ने कम्पनीलाई जलविद्युत उत्पादन कम्पनीको सरह र त्यस्तो उद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई विशेष आर्थिक क्षेत्रको सरह सुविधा उपलब्ध गराइने उनले बताए।
औद्योगिक क्षेत्रका लागि निर्धारित मासिक भाडा दरमा ५० प्रतिशत कटौती गरिने उनले बताए। औद्योगिक पूर्वाधार निर्माणका लागि सरकारले १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको उनले उल्लेख गरे।