ट्रम्पको निर्देशनले नेपाली विद्यार्थीलाई मर्का पर्ने, ‘अपोइन्टमेन्ट’ लिएकालाई छैन समस्या

बिजमाण्डू
२०८२ जेठ १४ गते १४:११ | May 28, 2025
ट्रम्पको निर्देशनले नेपाली विद्यार्थीलाई मर्का पर्ने, ‘अपोइन्टमेन्ट’ लिएकालाई छैन समस्या
तस्बिर : काठमाडौंस्थित अमेरिकी दूतावास


काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभरका आफ्ना दूतावासलाई विद्यार्थी भिसाको अन्तर्तार्ता रोक्न दिएको निर्देशनले नयाँ अपोइन्टमेन्ट लिन चाहने विद्यार्थी मर्कामा पर्ने भएका छन्।

Tata
GBIME

ट्रम्प प्रशासनले विश्वभरका अमेरिकी दूतावासहरूलाई नयाँ विद्यार्थी भिसाका लागि लिइने अन्तर्वार्ता तत्काल रोक्न निर्देशन दिएपछि त्यसको असर नेपाली विद्यार्थीमा पनि पर्ने भएको हो।

उक्त निर्देशनपछि नेपाली विद्यार्थीहरूको भिसा प्रोसेसिङ समय लम्बिनुका साथै विदेशी विद्यार्थीमा आश्रित अमेरिकी विश्वविद्यालयहरूलाई ठूलो असर पर्ने अनुमान गरिएको छ। मंगलबार मात्रै ट्रम्प प्रशासनले संसारभरका कन्सुलर कार्यालयहरूलाई ‘विद्यार्थी वा एक्सचेन्ज भिजिटर (एफ, एम, र जे भिसा)’का लागि नयाँ भिसा अपोइन्टमेन्ट थप्ने काम अर्को सूचना नभएसम्मका लागि रोक्न निर्देशन दिएको छ।

पढ्नका लागि अमेरिका जान चाहने विद्यार्थीको सामाजिक सञ्जाल स्क्रिनिङलाई विस्तृत बनाउने तयारीस्वरुप ट्रम्प प्रशासनले तत्काल नयाँ भिसाको अन्तर्वार्ता अपोइन्टमेन्ट रोक्न दूतावासहरुलाई पत्राचार गरेको छ

ट्रम्प प्रशासनको निर्देशनबमोजिम अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नेपालस्थित अमेरिकी दूतावासमा आइनपुगेको दूतावास स्रोतले बतायो।

‘अहिलेसम्म कुनै औपचारिक जानकारी हामीसम्म आइपुगेको छैन। औपचारिक जानकारी आएपछि मात्रै के विषय हो भन्न सक्छौं,’ दूतावास स्रोतले भन्यो।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले अमेरिकी सरकारको पछिल्लो कदमले भिसा अन्तर्वार्ताका लागि अपोइन्टमेन्ट लिइसकेका नेपाली विद्यार्थीहरूका लागि कुनै समस्या नपर्ने बताएका छन्।

‘अहिलेसम्म औपचारिकरुपमा दूतावासले यस विषयमा जानकारी गराएको छैन। कुनै गाइडलाइन जारी भएको पनि छैन। यदि निर्देशन सोहीअनुरुप हो भने यसले विद्यार्थी भिसाका लागि अमेरिकी दूतावासमा अपोइन्टमेन्ट लिइसकेका विद्यार्थीहरूको हकमा कुनै समस्या पर्दैन। नयाँ अपोइन्टमेन्ट लिने विद्यार्थीहरूका लागि दूतावासले जारी गर्ने गाइडलाइनअनुसार थप कागजात चाहिन सक्छ। नेपाली विद्यार्थी आत्तिनुपर्ने अवस्था छैन,’ भट्टराईले बिजमाण्डूसँग भने।

गत वर्ष अप्रिलबाट विद्यार्थी भिसामा अमेरिका पुगेका विद्यार्थीहरूले क्याम्पस हाताभित्रै प्रो-प्यालेस्टाइन आदोलन गरेपछि अमेरिकी प्रशासन त्यस्ता विद्यार्थीप्रति रुष्ट बनेको छ। गाजा युद्धलाई लिएर पढ्न आएका विदेशी विद्यार्थीहरूले क्याम्पसहातामै आन्दोलन गरेपछि ट्रम्प प्रशासन विद्यार्थी भिसालाई कडाइ गर्न तिर लागेको छ।

मार्चबाटै अमेरिकाले आफ्ना कन्सुलर कार्यालयहरूलाई कुनै पनि भिसा आवेदकले आतंकवादी गतिविधि वा संगठनलाई समर्थन गर्ने किसिमका विषय सामाजिक सञ्जालमा हालेका छन् वा छैनन् भन्ने विषयमा स्क्रिनिङ गर्न भनेको थियो। दूतावासहरूले त्यस्ता कन्टेन्टको स्क्रिनसट गरेर सुरक्षित राख्ने गरेका छन्।

सम्भावित समर्थन गर्ने विद्यार्थीबाहेक पनि अमेरिकाले विद्यार्थी भिसाको आवेदन दिने सबै विद्यार्थीहरूको हकमा यो नियम कडाईका साथ कार्यान्वन गर्न खोजेको छ। त्यसैको फलस्वरुप नयाँ गाइडलाइन जारी भएपछि मात्रै विदेशी विद्यार्थीलाई भिसा प्रक्रियामा सामेल गराउने रणनीतिमा ट्रम्प प्रशासन देखिन्छ।

भट्टराईका अनुसार अहिलेसम्म नेपाली विद्यार्थी अमेरिकी प्रशासनको ‘रेड क्याटेगोरी’मा नपरेकाले पढ्नैका लागि अमेरिका जान खोज्ने मेहेनती विद्यार्थीहरूलाई समस्या पर्ने छैन।

‘केही नयाँ प्रावधान आएपनि नेपाली विद्यार्थीलाई गाह्रो नपर्ला। नेपाली विद्यार्थीको ट्र्याक रेकर्ड अमेरिकाका लागि अहिलेसम्म सकारात्मक नै छ। नेपाली विद्यार्थीबाट उनीहरूलाई कुनै चुनौती छैन,’ भट्टराईले भने।

नेपालबाट बर्सेनि २० देखि २५ हजार विद्यार्थीले अमेरिका पढ्न जान भिसाका लागि आवेदन दिने गरेका छन्। कोरोना महामारीपछि २०२३/२४ मा १५ हजार हाराहारीमा नेपाली विद्यार्थी अमेरिका पढ्न गएका थिए। हरेक वर्ष नेपालबाट करिब ९ हजार विद्यार्थी अमेरिका अध्ययनका लागि जाने गरेको भट्टराईले जानकारी दिए।

अमेरिकामा हालसम्म १० लाखभन्दा बढी विदेशी विद्यार्थी अध्ययनरत छन्। अमेरिकी अर्थतन्त्रमा विदेशी विद्यार्थीले ४३ अर्ब ८० करोड डलरबराबरको योगदान पुर्‍याइरहेका छन्। सन् २०२३ देखि २४ सम्म ३ लाख ७८ हजार बढी जागिरमा विदेशी विद्यार्थीहरूले अमेरिकालाई सघाइरहेका छन्।

नेपाली विद्यार्थीहरूलाई मुख्यगरी अमेरिका अध्ययनमा जान सहजीकरण गरिरहेका भट्टराई विदेशी विद्यार्थीले अमेरिकी अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेकाले ट्रम्प प्रशासन यस विषयमा गम्भीर र संवेदनशील निर्णय गर्नेमा आशावादी देखिन्छन्।

‘ट्रम्प आफैं पनि व्यवसायी हुन्। विदेशी विद्यार्थीले अमेरिकाका विश्वविद्यालयदेखि अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेका छन्। जब मार्केटमा उनीहरूको भूमिका ज्यादै महत्त्वपूर्ण छ। त्यसैले अमेरिकाले विदेशी विद्यार्थीलाई धक्का पुग्ने गरी कुनै नीति अघि सार्ने सम्भावना कम देखिन्छ,’ भट्टराईले भने।