भारतको उत्तरकाशीमा तीर्थयात्री सवार हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

बिजमाण्डू
२०८२ बैशाख २५ गते १३:१६ | May 8, 2025
भारतको उत्तरकाशीमा तीर्थयात्री सवार हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु


भारतको उत्तरकाशी जिल्लाको गंगनानी नजिकै बिहीबार गंगोत्री तीर्थयात्रा जाँदै गरेकाहरु सवार एक निजी कम्पनीको हेलिकप्टर दुर्घटना भएको छ। सरकारी अधिकारीहरुका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

Tata
GBIME
NLIC

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार बिहान ८:४५ बजेतिर ऋषिकेश-गंगोत्री क्षेत्रमा दुर्घटना भएको हो। हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए। राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) बाट प्राप्त जानकारी अनुसार एरोट्रान्स सर्भिसेज प्राइभेट लिमिटेडको हेलिकप्टर करिब  २५० मिटर गहिरो खोंचमा खसेको थियो।

क्याप्टेन रोबिन सिंहले हेलिकप्टर उडाएको हेलिकप्टर देहरादुनको सहस्त्रधारा हेलिप्याडबाट यमुनोत्रीको खरसाली हेलिप्याडका लागि उडेको थियो। सवार यात्रुमा  चार जना मुम्बईका थिए भने अन्य दुई जना आन्ध्र प्रदेशका थिए।

मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन्।

घाइतेहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउन र दुर्घटनाको अनुसन्धान गर्न प्रशासनलाई निर्देशन दिइएको उनले बताए। आफू निरन्तर अधिकारीहरूसँग सम्पर्कमा रहेको र परिस्थितिको अनुगमन गरिरहेको उनले बताए।