गगन थापालाई लक्षित गर्दै सूर्य थापाको प्रश्न- सरकारप्रति आक्रोशको राँको बाल्ने हानथाप किन?

बिजमाण्डू
२०८२ बैशाख २२ गते १३:१३ | May 5, 2025
गगन थापालाई लक्षित गर्दै सूर्य थापाको प्रश्न- सरकारप्रति आक्रोशको राँको बाल्ने हानथाप किन?
सूर्य थापा


काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट बढेको कुरा संसद्‍मै छताछुल्ल भएको छ।

Tata
GBIME
NLIC

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एमाले सांसद सूर्य थापाले सरकारको काम गराइप्रति असन्तुष्टि जनाउँदै आएका कांग्रेस नेताहरुलाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन्।

उनले कांग्रेस महामन्त्री गगन थापा लगायत नेताहरुलाई लक्षित गर्दै सरकारप्रति असन्तुष्टि बढाउने तथा निराशा र आक्रोशको राँको बाल्न हानथाप नगर्न चेतावनी दिए।

गगनले बिंँड ताते पनि ताप्के नतातेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति सार्वजनिकरुपमै असन्तुष्टि जनाउँदै आएका बेला एमाले सांसद थापाले संसद् बैठकबाटै चेतावनीयुक्त अभिव्यक्ति दिएका हुन्।

‘हरेकजसो निर्णय दुई ठूला पार्टीका नेताको सहमतिमा भइरहेका छन्। विमत्तिमा एउटै काम भएको छैन। अनि अखबारबाजी भएको देख्छु एमालेकरण भयो। कसरी भयो? संयन्त्रको अभ्यासमा समस्या भएको हो भने प्रमुख नेताहरु बसेर त्यसलाई खारेज गरे हुन्छ। विघटन गरे हुन्छ। अस्थिरतालाई मलजल गर्ने काम सत्ता साझेदार दलभित्रबाट गर्नु भएन जानेर वा नजानेर,’ उनले भने, ‘सरकारप्रति असन्तुष्टि बढाउने, निराशा र आक्रोशको राँको बाल्न हानथाप गर्ने, आफ्ना स्वार्थको रोटी सेक्ने काममा कोही पनि उपयोग/दुरुपयोग नहोऔं।’

गगन, कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा लगायत कांग्रेसका कतिपय नेताहरुले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गरिएकामा असन्तुष्टि जनाउँदै आएकाप्रति पनि एमाले सांसद सूर्य थापाले आक्रोशपूर्ण अभिव्यक्ति दिए।

उनले खासगरी गगनलाई लक्षित गर्दै लोकप्रियता आर्जनका लागि सरकारको आलोचनामा उत्रिएको आरोपसमेत लगाए।

‘सत्ता साझेदार दलहरुभित्र नेतृत्व तहमा कहिलेकाहीं लोकप्रियतावादको दुष्प्रभावले पनि काम गरिरहेको देखिन्छ। लोकप्रियतावाद कसरी प्रकट हुन्छ भन्ने दृष्टान्त राख्नै पर्ने भयो। ऊर्जामन्त्रीको प्रस्तावमा सरकारले कुलमानलाई हटायो। यो सही भयो कि गलत भयो, म त्यतातिर बोल्दिन। ऊर्जामन्त्री कांग्रेसको प्रतिनिधित्व गर्नुहुन्छ कि हुँदैन? गठबन्धन सरकारको अभ्यास र कार्यतरिका कस्तो हुन्छ? यसको हेक्का छैन र?,’ उनले भने, ‘ऊर्जामन्त्रीको प्रस्तावमा कुलमानलाई हटाइयो। अनि गाली प्रधानमन्त्रीलाई? दोष प्रधानमन्त्रीलाई? प्रधानमन्त्रीलाई दोष थोपरेर उम्किने विषय होइन। यसमा सभापतिसँग पार्टीका तर्फबाट के समन्वय भएको भनेर मित्रहरुले तथ्य बुझ्नुपर्ने होइन र?’

थापा यत्तिमै रोकिएनन्। उनले कांग्रेस नेताहरुलाई पार्टीभित्रको झगडाको निसाना सरकारलाई नबनाउन चेतावनी दिए। ‘आन्तरिक प्रतिस्पर्धाको कुरा हो भने निसाना सरकारतिर सोझ्याउन आवश्यक छैन। त्यसो गर्न बन्द गर्नुपर्छ। आन्तरिक प्रतिस्पर्धाको अभ्यास आ आफ्ना पार्टीका महाधिवेशनमा हुन्छन्। सरकार वा गठबन्धनलाई प्रभावित पार्नु हुँदैन,’ उनले भने।