
काठमाडौं। एक पछि अर्को वायुसेवा कम्पनी आर्थिक संकटले बन्द भइरहँदा नेपाली उड्डयन क्षेत्रमा नयाँ कम्पनी सञ्चालनमा आउने भएको छ।
आन्तरिकतर्फ नियमित व्यावसायिक उडान गर्ने गरी डाँफे एयरलाइन्स सञ्चालनमा आउन लागेको हो। कम्पनीले वायुयान सञ्चालन प्रमाणपत्र (एओसी)का लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिइसकेको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले एओसी दिने प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिए।
‘यो कम्पनीको फिजिबिलिटी स्टडी भइसकेको छ। अब कमिटी बनाएर एओसीको प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने, ‘कम्पनीले पर्यटन मन्त्रालयबाट लिएको लाइसेन्सका आधारमा हामी एओसी दिन्छौं।’
प्राधिकरणले प्रबन्धक भरतराज पराजुलीको संयोजकत्वमा गठन गरेको समितिले डाँफे एयरलाइन्सलाई एओसी दिन सिफारिस गरेको छ। ‘कम्पनीले पेस गरेको व्यावसायिक योजना सारभूतरुपमा प्रभावग्राही रहेको सिफारिस गरिन्छ,’ समितिको प्रतिवेदनमा भनिएको छ।
कम्पनीले एक वर्ष अगाडि नै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लाइसेन्स लिएको थियो। मन्त्रालयले लाइसेन्स दिएपनि प्राधिकरणले एओसी नदिइ उडान गर्न पाइँदैन।
एक दशकअघि बन्द भएको मकालु एयरको नाम परिवर्तन गरी नयाँ समूहले डाँफे एयरलाइन्स सञ्चालन गर्न लागेको हो।
मन्त्रालयले गत वर्ष माघ २४ गतेको निर्णय अनुसार साविकको मकालु एयरको इजाजत पत्र अद्यावधिक गरी डाँफे एभिएसन कर्पोरेसनको नाममा २०८४ भदौ २९ गतेसम्म मान्य हुने गरी आन्तरिक वायुसेवा सञ्चालनको इजाजतपत्र दिएको हो।
मकालु एयरमा क्याप्टेन फिजोनाथ नेपाली सञ्चालक थिए। मकालुले सिंगल इन्जिन जहाजमार्फत उडान गर्दै आएको थियो। सिंगल इन्जिन जहाज उडान गर्ने वायुसेवालाई यात्रु उडानमा प्रतिबन्ध लगाइएपछि मकालुको सेवा बन्द भएको थियो।

त्यही वायुसेवालाई अहिले ललितपुरका राजु कुमार श्रेष्ठ, काठमाडौंका अभिषेकमान श्रेष्ठ लगायतको समूहले डाँफे एयरलाइन्सको नाममा सञ्चालनमा ल्याउन लागेको हो।
कम्पनीमा राजु कुमार र अभिषेकमानका अलावा काठमाडौंकी सञ्जु श्रेष्ठ र चितवनकी सुमना कँडेलको लगानी छ।
कम्पनीले एटीआर ७२ सिरिजको जहाजमार्फत माउन्टेन फ्लाइटका साथै नेपालगञ्ज, सुर्खेत, पोखरा, विराटनगर, भद्रपुर, सिमरा, धनगढी, जनकपुर, भरतपुर, भैरहवा, तुम्लिङटार लगायत गन्तव्यमा उडान गर्ने व्यावसायिक योजना बुझाएको छ।
कम्पनीको पोखरा बेस रहने छ। ‘कम्पनीले साविकको मकालु एयरको स्वामित्व लिई अद्यावधिक गरेकोले साविकको मकालु एयरको सञ्चालन आधार सुर्खेत विमानस्थल हो। तर एटीआर चलाउने भएकोले बेस पोखरामा परिवर्तन हुने छ,’ कम्पनीका एक सञ्चालकले भने।
कम्पनीले २०० जनालाई रोजगारी दिने बताएको छ। प्राधिकरणले एओसी दिन बाँकी रहेपनि कम्पनीले एकाउन्टेबल म्यानेजर नियुक्त गरिसकेको छ।
डाँफेसँगै आइएसएमटी समूहले अबको डेढ वर्षभित्र ‘नेपाल जेट’मार्फत आन्तरिक उडान सुरु गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ।

प्रतिस्पर्धात्मक बजारमा टिक्न नसक्दा पछिल्लो ३ वर्षयता मुलुकमा फिक्स विङतर्फ २ वटा वायुसेवा कम्पनी ग्राउण्डेड अवस्थामा छन्। ५ वटा जेटस्ट्रिम र २ वटा विचक्राफ्ट रहेको गुण एयरलाइन्स व्यावसायिक प्रतिस्पर्धा गर्न नसकेर ग्राउण्डेड छ।
९ महिना अगाडि सीआरजे-२०० सिरिजको जहाज दुर्घटनामा भएपछि सौर्य एयरलाइन्स पनि ग्राउण्डेड नै छ। सौर्यसँग सीआरजे-२०० सिरिजका २ वटा जहाज छन्।
हाल मुलुकमा सुगम गन्तव्यतर्फ बुद्ध, यती र श्रीले नियमित व्यावसायिक उडान गर्दै आएका छन् भने दुर्गम गन्तव्यमा तारा, समीट र सीताले उडान गर्ने गरेका छन्।