
काठमाडौं। सेयर बजार परिसूचक एकाएक उकालो लागेको छ।
गभर्नर नियुक्तिमा अन्योल, सरकारको कामलाई लिएर सत्तारुढ नेपाली कांग्रेसका नेताहरुबाटै बढिरहेको आलोचना लगायत कारण करिब एक महिनायता जुन विन्दुमा कारोबार खुल्यो अन्तिममा त्यही विन्दु वरपर बजार बन्द भइरहेकामा नेप्सेले बुधबार ६२.२५ अंकको छलाङ हानेको हो।
कारोबार खुलेको २५ मिनेटसम्म खासै बढ्न नसकेको नेप्से त्यसपछि निरन्तर उकालो लागेर अन्तिममा २६७३.६९ विन्दुमा पुगेको छ। १३ वटै उपसमूहले नेप्से हरियो बनाएका हुन्।
पाँच दिनमा ५१ अंकले घटेको नेप्से मंगलबार १.०३ अंकले बढेको थियो।
बुधबार फाइनान्सको सूचक सबैभन्दा धेरै ५.४७ प्रतिशतले उकालो लागेको छ। अन्य दिनमा बढ्न नसकेको बैंकिङ उपसमूहको सूचक पनि बुधबार २.९७ प्रतिशतले उकालो लागेको छ।
बजारमा १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
प्रेडिक्टेबल विषय केही नपाएका कारण बढ्न नसकेको बजार एक दुई दिनमा गभर्नर नियुक्त हुने चर्चाका कारण उकालो लागेको जानकारहरुले बताएका छन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष धर्मराज सापकोटाले प्रधानन्त्री केपी शर्मा ओलीले बिहिबार मन्त्रिपरिषद् बैठक राखेर गभर्नर नियुक्त गर्ने बताएको खबर आएका कारण बजार बढेको बताए।
‘बजारले बढ्नका लागि कारण खोजिरहेको थियो। प्रधानमन्त्रीले एक दुई दिनमा गभर्नर नियुक्त हुने बताएको खबर आएकाले लगानीकर्तामा कन्फिडेन्स बढेको देखिन्छ,’ उनले भने।
प्रधानन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार मन्त्रिपरिषद् बैठक राखेर गभर्नर नियुक्त गर्ने प्रतिबद्धता जनाएको ओली र देउवा निकट नेताहरुले बताएका छन्। राष्ट्र बैंकमा गभर्नरको पद गत चैत २४ गतेदेखि रिक्त छ।
गभर्नर नेपाली कांग्रेसको भागमा परेको छ। देउवाले गभर्नर कसलाई बनाउने भनेर प्रधानमन्त्री ओलीलाई नाम दिइसकेका छन्। यद्यपी अर्थमन्त्री विष्णु पौडैल अध्यक्ष रहेको तीन सदस्यीय समितिले गभर्नरको नाम सिफारिस गर्नुपर्नेछ। समितिले नाम सिफारिस गर्न बाँकी छ।
मर्चेन्ट बैंकरहरुले पनि कांग्रेस र एमालेबीच केही चिसोपना देखिएकामा अहिले दुई दलबीचको सम्बन्ध सुध्रिएको र सरकार नढल्ने विश्वासका कारण लगानीकर्ता उत्साही बनेको बताएका छन्।
‘केही दिन अघिसम्म सरकारको भविष्य के हुने हो जस्तो देखिएको थियो। जसले गर्दा लगानीकर्ता डराएका थिए। तर प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको भेटपछि सरकार नढल्ने र गभर्नर एक दुई दिनमै नियुक्त हुने कुरा आएको छ। त्यही कारण बजार उकालो लागेको हो,’ एनआइएमबि एस क्यापिटलका डेपुटी सीइओ सचिन्द्र ढुंगानाले भने।
कांग्रेस सभापति देउवाले मंगलबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री र आफूबीच कुनै समस्या नरहेको तथा कांग्रेसले भने अनुसार गभर्नर नियुक्त गर्न ओली तयार रहेको बताएका थिए।
नेप्सेमा बुधबार लगानीकर्ताको रोजाइमा जलविद्युत कम्पनी परेका छन्। सबैभन्दा धेरै कारोबार हुने शीर्ष १० कम्पनीको सूचीमा ९ वटा जलविद्युत कम्पनी छन्। सानिमा माइ हाइड्रोपावरको सबैभन्दा धेरै ५९ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ।