‘अपरेसन सिन्दूर’पछि भारत र पाकिस्तानका विमानस्थलमा उडान स्थगित, नेपाललाई फरक पर्छ?

बिजमाण्डू
२०८२ बैशाख २४ गते १३:०० | May 7, 2025
‘अपरेसन सिन्दूर’पछि भारत र पाकिस्तानका विमानस्थलमा उडान स्थगित, नेपाललाई फरक पर्छ?


काठमाडौं । भारतीय सेनाले पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीर (पीओके) मा मिसाइल आक्रमण गरेपछि दुवै देशको एयरस्पेस प्रभावित बनेको छ।

Tata
GBIME
NLIC

उत्तर-पश्चिमी भारतका धेरै विमानस्थलहरूमा उडानहरू स्थगित भएका छन्। विशेषतः कश्मीरको श्रीनगर विमानस्थल प्रभावित बनेको छ।

मिसाइल आक्रमणका कारण श्रीनगरसहित जम्मू, अमृतसर, लेह, चण्डीगढ, धरमशाला र बिकानेरबाट संचालन हुने उडानहरूमा असर परेको हो।

मंगलबार राती भारतीय सेनाले ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरका ९ आतंकवादी इलाकाहरूमा मिसाइल आक्रमण गरेको थियो। भारतले जैश-ए-मोहम्मदको बहरावलपुरस्थित आधारशिविर र लश्कर-ए-तोइबाको मुरिदकेस्थित पकड क्षेत्रमा आक्रमण गरेको हो।

१५ दिन अघि पहलगाममा भएको आतंककारी आक्रमणको जवाफस्वरूप गरिएको भारतको भनाइ छ। पहलगामको उक्त आक्रमणमा नेपालका सुदीप न्यौपानेसहित २६ सर्वसाधारणको मृत्यु भएको थियो। मृत्यु हुनेमध्ये धेरैजसो पर्यटक थिए।

भारतको मिसाइल आक्रमणपछि दिल्ली विमानस्थलले यात्रुहरूलाई सतर्कता अपनाउन सुझाव दिएको छ। विमानस्थलले ‘अपरेसन सिन्दूर’पछि आकाशमार्गमा आउने सम्भावित परिवर्तनहरूलाई ध्यानमा राख्दै तयारी गर्न यात्रुहरूलाई आग्रह गरेको हो।

इन्डिगो एयरलाइन्सले ट्राभल एडभाइजरी जारी गर्दै क्षेत्रीय हवाईमार्गमा भइरहेका परिवर्तनका कारण श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ र धरमशालाका उडानहरू प्रभावित भएको जानकारी दिएको छ।

‘यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो उडानको स्थिति वेबसाइटमा हेर्न सुझाव दिन्छौं,’ इन्डिगोले भनेको छ।

एयर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटमा हुने सबै उडान अवतरणहरू ७ मे दिउँसो १२ बजे सम्मका लागि रद्द गरेको जनाएको छ। यसका साथै अमृतसरतर्फ गइरहेका दुई अन्तर्राष्ट्रिय उडानहरूलाई दिल्लीतर्फ डाइभर्ट गरिएका छन्।

एयर इन्डिया एक्सप्रेसले अमृतसर, जम्मू, श्रीनगर र हिन्डोनतर्फका केही उडानहरू स्थगित हुने जानकारी दिएको छ। कम्पनीका अनुसार केही उडानहरू रद्द गरिएका छन् भने केही ढिलाइ हुने सम्भावना छ।

भारत र पाकिस्तान सीमा जोडिएका क्षेत्रका विमानस्थल प्रभावित हुँदा पाकिस्तान एयरस्पेस पनि बन्द भएको स्थानीय संचारमाध्यमले जनाएका छन्। अधिकांश विदेशी विमान सेवा कम्पनीले पाकिस्तानको आकाशबाट विमान उडाउन छाडेका छन्।

नेपालमा हुन्छ असर ?

नेपालबाट एयर इन्डिया र इन्डिगो एयरलाइन्सले दैनिक उडान गर्दै आइरहेका छन्। नेपाल पूर्वीय क्षेत्रमा पर्ने भएकाले भारततर्फ उडान भने प्रभावित नभएको एयरलाइन्स कम्पनीहरूले जनाएका छन्।

नेपाल-पाकिस्तान उडान संचालनमा छैन। कामविशेषले नेपालबाट दिल्ली, कोलकाता वा मुम्बई पुगेर धरमशाला, लेह, जम्मू, श्रीनगर र अमृतसरतर्फ जाने हवाई सेवाका यात्रु भने प्रभावित भएका छन्।

पाकिस्तानले गर्ने जवाफी कारबाही र भारतले लिने थप कदमले नेपालसम्म असर पर्ने नपर्ने आउने केही दिनमा निर्क्यौल गर्ने जानकारहरु बताउँछन्।

भारतको स्पाइसजेटले पनि धरमशाला, लेह, जम्मू, श्रीनगर र अमृतसरका उडानहरू अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ। आगमन, प्रस्थान र ट्रान्जिट उडानहरूमा असर पर्ने भएकाले यात्रुहरूलाई यात्राअघि आफ्नो उडानको स्थिति जाँच गर्न एयरलाइन्स सुझाव दिएको छ।

अकासा एयरले पनि हालको परिस्थितिका कारण श्रीनगर विमानस्थल नागरिक उडानका लागि बन्द गरिएको बताएको छ। कम्पनीले श्रीनगरसँग सम्बन्धित सबै उडानहरू रद्द गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय उडानहरू पनि प्रभावित भएका छन्। कतार एयरवेजले पाकिस्तानको हवाईमार्ग बन्द भएकाले पाकिस्तानतर्फका सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ। एयरलाइन्सले यात्रु र क्र्यूको सुरक्षालाई प्राथमिकता दिँदै परिस्थिति नजिकबाट निगरानी गरिरहेको जनाएको छ।

कतार एयरवेजले यात्रुहरूलाई वेबसाइट वा कम्पनीको नम्बरमा सम्पर्क गरी आफ्नो उडानको स्थिति जाँच गर्न सल्लाह दिइएको छ।