घर बनाउन चाहनेलाई बैंकको आकर्षक अफर, ६ प्रतिशत स्थिर ब्याजदरमै कर्जा

आकाश बोगटी
२०८२ बैशाख १८ गते १७:१३ | May 1, 2025
घर बनाउन चाहनेलाई बैंकको आकर्षक अफर, ६ प्रतिशत स्थिर ब्याजदरमै कर्जा


काठमाडौं। घर बनाउन चाहनेहरुका लागि बैंकहरुले आकर्षक अफर ल्याएका छन्। ब्याजदर निरन्तर घटिरहेका बेला बैंकहरुले ६ प्रतिशतसम्मको स्थिर ब्याजदरमा घर कर्जा दिने स्किम ल्याएका छन्।

Tata
GBIME
NLIC

ऋणको माग अपेक्षाकृतरुपमा बढ्न नसकेका बेला ब्याजदर घटाएर स्थिर ब्याजदरको घर कर्जाको स्किम ल्याएको बैंकरहरुले बताएका छन्।

नेपाल बैंकले सबैभन्दा न्यून स्थिर ब्याजदरमा घर कर्जा स्किम ल्याएको छ। बैंकले ६.३१ प्रतिशत स्थिर ब्याजदरमा २५ वर्ष अवधिकोसम्मको स्किम ल्याएको हो।

ग्लोबल आइएमई, एनएमबि, नबिल, एभरेष्ट, सिटिजन्स, एनआइसी एसिया, कुमारी, हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले समेत १० प्रतिशत तलको स्थिर ब्याजदरमा घर कर्जा प्रवाह गरिरहेका छन्।

ग्लोबल आइएमई बैंकले ६.८८ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जाको स्किम सार्वजनिक गरेको छ। यो स्किम बैंकले वैशाख मसान्तसम्मका लागि ल्याएको हो।

नबिल बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्ष अवधिको कर्जा दिइरहेको छ। अधिकांश बैंकले एकल अंकको स्थिर ब्याजदरमा घर कर्जा दिइरहेका छन्।

चालु आर्थिक वर्ष ८ महिनामा वाणिज्य बैंकहरुले ६ अर्ब ४४ करोड रुपैयाँ घर कर्जा प्रवाह गरेका छन्।

नेपाल एसबिआई बैंकको घर कर्जाको स्थिर ब्याजदर सबैभन्दा धेरै छ। यो बैंकले १२ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा प्रवाह गरिरहेको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममा छ। ब्याजदर निरन्तर घट्दा पनि अपेक्षाअनुसार कर्जाको माग बढ्न सकेको छैन।

कुन बैंकले कति ब्याजदरमा दिंदैछन् घर कर्जा ?

वाणिज्य बैंककर्जा अवधि स्थिर ब्याजदर
नेपाल २५ वर्ष अवधिसम्म६.३१%
ग्लोबल आइएमई६.८८%
एनएमबि६.९९%
नबिल७.९९%
सिटिजन्स७.९९%
कुमारी७ वर्ष८.५९%
एभरेष्ट७ वर्ष९.००%
हिमालयन७ वर्ष९.५० %
एनआइसी एसिया९.५०%
नेपाल इन्भेष्टमेन्ट मेगा७ वर्ष१०.९९%
राष्ट्रिय वाणिज्य५ देखि १५ वर्ष९.७५ देखि १०.२५ प्रतिशतसम्म
प्रभु५ वर्ष, ५ वर्ष बढी९.९९ देखि ११.९९ प्रतिशतसम्म
सानिमा१० देखि ११.५० प्रतिशतसम्म
कृषि विकास ५ वर्ष देखि १५ वर्ष१०.१५ देखि ११.६५ प्रतिशतसम्म
प्राइम१० देखि १२ प्रतिशतसम्म
स्टान्डर्ड चार्टर्ड५ देखि १० वर्ष९.७५ देखि १०.७५ प्रतिशतसम्म
नेपाल एसबिआइ३ देखि १० वर्ष१०.५० देखि १२ प्रतिशतसम्म
सिद्धार्थ५ देखि १० वर्ष८.९९ देखि १० प्रतिशतसम्म
माछापुच्छ्रे५ वर्षदेखि १० वर्षसम्म९.५० देखि ११.५० प्रतिशतसम्म
लक्ष्मी सनराइज५ देखि १५ वर्ष८.४९ देखि ११.९९ प्रतिशतसम्म
स्रोत : वाणिज्य बैंकहरु

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेय अन्य कर्जाको तुलनामा होम लोन बढी सुरक्षित हुने भएकाले न्यून स्थिर दरमा स्किम ल्याएको बताउँछन्।

‘रियल सेक्टरको लोनको तुलनामा होम लोनको पोर्टफोलियो धेरै नै कम छ,’ उनले भने, ‘होम लोन राष्ट्र बैंकको प्राथमिकतामा पनि पर्छ। ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा रियल इस्टेटमा डिमान्ड बढाउन बजारमा प्रचलनमा रहेकोभन्दा कम स्थिर ब्याजदरमा होम लोनको स्किम ल्याएका हौं।’

उनका अनुसार न्यून ब्याजदरको स्किमले होम लोनको पोर्टफोलियो बढाउन बैंक सफल भइरहेको छ। नेपाल बैंकले असारयता घर कर्जा साढे ११ प्रतिशतले बढाएको छ।

स्थिर ब्याजदरको आकर्षक अफरका कारण ग्लोबल आइएमई बैंकले घर कर्जा १६.६७ प्रतिशतले विस्तार गरेको छ।

तर, स्थिर ब्याजदरका बाबजुद आधा बैंकले घर कर्जा अपेक्षा अनुसार बढाउन सकिरहेका छैनन्। ९ वटा बैंकको घर कर्जा घटेको छ। कतिपय बैंकले ब्याजदर सस्तो भएपनि पुँजीकोषमा दबाबका कारण घर कर्जा बढाउन नसकेका हुन्।

प्रभु बैंकका डेपुटी सीइओ मणिराम पोखरेलले स्थिर ब्याजदरको ऋण अपेक्षा अनुसार माग नभएको बताए।

‘पछिल्लो समय कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममा छ। त्यस कारण पनि स्थिर ब्याजदरमा त्यति आकर्षण देखिएको छैन,’ उनले भने, ‘ऋणीले पछिका लागि भन्दा पनि अहिलेकै लागि सोच्ने रहेछन्। हामीले स्थिर ब्याजदर तोकेका छौं। तर, कर्जा अपेक्षाजनक रुपमा गएको छैन।’

प्रभु बैंकको घर कर्जाको स्थिर ब्याजदर अवधि अनुसार ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म छ।

चालु वर्ष घर कर्जा कुन बैंकले कति प्रवाह गरे ?

वाणिज्य बैंक२०८१ असारसम्मको
घर कर्जा (रु. दश लाखमा)
२०८१ फागुनसम्मको
घर कर्जा (रु. दश लाखमा)
फरक
(प्रतिशतमा)
नेपाल९,५८२.६११०,६८४.०३११.४९
ग्लोबल आइएमई३३,००३.६६३८,५०५.८३१६.६७
एनएमबि१५,२७३.५०१७,००४.९१११.३४
नबिल२५,८६१.७९२७,३६४.८७५.८१
सिटिजन्स९,८५१.६६१०,५७३.७१७.३३
कुमारी१२,५६६.५७१२,५५५.८०-०.०९
एभरेष्ट२२,९१८.२८२२,७७३.२०-०.६३
हिमालयन५,२५२.००४,९७८.३५-५.२१
एनआइसी एसिया५९,४६९.२२५०,६६५.९०-१४.८
नेपाल इन्भेष्टमेन्ट मेगा७,९५७.७४७,३९४.३५-७.०८
राष्ट्रिय वाणिज्य२४,९२४.९२२७,७९६.५९११.५२
प्रभु१३,६६५.६११३,४३८.०६-१.६७
सानिमा८,३९५.४२९,८२०.२०१६.९७
कृषि विकास११,१९४.८४१०,९२९.६४-२.३७
प्राइम८,१०७.३३८,५०७.४८४.९४
स्टान्डर्ड चार्टर्ड८,६३१.७१८,६१६.९०-०.१७
नेपाल एसबिआइ२,२८५.६५२,३७०.०६३.६९
सिद्धार्थ११,८९३.२९१३,७२३.१३१५.३९
माछापुच्छ्रे६,३७३.३५६,५२४.७२२.३८
लक्ष्मी सनराइज१८,८७९.८६१८,२९४.४६-३.१
जम्मा३१६,०८९.०१३२२,५२२.१९२.०४
स्रोत : नेपाल राष्ट्र बैंक