कायी ब्रान्डका गाडीको प्लान्ट भिजिट, जसले चेरीको साथमा लङटर्म भिजन बोकेर गर्दैछ काम

शुक्र गिरी
२०८२ बैशाख २० गते ०६:०७ | May 3, 2025
कायी ब्रान्डका गाडीको प्लान्ट भिजिट, जसले चेरीको साथमा लङटर्म भिजन बोकेर गर्दैछ काम


काठमाडौं। सेतो फ्रेमसहितको सिसाको ढोकाबाट भित्र छिर्नसाथ आँखा सामुन्ने पर्छ – फलामका पाताले आकार पाइरहेको दृश्य। वेल्डिङका झिल्कासँगै ठम्याउन सकिन्छ गाडीको ढोका बनिरहेका छन्। यहाँ भित्र रहेका श्रमिकहरू पनि हतारमा देखिए। ट्रलीमा सामान ओसारपसार  गरिरहेका छन् उनीहरु।

Tata
GBIME
NLIC

केही पर, ठूला मेसिन स्वचालित छन्। तिनले गाडीका च्यासिसलाई आकार दिइरहेका छन्। अर्को भागतिर देखिन्छ – रोबट र मानिस एउटै मिसनमा सहकार्य गरिरहेको। त्यहाँ मानिसले गरेको कामलाई रोबोटले पूर्णता दिइरहेको देखिन्थ्यो। माथितिर स्वचालित मेसिनमा झुन्डिएका रंगीन तारहरू एसेम्बल भइरहेका थिए – गाडीको इलेक्ट्रोनिक प्रणालीलाई जीवन्त बनाउन।

एउटा कुनामा स-साना पार्टपुर्जा बनिरहेका छन्। अर्को कुनामा रोबटका हात चलिरहेको छ पार्ट्सहरू जोड्न। मेसिनको चर्को आवाजसँगै पेन्टिङको गन्ध जो कसैले महसुस गरिहाल्छ। अर्को ठाउँमा तयार भएका गाडी गुणस्तर परीक्षणमा पङ्तिबद्ध गराइएको छ।

मानिस र रोबट एकसाथ तीव्र गतिमा काम गरिरहेको दृश्य हो – चीनको सिचुवान प्रान्तमा रहेको कायी गाडी उत्पादन गर्ने कारखानाको। यहाँभित्र कोही फुर्सदमा छैनन्, न मानिस न त मेसिन। औद्योगिक विकासमा चीन कसरी नेतृत्वदायी बनिरहेको छ भन्ने बुझ्न काफी छ यहाँ भित्रका गतिविधि अवलोकन।

फ्याक्ट्रीमा श्रम र प्रविधिसँग देख्न पाइन्छ – कल्पनशीलता र कलात्मक सिर्जना। एक हिसाबले प्रविधि, मानिस, सिर्जना र कलात्मकताको फ्युजन। डिजाइनरहरु नयाँ मोडलका लागि दत्तचित्त देखिन्छन् सादा कागजमा रेखाहरू कोर्दै। त्यसको छेवैमा छ प्रयोगशालामा जहाँ तयार भएका डिजाइनलाई प्रोटोटाइपमा आकार दिइन्छ।

यसको प्रयोगशालामा इन्जिनियर र डिजाइनर नवीनतम प्रविधिबाट आफ्नो कामको परीक्षण गरिरहेका छन्। कम्प्युटरका स्क्रिनमा गाडीका थ्रीडी मोडल चलिरहेको छ। त्यही सानोभन्दा सानो विषयलाई उनीहरुले परीक्षण गरिरहेका छन्। यो फ्याक्ट्रीको भित्तामा एउटा ठूलो बोर्ड टाँगिएको छ, जसमा कम्पनीको योजना र लक्ष्य निर्धारित छ।

गाडी कसरी उत्पादन हुन्छ भन्ने लाइभ म्युजियम झै लाग्छ यहाँका दृश्यहरु। यहाँ कायी र चेरी ब्रान्डका गाडी उत्पादन हुन्छन्। यस प्लान्टमा एक वर्षमा १ लाख ५० हजार युनिट गाडी उत्पादन हुने रहेछ।

यस प्लान्टमा इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङको लागि उद्योग ४.० मापदण्ड अनुसार डिजाइन गरिएको छ। यो भनेको चौथो जेनेरेसनको प्रविधि जसलाई कम्पनीले स्मार्ट फ्याक्ट्री भन्दै आएको रहेछ। सन् २०१४ मा स्थापना भएर २०१९ देखि पूर्ण रुपमा संचालित छ यो प्लान्ट।

प्लान्टमा सयभन्दा धेरै रोबोट छन्। प्लान्ट चार भागमा विभाजित छ – कभर स्ट्याम्पिङ, वेल्डिङ, पेन्टिङ र अन्तिम एसेम्बली। यी सबै ठाउँ रोबोटिक नियन्त्रणमा चलिरहने रहेछन्। 

यति धेरै रोबोट एकै ठाउँमा काम गरिरहेको पहिलो पटक देखेकाले अनौठो लाग्नु स्वाभाविक थियो। रोबटबीचको समन्वय हेर्न लायक थियो। विभिन्न पार्टस् जोडिँदै अन्तिम प्रडक्ट तयारीका चरणमा पटकपटक गरिने गुणस्तर परीक्षणले चिनियाँ ब्रान्डलाई विश्वसनीय बनाउने कुनै कसर छाडिएको छैन भन्ने बुझ्न कठिन थिएन।

भविष्यको त्यो लक्ष्य

डिजाइन सेन्टरमा पुग्दा पूरै शान्त र रचनात्मक वातावरण। डिजाइनरहरु कम्प्युटर र पोस्टरमा नयाँ गाडीका मोडेलहरु बनाउनमा व्यस्त। उनीहरुले गाडीको सुरुवाती डिजाइन कसरी गरिन्छ, कुन कुन कुरामा ध्यान दिइन्छ भन्ने देखाए। 

आगामी दिनमा आउने मोडेल र थ्रीडी प्रिन्टेड प्रोटोटाइपमा उनीहरुले गरेको मेहनत तारिफयोग्य थियो। एउटा गाडी तयार हुनुअघि गरिने मेहनत आकलन गरेभन्दा धेरै बढी हुने रहेछ। त्यहाँ प्रस्तुत गरिएका कन्सेप्टले अबको केही वर्षमा गाडीको स्वरूपमा धेरै परिवर्तन आउने बुझ्न समय लागेन। किनकि यहाँका डिजाइनर नवीनता र भविष्यप्रति लक्षित देखिन्थे।

उनीहरूले एउटा कम्पनीको गाडीमात्र नभई समग्र यातायातको प्रणालीमाथि नै काम गरिरहेको पाइयो। त्यसैले उत्पादनको लाइनअपमा रहेका गाडीमा पनि उनीहरुको त्यो प्रणालीमैत्री बनाउन खोजिरहेका छन्।

हामी प्लान्टमा पुग्दा कायीले २०२६ को अन्यसम्म लगभग ३ वटा नयाँ मोडल ल्याउने लक्ष्यसहित काम गरिरहेको थियो। उनीहरुले तयार पारेको सेडान कारको प्रोटोटाइप आकर्षक र फ्युचरिस्टिक देखिन्थे।

यहाँ काम गरिरहेका डिजाइनर आफ्नो कामप्रति निकै उत्साहित देखिए। नयाँ प्रविधि र प्रयोग गर्न सधैं उत्सुक रहेको उनीहरुले सुनाए। गाडीको डिजाइन प्रक्रिया, सुरक्षाका मापदण्ड र वातावरणीय प्रभावका बारेमा उनीहरुको प्रस्तुति हाम्रा लागि नयाँ थियो।

स्थानीय सरकारको साथ

चेरी ग्रुपको प्रविधिमार्फत कायीले बलियो जगलाई खडा गरेको छ। यस ग्रुपलाई स्थानीय सरकारको रणनीतिक संलग्नता पनि छ।

यिबिनको स्थानीय सरकारको बलियो लगानी र समर्थनले क्षेत्रीय आर्थिक विकास र औद्योगिक वातावरण बनाएको छ। जसले कायीको दीर्घकालीन अस्तित्व र भविष्य विश्वसनीय बनेको छ। त्यसलाई अझै बलियो बनाउने चाहिँ चेरी र स्थानीय सरकारबीचको सम्बन्धले निर्धारण गर्ने देखिन्छ।

यस प्लान्टमा प्राय चेरी र कायी ब्रान्डका गाडी बनिरहेका छन्। यसले दुई ब्रान्ड र प्लान्टबीचको सहकार्यलाई स्पष्ट पार्छ। प्लान्टमा चेरी ग्रुपले पनि लगानी गरेको छ। नेपाली सडकमा देखिने ओमोडा, जेको, कायी, आइकार, जेटेयोर जस्ता ब्रान्ड चेरी अन्तर्गत बनिरहेका छन्। यहाँ बनिरहेका कतिपय ब्रान्ड एकाध वर्षमा नेपालमा भित्रिने तयारीमा पनि छन्।

चिनियाँ ब्राण्डहरुले घरेलु प्रतिष्पर्धाबाट अघि बढेर अटोमोबाइलको विश्व बजारलाई धक्का दिइरहेका छन्। कायीका उत्पादन पनि ग्लोबल मार्केटमा प्रभाव बढाइरहेको छ। यसको बिक्री नेपाली बजारमा पनि बढेको छ।

नेपालमा यो कम्पनीका उत्पादन लक्ष्मी इ-मोबिलिटी र जिओ अटोमोबाइल्सले बजारीकरण गरिरहेका छन्।