एक महिनामै ऊर्जामन्त्री र सचिवसँग हितेन्द्रदेव आजित, आफैंले पारित गरेको श्वेतपत्र सार्वजनिक गर्न रोक

बिजमाण्डू
२०८२ बैशाख १६ गते १२:१० | Apr 29, 2025
एक महिनामै ऊर्जामन्त्री र सचिवसँग हितेन्द्रदेव आजित, आफैंले पारित गरेको श्वेतपत्र सार्वजनिक गर्न रोक


काठमाडौं। नेपाल विद्युत प्राधिकरणको संचालक समितिको सोमबार बसेको बैठकले झण्डै एक महिना लगाएर तयार पारेको श्वेतपत्र पारित गर्‍यो।

Tata
GBIME
NLIC

प्राधिकरणको कानुनदेखि लेखासम्मका १५ जनाको जम्बो टोलीले तयार पारेको श्वेतपत्र संचालक समिति बैठकबाट सामान्य केही संशोधनसहित पारित भएपछि मंगलबार सार्वजनिक गर्ने टुंगो पनि लाग्यो। स्रोतका अनुसार संशोधनका बुँदालाई साँझसम्म सच्याएर श्वेतपत्रलाई अन्तिम रुप दिइयो।

ऊर्जामन्त्री दीपक खड्का र ऊर्जा सचिव सुरेश आचार्यको ग्रीन सिग्नलपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरेर श्वेतपत्र जारी गर्ने जानकारी संचारमाध्यममा पठाउन लगाए। तर, बिहान एकाएक मन्त्री खड्का र सचिव आचार्यको निर्देशन आयो-तत्काल श्वेतपत्र जारी नगर्नू। त्यसमा अझै केही थपघट गर्न बाँकी छ।’

निर्देशनलगत्तै शाक्यले श्वेतपत्र सार्वजनिक नहुने जानकारी संचारमाध्यममा पठाउन लगाए। शाक्यको सचिवालयबाट मोबाइलमा म्यासेज पठाइयो- आज हुने भनिएको पत्रकार सम्मेलन अर्को नोटिस नभएसम्मका लागि स्थगित गरिएको जानकारी एमडी सरले गराउनुभएको छ।’

स्रोतका अनुसार आफैंले पारित गरिसकेको श्वेतपत्रमा मन्त्रालयका तर्फबाट थपघट गर्ने भन्दै रोकेकामा शाक्य बेखुशी छन्। ‘सबै हेरेर बोर्डबाट पारित भइसकेकामा फेरि थप्ने भन्ने विषय नै इथिकल होइन,’ स्रोतले भन्यो, ‘शाक्य खराब होइनन्। तर, बोल्ड नभएका कारण मन्त्री र सचिवले एकपछि अर्को विवादमा पार्न खोजेका छन्।’

स्रोतका अनुसार श्वेतपत्रमा पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘भिलेन’ बनाउने तथ्यांक आउन सकेन। त्यसैले मन्त्री र सचिवले श्वेतपत्र तत्काललाई सार्वजनिक गर्नबाट रोकेको स्रोतले बतायो।

‘मन्त्रीज्यूले कुलमानको कार्यकालमा भएको नाफालाई कागजी भनेर गलत कुरा गर्दै आउनुभएको छ। उहाँको भनाइ अनुसारकै श्वेतपत्र सार्वजनिक गरिनुपर्ने भन्दै तत्कालका लागि रोकिएको हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘होइन भने संचालक समितिमा ४ घण्टा छलफल भएर पारित भएको श्वेतपत्र किन एकाएक रोक्ने काम भयो?’

लेखापरीक्षण भइसकेको वित्तीय विवरणलाई समेत खोतलेर कुलमानलाई भिलेन देखाउन खोजिएको थियो। त्यसका लागि प्राधिकरणले महालेखा परीक्षकको कार्यालयमा सहमतिका लागि पठाएको थियो।

तर, महालेखा परीक्षकको कार्यालयले आफूले अडिट गरिसकेको विषयमा सुपर अडिटर बन्न खोजेको भन्दै गम्भीर आपत्ति जनाएको स्रोतले बतायो।

महालेखा परीक्षकको कार्यालयको गम्भीर असहमतिपछि प्राधिकरणले श्वेतपत्रमा वित्तीय विवरणका बारेमा थप बाहिर ल्याउन नचाहेको हो।

स्रोतका अनुसार शाक्य पनि संवैधानिक निकायले गरेको अडिटमा गएर द्वन्द्व निम्त्याउन खोज्नु घातक हुनेमा स्पस्ट छन्। तर, ऊर्जामन्त्री खड्का शाक्यमाथि बन्दुक राखेर कुलमानलाई निशाना साँध्ने योजनामा छन्।

एक महिनामै शाक्य आजित

शाक्य प्राधिकरणमा कार्यकारी निर्देशक भएर आएको एक महिना पुगेको छ। एक महिनाको अवधिमा ऊर्जामन्त्री खड्का र सचिव आचार्यको एकपछि अर्को निर्देशनले शाक्य आजित भएका छन्।

स्रोतका अनुसार प्राधिकरणका हरेक काममा मन्त्री र सचिवले हस्तक्षेप गर्न थालेका छन्। ‘हरेक काममा हस्तक्षेप गरेका कारण शाक्य आजित भएका छन्,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘आन्तरिक उत्पादन कम भएर बिजुली व्यवस्थापनमा हम्मेहम्मे परेको छ। यस्तो कठिन अवस्थामा मन्त्रीले दैनिकजस्तो मन्त्रालयमा बोलाएर उनलाई इंगेज गराइरहेका छन्।’

ती कर्मचारीका अनुसार अघिल्ला कार्यकारी निर्देशक घिसिङले मन्त्रीका आदेश पालना गरेनन्। त्यही कारण खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको सहमति लिएर कुलमानलाई बर्खास्त गरेका थिए।

‘मन्त्रीले आफ्नो स्वार्थ अनुसार काम नगरेपछि कुलमानलाई हटाउन सबै शक्ति लगाए। अहिले शाक्यलाई आफ्नो अनुकूल प्रयोग गर्न खोजेका छन्,’ ती कर्मचारीले भने, ‘शाक्य स्वभावजन्य रुपमा कमजोर भएपनि इन्ट्रिग्रिटी भएका व्यक्ति हुन्। त्यही भएर मन्त्री खड्काको स्वार्थप्रेरित काम गर्न असहज मानिरहेका छन्।’

स्रोतका अनुसार मन्त्रीको अस्वाभाविक हस्तक्षेपका बारेमा शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउँदै आएका छन्। शाक्यलाई मन्त्री खड्काको रोजाइमा कार्यकारी निर्देशक बनाइएको होइन। खड्काले कुलमानको ठाउँमा पूर्वसचिव अर्जुन कार्कीलाई कार्यकारी निर्देशक बनाउन जोडबल गरेकामा उनलाई चकित तुल्याउँदै ओलीले गत चैत ११ गते शाक्यलाई नियुक्ति दिएका थिए।