मेघौलीको लक्जरियस रिसोर्टमा सिद्धार्थको इन्ट्री, साराङ अब सिद्धार्थ वाइल्डलाइफ रिट्रीट

वसन्तराज उप्रेती
२०८२ बैशाख २० गते १०:२१ | May 3, 2025
मेघौलीको लक्जरियस रिसोर्टमा सिद्धार्थको इन्ट्री, साराङ अब सिद्धार्थ वाइल्डलाइफ रिट्रीट


चितवन। व्यावसायिक चेन विस्तार गर्दै सिद्धार्थ समूह वाइल्ड लाइफ जंगल रिट्रिटमा प्रवेश गरेको छ। समूहले मेघौलीस्थित साराङ वाइल्डलाइफ सेञ्चुरीको भिल्ला संरचनासहित १२ बिघा जग्गा लिजमा लिएर आफ्नै व्यवस्थापनमा सेवा सञ्चालनमा ल्याउन लागेको हो। समूहका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले यसको पुष्टि गरे।

Tata
GBIME
NLIC

पर्यटन व्यवसायमा अघि बढ्ने व्यवस्थापनको योजनाअनुसार समूह अघि बढेको हो। ‘समग्र पर्यटन र आतिथ्यता क्षेत्र विस्तार गर्दै जाने उद्देश्य लिएर अगाडि बढिरहेका छौं। अब लक्जरी टुरिजममा जानेछौं,’ उनले भने, ‘भैरहवामा सिद्धार्थ भिलासा र सौराहामा सिद्धार्थ भिलासा वनवास सञ्चालनमा आइसकेको छ। मेघौलीमा थप एउटा लक्जरियस सेवा सुरु गर्न लागेका हौं।’

समूहले रिट्रिट सिद्धार्थ होटल एण्ड रिसोर्ट प्रालिमार्फत लिजमा लिएर सञ्चालन गर्न लागेको जनाएको छ। साराङ वाइल्डलाइफ सेञ्चुरीका सञ्चालक सुबोध प्रधानसँग यो प्रोपर्टी लिजमा लिइएको हो।

उक्त रिसोर्टलाई मेघौलीकै उत्कृष्ट लक्जरी सहितको सेवा दिनेगरि सञ्चालनमा ल्याउने व्यावसायिक योजना रहेको न्यौपानेले जानकारी दिए। नयाँ व्यवस्थापनसँगै रिट्रिटमा अब सेवा पनि पर्यटक रिझाउने प्रकारको हुनेछ।

वाकिङ ट्रेल, साइकल ट्रेल विस्तारसँगै विभिन्न प्रजातिका चरा र जनावरलाई आकर्षण गर्न पानीपोखरी बनाउने र फलफूल खेती गर्ने पनि योजना रहेको उनले बताए।

वाइल्डलाइफ मन पराउने पर्यटकलक्षित यो रिट्रिटको वातावरण थप प्राकृतिक बनाउँदै जाने उनले जानकारी दिए। उनका अनुसार रिट्रिटमा स्थानीय खाद्य सामाग्रीकै प्रयोग गर्ने र स्थानीयलाई नै रोजगारी दिने योजना छ।

‘यहाँ पर्यटकलाई ल्याएर जंगल घुमाउने मात्र होइन हात्तीसँगको बसाइ, ढुंगे थेरापी, वेलनेस, ध्यान, चराचुरुंगीसँगको अन्तरंग, साहित्य सिर्जना लगायत अनुभूति दिनु नै हाम्रो उद्देश्य हो। यो मेघौलीकै लक्जरी रिट्रिट सेन्टर हुनेछ,’ उनले भने।

इलाममा छिट्टै अर्को लक्जरियस प्रोपर्टी तयार गरि चिया पर्यटन प्रवर्धनलक्षित आतिथ्यता दिने योजना रहेको उनले बताए।

२४ वटा भिल्ला क्षमताको मेघौलीको रिट्रिटमा पाहुनाका लागि स्विमिङ पुल, दुई वटा हल, लबी बार, पुल साइड बार लगायत सुविधा छ। ‘हामी प्राकृतिक जंगलछेउमै खोलिएका रिसोर्टमा आकर्षण छ। राप्ती किनारमै मेघौली सेराइ, बाराही जंगल लज लगायत रिसोर्ट छन्,’ उनले भने, ‘हामी प्राकृतिक जंगल छेउमै भएका कारण पाहुनाले थप विशेष अनुभूति गर्न सक्नुहुने आशा गर्छौं।’

रिट्रिटमा पुगेका पर्यटकले पिकअपमार्फत जंगल सफारी, हात्ती सफारी, बर्ड वाचिङ लगायत सेवा लिन सक्छन्।

सिद्धार्थ हस्पिटालिटी २०५४ सालबाट कैलाली बाट सुरु भएको हो। २०४५ सालबाट पारिवारिक आतिथ्यता सेवा दिँदै विस्तार भएको कम्पनी हो। भीमलाल न्यौपानेको नेतृत्वमा स्थापना भएको सिद्धार्थ समूहका अध्यक्ष लक्ष्मण न्यौपाने हुन्।

समूहले सिद्धार्थ भिलासा, वैभव, वाटिका, कटेज, रेस्टुरेन्टलगायत सिद्धार्थ ब्रान्डमा ३० वटा आउटलेट सञ्चालन गर्दै आएको छ।समूहले सूचना प्रविधि, कृषि, शिक्षा, खाद्यान्न, ट्राभल एजेन्सी लगायत सेवा पनि दिँदै आएको छ।