एक साताको सिआइबीको अपरेसन, १७ अर्बको अवैध कारोबारमा बाबु-छोरादेखि श्रीमान् श्रीमती फन्दामा

बिजमाण्डू
२०८२ बैशाख १५ गते २१:४९ | Apr 28, 2025
एक साताको सिआइबीको अपरेसन, १७ अर्बको अवैध कारोबारमा बाबु-छोरादेखि श्रीमान् श्रीमती फन्दामा

काठमाडौँ। एक वर्षअघिको हुन्डी र अवैध सुनको भुक्तानीमा सजिलो पे र पेवेल वालेट जोडिएको प्रकरण अनुसन्धानका क्रममा प्रहरीले थप २१ जनालाई पक्राउ गरेको छ।

Tata
GBIME

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले वैशाख ७ गतेदेखि १३ गतेसम्म ११ जिल्लामा अपरेसन चलाएको थियो। जसमा ४ जना प्रहरी निरीक्षकसहित २५ जनाको टोली बनाइएको थियो। टोलीले मोरङ, सर्लाही, धनुषा, महोत्तरी, सप्तरी, धनुषालगायत जिल्लामा मनी ट्रान्सफर चलाएर अवैध रूपमा कारोबार गरेको आरोपमा २१ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार उनीहरू आबद्ध भएको मनी ट्रान्सफरमार्फत १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ अवैध कारोबार भएको छ। आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरेको पाइएको छ। उनीहरूले आन्तरिक विप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

एक अर्बभन्दा बढीको कारोबार गर्ने ४ वटा मनी ट्रान्सफर रहेका छन्। मोरङमा रहेको डिएस ट्रेडर्स नामको मनी ट्रान्सफरबाट सबैभन्दा धेरै कारोबार गरेको खुलेको हो। यसबाट दुई अर्ब ८२ करोड १९ लाख ३३ हजार १८ रुपैयाँ कारोबार भएको देखिएको छ। प्रहरीले सञ्चालक वीरेन्द्रप्रसाद साह र दीपेन्द्र साहलाई नियन्त्रणमा लिएको छ। वीरेन्द्र र दीपेन्द्र बाबु-छोरा हुन्।

महोत्तरीमा रहेको दिपज्योति ट्रेडर्समार्फत पनि  एक अर्ब ५१ करोड २० लाख ६० हजार ४२४ रुपैयाँको अवैध कारोबार भएको छ। प्रहरीले सञ्चालक श्रवणकुमार शाहलाई नियन्त्रणमा लिएको छ। सप्तरीमा रहेको रिया ट्रेसर्डबाट पनि सञ्चालक तारालाल यादवले एक अर्ब ३९ करोड ५५ लाख ३५ हजार ४२५ रुपैयाँको अवैध कारोबार गरेको देखिएको छ।

त्यस्तै प्रहरीले पक्राउ गर्ने सूचीमा आमा छोरा समेत रहेका छन्। अलिता मनी ट्रान्सफरका सञ्चालक अलितादेवी महतो र प्रकाश सिंह रहेका छन्। प्रकाशले आमा अलिताको नाममा मनी ट्रान्सफर खोलेका थिए।

‘आमा भूमिका खासै देखिएको छैन। सरकारी वकिलमार्फत हाजिर गराएर छोड्छौँ,’ एक अनुसन्धान अधिकृतले सुनाए।

उनीहरूको मनी ट्रान्सफरबाट ९६ करोड ७५ लाख ४६ हजार ६ सय रुपैयाँको कारोबार भएको देखिएको छ।

सप्तरीमा रहेको शिवम् ट्रेड्रसबाट पनि  ९९ करोड २८ लाख २६ हजार ७७० रुपैयाँ बराबरको अवैध कारोबार भएको देखिएको छ। जसमा रामविलास साह तेली र ममताकुमारी साह पक्राउ परेका छन्। उनीहरू श्रीमान् श्रीमती हुन्।

‘यो अघिल्लो अपरेसनको रिजल्ट हो। उनीले छाया अर्थतन्त्र चलाएको देखियो, ‘ब्युरोका एसपी सुधीरराज शाहले भने।